साप्ताहिक संवाददाता
नृत्यका अनेकन शैली छन् । तीमध्ये एउटा प्रचलित शैली हो– बेली डान्स । पाश्चात्य शैलीको यही डान्स गरेर चर्चामा आएकी मोडल तथा कलाकार हुन्– बिनु शाक्य । सिन्धुपाल्चोककी यी कलाकार यतिबेला विभिन्न म्युजिक भिडियो तथा स्टेज कार्यक्रमहरूमा बेली डान्स गरेर चर्चामा आइरहेकी छिन् ।
नृत्यलाई नै करियर बनाइसकेकी बिनु गायिका तथा बेली डान्स प्रशिक्षक कमला सापकोटाबाट प्रभावित छिन् । कमलाकै एउटा तीज गीतमा नृत्य गरेपछि उनको कलाकारिता फस्टाएको हो । बिनुले गायिका सरिता शाहीको मलाई फूल भन्नु पर्दैन गीतको भिडियोमा समेत बेली डान्स गरेकी छिन् ।
वीरेन्द्र हमाल तथा प्रभाकर शर्मासँग अभिनयको समेत प्रशिक्षण लिइसकेकी बिनुले केही नाटकमा पनि अभिनय गरेकी छिन् । नृत्यमा अब्बल बिनु आफूलाई सुहाउने भूमिकाबाट प्रस्ताव आए आफू अभिनयका लागि तयार हुने कुरा बताउँछिन् । त्यसो त बिनुले अभिनेता प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्ने आफ्नो चाहना पनि लुकाएकी छैनन् । हेरौं बिनुको यो रहर कहिले पूरा हुन्छ ?