साप्ताहिक संवाददाता
झन्डै ११ वर्षअघि नै काठमाडौंमा सम्पन्न लक्स सुपरमोडल हन्ट प्रतियोगितामा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै मोडलिङ यात्रा प्रारम्भ गर्ने मोडल हुन्– चाँदनी शर्मा । उक्त प्रतियोगिताको सहभागिताले आत्मविश्वास बढाएको बताउने चाँदनीले गायक सुनिल सिंह ठकुरीको एउटा म्युजिक भिडियोमार्फत अभिनय क्षेत्रमा पाइला अघि बढाइन् ।
दीवाकर भट्टराईको निर्देशनमा अभिनेता जीवन लुइँटेलको जोडीका रूपमा चलचित्र स्डुपिड मनमा अभिनय गरेकी चाँदनीले त्यसपछि कुनै पनि चलचित्रमा अभिनय गरिनन् । अहिले उनी गोपालचन्द्र लामिछानेद्वारा निर्देशित चलचित्र लम्फूमा सक्रिय छिन् ।
सिटी सेन्टरमा श्रीमान् अज्जु पोखरेलसँग मिलेर फुडकोर्ट सञ्चालन गरिरहेकी चाँदनी निकट भविष्यमै पुरानो वानेश्वरमा चाँदनी फेयर वेयर बुटिक सञ्चालनमा ल्याउँदैछिन् । छनोट गरेर मात्र चलचित्रमा अभिनय गर्ने चाँदनीले आफूलाई खुसी लाग्ने कुराहरू यसरी व्यक्त गरेकी छिन् ।
स–साना कुरा
म प्राय: खुसी हुने प्रयास गरिरहेकी हुन्छु । त्यसक्रममा मलाई सानाभन्दा साना कुराले पनि खुसी दिन्छन् ।
सहयोग गर्न पाउँदा
समस्यामा परेका मानिसहरूलाई सहयोग गर्न पाउँदा म असाध्यै खुसी हुन्छु । बीएसडब्ल्यूमा स्नातक गर्ने क्रममा मैले तेस्रो लिंगी तथा एचआईभी पीडितहरूलाई काउन्सिलिङ गर्ने मौका पाएको थिएँ । अफ्ठ्यारो अवस्थामा परेका व्यक्तिहरूलाई सम्झाउन पाउँदा समेत खुसी लाग्दो रहेछ ।
विवाहको दिन
अज्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएको दिन मेरो जीवनकै सर्वाधिक खुसीको दिन थियो । उक्त दिनदेखि मेरो जीवन यात्राले नयाँ मार्ग समातेको थियो ।
भेटघाट
परिवारका सदस्यहरूसँगको लामो अथवा छोटो अवधिको भेटघाटले पनि मलाई खुसी दिन्छ । लामो समयपछि भेट्न पाइयो भने त त्यो भन्दा ठूलो खुसी अरू केही हुँदैन ।
सुमधुर सम्बन्ध
साथीभाइ, आफन्तदेखि आफू कार्यरत क्षेत्रका हरेक व्यक्तिसँग सुमधुर सम्बन्ध कायम राख्ने सक्ने कुराले पनि मलाई खुसी दिन्छ ।
उपहार
नजिकको मान्छेबाट कहिलेकाहिं सरप्राइज उपहार पाइयो भने पनि म खुसी हुन्छु ।