लिरिल फ्रेस फेश सिजन फोर विजेताका रुपमा हिसिला महर्जन चयन भएकी छिन् । विजेता भएसगै हिसिलाले लिरिलको ब्रान्ड अनुहार हुने अवसरका साथै मिडियामा पब्लिसिटी, नगद पुरस्कार एक लाख र हीरो डुएट स्कुटर पुरस्कारका रुपमा प्राप्त गरेकी छिन् ।
प्रतिस्पर्धाको अन्तिम मोडमा पुगेका पूजा प्रधान र श्रद्धा मैनालीलाई पछि पार्दै हिसिलाले यो सिजनको उपाधि आफ्नो नाममा सुरक्षित गरेकी हुन् । प्रतिस्पर्धाका रनरअपहरुले प्रति व्यक्ति नगद पच्चीस हजार तथा लिरिलसंग एक वर्षको सम्झौता पुरस्कारका रुपमा प्राप्त गरेका छन् ।
युनिलिभरको उत्पादन लिरिल साबुनको ब्रान्ड अनुहार चयन गर्ने योजना अन्तर्गत संचालन हुँदै आएको ‘लिरिल फ्रेश फेश’ प्रतिस्पर्धाको सिजन फोर अन्तर्गतको अन्तिम प्रतिस्पर्धा हालै सम्पन्न भएको हो । श्रृङ्खलाबद्ध रुपमा कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको यो चयन प्रक्रिया अन्तर्गत गएको २७ डिसेम्बरमा प्रशारण भएको सातौं तथा फाइनल श्रृङ्खलाबाट यस पटकको सिजनको विजेता चयन गरिएको हो । फाइनल श्रृङखलामा गायक नितेश राज कुँवरले आफ्ना गीतहरु प्रस्तुत गरेका थिए भने यो सीजनका टप थ्री फाइनलिष्टका रुपमा चुनिएका हिसिला महर्जन, श्रद्धा मैनाली र पूजा प्रधानले नीतेशको साँगीतिक प्रस्तुतिमा आफ्नो रनवे कौशल प्रस्तुत गरेका थिए । फाइनलिष्टहरुको रनवे प्रस्तुतिसंगै यस अघि फाइनलिष्टहरुको क्यालेन्डर तथा वाटर बेष्ड फोटोसुटको पर्फमेन्स र तस्वीरलाई मुल्यांकन गर्दै समग्रमा उनीहरुको प्रस्तुतिको आधारमा यस पटकको सीजनको विजेता निक्र्याैल गरिएको थियो ।
फाइनल श्रृङ्खलामा कार्यक्रममा नियमित निर्णायकहरु फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकार, पूर्व मिस नेपाल माल्भिका सुब्बा र ग्ल्यामर फोटोग्राफर किशोर कायस्थ बाहेक अतिथि निर्णायकका रुपमा अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशी रहेका थिए ।
गएको नोभेम्बर १५ तारिखमा पहिलो श्रृङ्खला प्रशारण भएसंगै प्रारम्भ भएको लिरिल फ्रेश फेस सिजन फोर सात श्रृङ्खला र आठ वटा टास्क राउन्डमा सम्पन्न भएको हो । यो प्रक्रियालाई कान्तिपुर टेलिभिजनमा हरेक बूधबार साँझ ७.३० बजे प्रशारण गर्दै आएको थियो । यस अघि आयुष्मा श्रेष्ठ, शिक्षा संग्रौला र प्रमिला थापाले लिरिल फ्रेस फेश उपाधि जितिसकेका छन् ।