साप्ताहिक संवाददाता
जनवरी १ (पुस १७ गते) राष्ट्रिय सभागृहमा पाँचौं राष्ट्रिय पोसाक दिवस मनाइँदैछ । ‘नेपाली पोसाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारा बोकेको यो दिवसमा पुरुषहरू दौरा–सुरुवाल, कोट, टोपी तथा महिलाहरू चोली, फरियामा सजिएर सहभागी हुन्छन् । यो अभियानका परिकल्पनाकार हुन्— राजानन्द माण्डव्य । नेपालको राष्ट्रिय पोसाक अन्तर्राष्ट्रिय पहिचानका रूपमा इतिहासदेखि नै भएको तर तत्काल त्यो पहिचान गुमेको हुनाले यसको पुन:स्थापनाका लागि यो अभियान प्रारम्भ गरिएको अभियानकर्ताहरूले बताएका छन् ।
‘यो देशको पहिचानसँग जोडिएको कुरा हो । राष्ट्रियता भूगोल मात्र नभै विभिन्न जातजाति, भाषा, संस्कृति तथा वेशभूषा पनि हो ।’ राष्ट्रिय पोसाक दिवसका कार्यक्रम संयोजक राजानन्दले भने, ‘राष्ट्रलाई अन्तर्राष्ट्रिय पहिचान दिने साझा पोसाक अनिवार्य भएका कारण त्यसको पुन:स्थापनाका लागि यो अभियानको सुरु गरिएको हो ।’ हाम्रो देशको राष्ट्रिय झन्डा, भाषा, जनावर, पन्छी, फूल, रंग सबै कुरा भएको तर पोसाक भने अहिलेसम्म घोषणा नगरिएकोमा राजानन्दले दुखेसो पोखे ।
यसपालि मुलुकका १२ वटा जिल्लामा एकसाथ विशेष कायक्र्रमका साथ राष्ट्रिय पोसाक दिवस मनाइँदैछ । झाँकी, पन्चैबाजा, विभिन्न नृत्य तथा र्यालीका साथ यो दिवस मनाउने योजना छ । काठमाडौंमा काभ्रे, भक्तपुर र ललितपुर जिल्लाको संयुक्त कार्यक्रम हुँदैछ जहाँ राष्ट्रकवि माधव घिमिरे, इतिहासविद् सत्यमोहन जोशी, विभिन्न दलका प्रमुख नेतालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने बताइएको छ । यसमा १५ वटा नगरपालिकाका मेयरहरू पनि सहभागी हुने दाबी गरिएको छ । महांकाल गाउँपालिका ललितपुर तथा नमोबुद्ध नगरपालिका, काभ्रेले यसैपालिदेखि औपचारिक कार्यक्रममा सहभागी हँुदा आफ्ना कर्मचारीहरूले अनिवार्य रूपमा राष्ट्रिय पोसाक लगाउनुपर्ने घोषणा गरिसकेका छन् ।
संयोजक राजानन्द माण्डव्यका अनुसार पहिलो पटक आयोजना गरिएको राष्ट्रिय पोसाक दिवसमा पातलो सहभागिता थियो । कतिपयसँग त दौरा–सुरुवाल पनि थिएन । काभ्रेको बनेपाबाट सुरु भएको उक्त अभियानमा लगभग २–३ सय जना मात्र सहभागी थिए । त्यसपछि वसन्तपुर दरबार स्क्वायरमा कार्यक्रम आयोजना गर्दा हजारभन्दा बढीको सहभागिता रह्यो । पछिल्ला वर्षहरूमा भने यो कार्यक्रममा बाक्लै सहभागिता हुन थालेको छ । बिस्तारै बाहिरका जिल्लामा पनि यसको प्रभाव बढ्दै गएको छ । अघिल्लो पटक ६ वटा जिल्लामा कार्यक्रम सम्पन्न गरिएको थियो भने यसपटक त्यसको दोब्बर १२ वटा जिल्लामा कार्यक्रम सञ्चालन हुँदैछ ।