बिदेसिनु कतै रहर हो त कतै बाध्यता, तर विदेशमा केही यस्ता नेपाली पनि छन् जसले आर्थिक क्षेत्रमा लामो सङ्घर्षपछि ठूलो सफलता प्राप्त गरेका छन् । हङकङजस्तो व्यस्त सहरमा नेपाली अक्षरले लेखिएको बोर्ड अनि नेपाली स्वादले भरिएको मेनु देख्दा जो–कोही नेपालीको छाती चौडा हुन्छ । लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय समुदायलाई मौलिक स्वादसँगै विभिन्न देशका परिकार चखाइरहेका केही नेपाली रेस्टुराँ :
हङ्ग्री आई रेस्टुराँ एन्ड बार
विष्णु गुरुङ, संस्थापक,
हङ्ग्री आई रेस्टुराँ एन्ड बार
सन् १९९९ मा हङकङ आएका विष्णु गुरुङ हङ्ग्री आई रेस्टुराँ एन्ड बारका संस्थापकमध्ये एक हुन् । निर्माणसँग सम्बन्धित इभर स्टार कम्पनीसमेत चलाइरहेका गुरुङ सामाजिक सेवामा
समेत सक्रिय छन् । आफ्नो रेस्टुराँमार्फत नेपाली संस्कृति एवं परिकारलाई विश्व बजारमा पुर्याउनु नै आफ्नो लक्ष्य भएको गुरुङ बताउँछन् ।
हङकङ स्थित उसुङ स्ट्रिटको तेस्रो तल्लामा रहेको हङ्ग्री आई रेस्टुराँ एन्ड बार स्थानीय नेपालीहरूबीच लोकप्रिय मानिन्छ । चार वर्षअघि स्थापना भएको हङ्ग्री आई आलुदम, नान, सेकुवा तथा पोर्क छोइलाका लागि प्रसिद्ध छ । नन्द चङ्सु, विष्णु गुरुङ, सुरेश गुरुङ तथा सुमन आलेले संयुक्त रूपमा सञ्चालन गरेको यो रेस्टुराँ पार्टी, सेमिनारका साथै विभिन्न कार्यक्रमका लागि पनि परिचित छ । भित्तामा सजाइएको माछापुछ्रे हिमाल, मादल तथा डोकोले यो रेस्टुराँलाई नेपालीपन दिएको छ ।
एक्स गोर्खा रेस्टुराँ एन्ड बार
पार्टी, मिटिङ, व्रतबन्ध, भोजभतेर आदिका लागि नेपालीहरूको अर्को रोजाइ एक्स गोर्खा रेस्टुराँ एन्ड बार हो । हङकङस्थित वाइचिङ स्ट्रिटको भुइँतलामा रहेको एक्स गोर्खामा परम्परागत नेपाली परिकार ढिँडो, साँधेको गुन्द्रुक, आलु–तामा आदि परिकार पाइन्छ । २३ जनाको सक्रियतामा सञ्चालित यो रेस्टुराँमा नेपाली परिकारकै लागि विदेशीहरू समेत पुग्छन् । यो रेस्टुराँमा सबै समुदायका ग्राहकलाई समेट्न एसियन फ्युजन परिकारहरूसमेत उपलब्ध गराइन्छ ।
किरण गुरुङ, म्यानेजर
एक्स गोर्खा रेस्टुरेन्ट एन्ड बार
१९ वर्ष सैनिक सेवामा बिताएका किरण गुरुङ एक्स गोर्खा रेस्टुराँका म्यानेजर हुन् । सन् २००० मा हङकङ आएका गुरुङले रेस्टुराँ व्यवसायमा संलग्न हुनुअघि लगभग १० वर्ष सेक्युरिटी अफिसरका रूपमा काम गरेका थिए । बिहान ११ बजेदेखि राति १२–१ बजेसम्म निरन्तर ग्राहकसँग रमाउने गुरुङ आफ्नो व्यवसायबाट सन्तुष्ट छन् ।
सांग्रिला करी हाउस
विगत १७ वर्षदेखि हङकङमा स्वदेशी तथा विदेशीहरूको रोजाइ बनेको सांग्रिला करी हाउस हङकङको दुई ठूला सहर युङ्लोङ र जोर्डनको बीचमा अवस्थित छ । पार्टी, सेमिनार तथा व्रतबन्धका साथै क्याटरिन सेवाका लागि सुपरिचित सांग्रिलामा चिनियाँ, भारतीय एवं युरोपेली ग्राहक बढी आउँछन् । शान्त, स्वच्छ वातावरण, उत्कृष्ट ग्राहक सेवाका लागि कहलिएको सांग्रिला नेपाली ढिँडो, दाल–भात, कुखुराको मासु, आलुदम, चिकेन रोस्ट आदि परिकारका लागि परिचित छ । १८ जना कामदारलाई प्रत्यक्ष रोजगारी दिइरहेको सांग्रिलाले नेपाली परिकारलाई अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बनाउन सेतुको काम गरिरहेको छ ।
कृष्णबहादुर खड्का, संस्थापक, सांग्रिला करी हाउस
विगत २५ वर्षदेखि होटल तथा रेस्टुराँ व्यवसायमा रहेका कृष्णबहादुर खड्काको अधिकांश समय ग्राहकको सेवामा बित्छ । मालिक भएर पनि कुनै पनि कामलाई सानो–ठूलो नभन्ने खड्काको अनुभवमा हङकङमा व्यवसाय गर्न सजिलो छ । खड्काका अनुसार नियम–कानुनलाई सही ढंगले पालना गर्दै हेल्थ र हाइजिनमा सतर्क भए कुनै सरकारी झन्झट बेहोर्नु पर्दैन । वार्षिक ४५ हजार हङकङ डलरसम्म कर तिर्ने खड्का व्यवसायमार्फत नेपालीहरूको परिचय फेरिएकोमा दङ्ग छन् ।
कङ्गन रेस्टुरेन्ट
हङकङस्थित जोर्डन, उसुङ स्ट्रिटको पहिलो तल्लामा कङ्गन रेस्टुरेन्ट एन्ड बार छ । यो रेस्टुराँमा बज्ने मौलिक बाजा र धुनले नेपाली पहिचान दिन्छ । सन् २००५ मा स्थापना भएको कङ्गनले स्वदेशी तथा विदेशी पार्टी, सेमिनार, भोजभतेर, व्रतबन्धका साथै विभिन्न कार्यक्रमहरूसमेत आयोजित गर्छ । कङ्गनको सफलताका पछाडि ग्राहकसँगको सुमधुर सम्बन्ध मुख्य कारण रहेको सञ्चालक कमल पौड्याल बताउँछन् । हङकङ आइपुग्ने नेपाली नेता, कलाकार सबैले कङ्गनका परिकारको स्वाद चाखेकै हुन्छन् । चिकेन विइङ्स, चिकेन डमस्ट्कि्स, ताजा खसी, पोर्क भुटुवा, रिब्स फ्राई, फिस चिल्ली, चोला पोर्क, तन्दुरी, तारेको असला माछा, चाउमिन, मोमो कङ्गनमा उपलब्ध प्रमुख परिकार हुन् ।
कमल पौड्याल, सञ्चालक, कङ्गन रेस्टुरेन्ट एन्ड बार
सन् १९९० मा एक इन्डियन रेस्टुराँको म्यानेजरका रूपमा हङकङ छिरेका कमलले कामदारबाट रोजगारदाता बन्न निकै सङ्घर्ष गर्नुपर्यो । काठमाडौंको सोल्टी होटलमा सिकेको सीपलाई उनले आफ्नो करियर बनाए । कङ्गनमा कमलले सात जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । हरेक वर्ष ४१ हजार हङकङ डलरसम्म कर तिर्ने कमलले आफ्नो रेस्टुराँमा नेपाली साहित्यका विभिन्न पुस्तक पनि संग्रह गरेका छन् ।
बंगैचा रेस्टुराँ एन्ड पार्टी प्यालेस
नेपाली समुदायले सबैभन्दा बढी लगानी गरेको मानिने बगैंचा रेस्टुराँ एन्ड पार्टी प्यालेसले छोटो समयमै धेरैको मन जितेको छ । प्रारम्भमा ५० लाख हङकङ डलर लगानी गरिएको बगैंचाले ६ महिनामै नेपालीका साथै हङकङका अन्य बासिन्दामाझ आफ्नो छुट्टै परिचय कायम गरेको छ । ५० जनाको समूहले बंगैचा होल्डिङ कम्पनीमार्फत यो रेस्टुराँमा लगानी गरेका छन् । कम्पनीका निर्देशक सुवास राईको रेखदेखमा रहेको बंगैचाले मौलिक नेपाली परिकारसहित विश्व बजारमा आफ्नो उपस्थिति जनाउने लक्ष्य लिएको छ । अहिले बगैंचा परम्परागत नेपाली परिकार, बाँसको ढुङ्ग्रोमा खाना, स्वस्थकर सामग्रीको प्रयोगले नेपाली मात्र नभै स्थानीय चिनियाँ तथा आगन्तुक पर्यटकहरूबीच समेत लोकप्रिय भैरहेको छ । हङकङको याउमा तेई, साङ्घाई स्ट्रिटमा सञ्चालित बगैंचाले २० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
हरिचन्द्र राई, म्यानेजिङ डाइरेक्टर
बंगैचा रेस्टुराँ एन्ड पार्टी प्यालेस
सन् १९७० मा हङकङ प्रवेश गरेका हरिचन्द्रले १२ वर्ष सेक्युरिटी गार्डका रूपमा बिताए । मन मिल्ने साथीभाइको संगत, उत्प्रेरणा एवं सहयोगले रेस्टुराँ व्यवसायमा हात हालेका राई अहिले आफ्नो सफलताप्रति सन्तुष्ट छन् । बिहानैदेखि ग्राहकहरूको खुसीका लागि प्रयासरत रहने राई भन्छन्— विदेशमा अर्काको जति नोकरी गरे पनि आफ्नो भन्ने केही नहुने रहेछ, हामीले सुरु गरेको व्यवसायले हामीलाई आफ्नोपन दिएको छ ।