अन्तरिक्ष विज्ञानतर्फका गतिविधि सन् २०१७ मा अन्तरिक्ष विज्ञानका क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल भए । पृथ्वीजस्तो अर्को ग्रह र जीवनको खोजीमा अन्तरिक्ष वैज्ञानिकहरू पहिलेदेखि नै लागिपरेका छन् । यो क्षेत्रमा यो वर्ष प्रशस्त सम्भावना देखिएका छन् ।
न्युट्रोन स्टार क्र्यास
सन् २०१७ को अगस्ट १७ अन्तरिक्ष विज्ञानका लागि ऐतिहासिक दिन सावित भयो । उक्त दिन वैज्ञानिकहरूले लाइट तथा ग्राभिटेसनल वेभ दुवैको प्रयोग गरी पहिलोपल्ट कुनै कस्मिक इभेन्ट अवलोकन गरे । यसलाई मल्टी–म्यासेन्जर एस्ट्रोनोमी भनिन्छ । अनुसन्धानकर्ताहरू पहिले ब्रह्मान्डलाई प्रकाशको सहायताले देख्न सक्थे भने अब ग्राभिटेसनल वेभको सहयोगले सुन्नसमेत सक्ने भएका छन् । यी दुवैलाई संयुक्त रुपमा मिलाएर काम गर्दा आगामी दिनमा ठूलै उपलब्धि हासिल हुने सम्भावना छ । साइन्स जर्नलले यसलाई ‘वर्षकै सर्बाधिक उपलब्धिमूलक कार्य’ भनेको छ ।
पृथ्वीजस्तै सात ग्रह
जनवरीको प्रारम्भमै नासाले पृथ्वीजस्तै सातवटा ग्रहले ट्राप्पिस्ट–१ नामक तारालाई परिक्रमा गरिरहेको भनी विभिन्न तस्बिर सार्वजनिक गर्यो । त्यहाँ जीवनको अस्तित्व छ कि छैन भन्ने कुरा अझै प्रमाणित नभैसकेको भए पनि यसले पृथ्वीबाहिर जीवनको अस्तित्वको खोजीमा थप सम्भावना देखाएको छ ।
गुडबाई कास्सिनी
कास्सिनी यान नासाको इतिहासकै एउटा महत्वपूर्ण र सफल यान थियो । शनि ग्रहको अध्ययन गर्न सन् १९९७ अक्टोबर १५ मा त्यसलाई पठाइएको थियो । यो यानलाई शनिमा पुग्नै ७ वर्ष लागेको थियो । त्यसपछि १३ वर्षको अवधिमा कास्सिनीले अनेकन तस्बिर पठाएर शनि ग्रहको अध्ययनका लागि महत्वपूर्ण आधार प्रदान गरेको थियो । यसमा प्रयोग भएको इन्धन सकिएपछि गत सेप्टेम्बरमा यसलाई त्यही नै समाप्त पारियो । शनि ग्रहमा पुग्ने यो नै पहिलो यान हो ।
इन्सेलाडसमा जीवनको सम्भावना
शनि ग्रहको बर्फिलो उपग्रह इन्सेलाडसमा जीवनको सम्भावना हुन सक्ने आधार फेला परेको छ । गत अप्रिलमा कास्सिनी स्पेसक्राफ्टले पठाएको तस्बिरमा पानीले बनाएका विभिन्न खोल्सा तथा चिसो भाग देखिएको थियो । यसबाट पृथ्वीपछि इन्सेलाडसमा पनि जीवनको अस्तित्व हुन सक्ने सम्भावना देखिन्छ । पछिल्लो पटक गरिएको अध्ययनमा त्यहाँ मोलिक्युलर हाइड्रोजन फेला परेको छ, जुन कुनै जीवित प्राणीका लागि शक्तिको स्रोतका रूपमा प्रयोग हुन्छ ।
पृथ्वीजस्तै ग्रह
पृथ्वी भन्दा थोरै मात्र ठूलो ग्रह, जसको नाम जीजे ११३२ बी राखिएको छ, मा खगोलशास्त्रीहरूले जीवनको सम्भावना औंल्याएका छन् । यो वर्ष उनीहरूले त्यसका लागि आवश्यक गृहकार्य समेत गरेका छन् । आगामी दिनमा थप उपकरण डिजाइन गरी अध्ययनलाई तीव्रता दिने वैज्ञानिकहरूको योजना छ ।
मंगल ग्रहको पानी सुक्दै
सन् २०१५ मा अनुसन्धानकर्ताहरूले मंगल ग्रहमा पानी भएको तथ्य सार्वजनिक गरेका थिए । नासाले पनि यसलाई पुष्टि हुने गरी तर्क पेस गरेको थियो, तर यो वर्षको नोभेम्बरमा गरिएको अध्ययनअनुसार पहिले देखिएका स्थानमा पनि पानीको भाग सुक्दै गएको छ । पानी र त्यहाँ भएको नुनिलो भाग मिलेर त्यस्तो भएको अनुमान वैज्ञानिकहरूको छ ।
स्पेस स्टेशन कीतिमान
यो वर्ष अन्तर्राष्ट्रिय स्पेस स्टेसन धेरै नै व्यस्त भयो । सर्वाधिक चर्चित घटनामा अमेरिकाकी पेग्गी ह्वाइटसनले सर्वाधिक लामो समय अन्तरिक्षमा बस्ने महिलाको कीर्तिमान कायम गरिन् । उनी यो कीर्तिमान कायम गर्ने सर्वाधिक बढी उमेरकी तथा पहिलो अमेरिकी महिलासमेत हुन् ।