साप्ताहिक संवाददाता
संखुवासभाकी धनकला गुरुङलाई फेसबुकबाट एक युवकको फ्रेन्ड रिक्वेस्ट आयो । ती युवक थिए— भक्तपुर च्याम्हासिंह घर बताउने तुलबहादुर तामाङ । धनकलाले केही नसोची उक्त रिक्वेस्ट एसेप्ट गरिन् । त्यसपछि धनकला आफ्ना मनका वह तुलबहादुरसँग व्यक्त गर्न थालिन्, तुलबहादुर पनि धनकलालाई निकै मन पराएको बताउन थाले ।
धनकला तुलबहादुरका मीठा सपनाहरूमा यति लोभिइन् कि उनले तामाङसँग विवाह नै गरिन् । धनकलासँगको विवाहपछि तुलबहादुर उनका परिवारका सदस्य तथा नातेदारहरूसँग नजिकिए । यही क्रममा तुलबहादुरले धनकलाका नातेदार राजेश गुरुङ र कैलाश गुरुङलाई अमेरिकन आर्मीमा जागिर लगाइदिने भन्दै आइएमईमार्फत प्रोसेसका लागि २१ लाख रुपैयाँ मागे । नातेदारले नै अमेरिकी आर्मीमा जागिर लगाइदिने आश्वासन दिएपछि राजेश र कैलाशले ढुक्क भएर मागे जति पैसा पठाए ।
तामाङले प्रोसेसका लागि उनीहरूलाई काठमाडौं बोलाए, तर काठमाडौं आउँदा तुलबहादुर श्रीमती धनकलालाई समेत थाहा नदिई बेपत्ता भैसकेका थिए । श्रीमान् अचानक बेपत्ता भएपछि धनकलाले केही दिन उनको खोजी गरिन्, तर तामाङ कतै फेला परेनन् । त्यसपछि धनकलाको मनमा चिसो पस्यो, आफूलाई ठगीको मोहरा बनाइएको थाहा पाएपछि धनकलासहित राजेश तथा कैलाशले प्रहरी गुहारे ।
उनीहरूको उजुरीका आधारमा प्रहरीले आफ्नो अनुसन्धान अघि बढायो । पछि पत्ता लाग्यो ३३ वर्षीय तुलबहादुर त पेसेवर ठग रहेछन् । खोज्दै जाँदा प्रहरीले उनलाई सिन्धुपाल्चोक मांखास्थित आफ्नो घरमा लुकेर बसेको अवस्थामा फेला पार्यो । महानगरीय अपराध अनुसन्धान महाशाखाले तामाङलाई २४ मंसिरमा मुलुकी ऐनको ठगी महलबमोजिम अनुसन्धान एवं कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाएको छ ।
ठगीका किस्सा
तुलबहादुरबाट ठगिने धनकला र उनका आफन्तहरू मात्र होइनन्, यसअघि पनि उनले फेसबुकबाट साथी बनाई विभिन्न युवतीबाट ठूलो रकम ठगी गरेको पाइएको छ । लेबनानमा रोजगारी गरिरहेकी सिन्धुपाल्चोककी तिर्सना दोङलाई पनि उनले फेसबुकबाटै निकट बनाएर ठगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले तिर्सनालाई फेसबुकमा जेभी नामबाट फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । उनले उक्त फ्रेन्ड रिक्वेस्ट एसेप्स गरिन् । त्यसपछि नियमितजसो फेसबुकमा जेभी नामधारी तुलबहादुर तिर्सनासँग कुराकानी गर्न थाले । उनले तिर्सनालाई डिपेडेन्ट भिसामा अमेरिका जाने लोभ देखाए । त्यसपछि तिर्सना नेपालमा आइन् ।
काठमाडौंमा उनले फेसबुकका आत्मीय साथी जेभी (तुलबहादुर) लाई भेटिन् । यही क्रममा उनले तिर्सना बाट डिपेन्डेन्ट भिसामा अमेरिका जान आवश्यक पर्ने ९ लाख रुपैयाँ लिए । जेभीसँगको लामो निकटता र उनको हाइफाइ जीवनशैलीबाट प्रभावित भएकी तिर्सना जेभीको ठूलै पहुँच भएको व्कुरामा विश्वस्त थिइन् त्यसैले उनले तामाङलाई निर्धक्क ९ लाख रुपैयाँ दिइन् ।
तुलबहादुरले तिर्सनाबाट पैसा लिए नै क्यानाडा जाने मान्छेसमेत खोज्न लगाए । क्यानाडा सहजै जान पाइने कुरा दिदीबाट थाहा पाएपछि उनका भाइ सञ्जय र मिम लामा त्यसका लागि तयार भए । उनीहरूबाट तुलबहादुरले थप १३ लाख रुपैयाँ लिए । तुलबहादुर तिर्सना र उनका भाइबाट समेत गरी २२ लाख रुपैयाँ ठगी गरेर फरार भए । ठगको मोहजालमा परेकी तिर्सनाको अमेरिका जाने सपना त तुहियो नै उनले लेबनानमा दु:खजिलो गरेर कमाएको पैसा समेत चट भयो । त्यतिमात्र होइन, उनका भाइ सञ्जय तथा गाउँले मिम लामाले समेत ठूलो रकम गुमाए ।
यस्तै, तुलबहादुरले साइप्रसमा वैदेशिक रोजगारीमा रहेकी सुमन लामालाई फेसबुकबाटै निकट बनेर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुमनलाई उनले आफ्नी आमा क्यानाडामा डाक्टर रहेको कुरा बताउँदै आफूसँगै क्यानाडा लाने सपना देखाएर ठगी गरेका थिए । क्यानाडा लाने आश्वासन पाएपछि नेपाल आएकी सुमनबाट ९ लाख रुपैयाँ ठगी गरेर तामाङ फरार भए । त्यसपछि प्रहरीमा उजुरी पर्यो । प्रहरीले ०७३ साउनमा तुलबहादुरलाई पक्राउ गरेर ठगी मुद्दा चलायो । केही समय थुनामा बसेका तामाङ पछि धरौटीमा छुटे । प्रहरीका अनुसार त्यसपछि उनी पुन: युवतीहरूलाई फसाउँदै आफ्नो धन्दामा सक्रिय भए ।
(पीडितका नाम परिवर्तन गरिएका छन्)