हङ्कङमा बसोबास गर्ने लिम्बु समुदायहरुले चासोक तङ्नाम २०१७ धुमधामका साथ मनाएका छन् । चासोकलाई बिषेश बनाउँनका लागि लिम्बु समुदाय र गैह्र लिम्बु समुदायका नेपालीहरु पनि लिम्बु संस्कृत झल्कने गहना, पोशाक, बाजागाजाका साथ हङ्कङस्थित मंकी हिल (युमा थेबा) पार्कमा सयौंको संख्यामा भेला भएका थिए ।
हङ्कङ आदिबासी जनजातीका अध्यक्ष किसन राई, लिम्बु चलचित्रका पहिलो नायक नरप्रसाद लिम्बु, चलचित्रकर्मी भिष्मा चेम्जोङ् लगायतको आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा न्वागी पूजा, एक राते तङ्सिङ्ग, येवा येमा नाच, हाक्पारे, पालाम, केलाङ्, माङ्लाङ्, यालाङ, लिम्बु जन्य भेषभुषा तथा गहना प्रर्दशन, नेपाल तथा हङ्कङका लिम्बु कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम, हङ्कङको लिम्बु समुदायमा योगदान पुर्याउाने ब्यक्तित्वहरु तथा उच्च शिक्षा हासिल गर्ने लिम्बु बिद्यार्थीहरुलाई सम्मान, जेष्ठ नागरिक सम्मान, लिम्बुजन्य खेलकुदहरु, लिम्बु लिपीमा नाम र हस्ताक्षर गर्नेलाई उपहार, लिम्बुजन्य परिकारहरु, भाग्य चिठ्ठा, लिम्बु साहित्य, लिम्बु भाषाको गीति क्यासेट विमोचन, लिम्बु चलचित्र प्रर्दशनी लगायतका खेल तथा कार्यक्रमहरु समेटिएको थियो ।
किरात याक्थुम चुम्लुङ् हङ्कङको आयोजनामा सम्पन्न कार्यक्रम ऐतिहासिक भएको चुम्लुङ्का सल्लाहकार कृष्ण लावती बताउाछन् । सम्पन्न कार्यक्रममा चुम्लुङ् हिम (साझा घर) का लागि एकलाख हङ्कङ डलर समेत संकलन भएको थियो ।
तस्बिर : एच डिडी स्टुडियो