साप्ताहिक संवाददाता
भर्खरै क्रिसमस सकियो, अंग्रेजी नयाँ वर्ष आउदैछ । नयाँ वर्ष भन्नासाथ हामी न्यू इयर इभलाई छुटाउँदैनौं । इभ त्यसै पनि पुराना कुरा बिर्सेर नयाँप्रण गर्ने समय हो । यो घडीलाई अझ रमाइलो बनाउन साथीभाइसँगको जमघट, खानपान एवं मनोरञ्जनमा नजुट्ने कुरै हुँदैन, तर यसरी रमाइलो गर्दा आफ्नो स्वास्थ्यमा पनि ध्यान पुर्याउनु जरुरी हुन्छ । नाइट पार्टीमा सामेल हुँदा के–कस्ता कुरामा ध्यान दिनुपर्छ ? वीर अस्पताल आकस्मिक कक्षका प्रमुख डा. केदार सेन्चुरीका केही सुझाव :
खानपिनमा ध्यान दिनुहोस् :
प्राय: गरेर लेट नाइट पार्टीमा घरबाहिरको खाना खाइने हुँदा खानाको गुणस्तरमा ध्यान पुर्याउनुपर्छ । यदि खानामा शुद्धता नभए त्यसले फुड प्वाइजनको समस्या निम्त्याउन सक्छ ।
हेड इन्जुरीबाट जोगिनुहोस् :
पार्टी भन्नेबित्तिकै मद्यपान पनि हुन्छ । अत्यधिक मदिरा सेवन गर्नाले लडेर चोटपटक लाग्नुका साथै झैझगडा समेत हुनसक्छ । अझ मध्यपान सेवन गरेर सवारी साधन हाँक्नै हुँदैन । यसरी सवारी हाँक्नु भनेको मृत्यु निम्त्याउनु हो ।
रुघाखोकीबाट बच्नुहोस् :
अहिले चिसो मौसम छ । रमाइलो गर्ने क्रममा रातभर चिसोमा बस्ने, चिसा पदार्थहरू खाने काम गर्दा तत्काल त्यसको असर नदेखिए पनि केही दिनमै रुघाखोकीजस्ता समस्या सिर्जना हुन सक्छन् । त्यसकारण पार्टीमा सहभागी हुँदा बाक्ला पहिरन लगाउनुपर्छ भने ताता झोल खानेकुरा खानु उपयुक्त हुन्छ ।
यौनजन्य रोग टाढै रहोस् :
नयाँ वर्षको लेट नाइट पार्टीमा झुम्ने भनेका युवाहरू नै हुन् । यस्तो रमाइलो मुडमा नजिक हुने क्रममा एक–अर्काबीच शारीरिक सम्बन्धसमेत स्थापित हुनसक्छ । त्यस्तो अवस्थामा होस गुमाएर असुरक्षित तवरले शारीरिक सम्पर्क राखे यौनजन्य रोगको जोखिम वृद्धि हुने हुँदा त्यसतर्फ पनि ध्यान पुर्याउनु उपयुक्त हुन्छ ।
दीर्घ समस्या भएकाहरूका लागि :
मधुमेह, उच्च रक्तचाप, मृगौला तथा मुटुको समस्या भएकाहरूले विशेष सावधानी अपनाउनुपर्छ । समयमै नियमित सेवन गर्ने औषधी सेवन गरेर मात्र पार्टीमा सामेल हुनुपर्छ । खानपानमा ध्यान दिनुका साथै लामो समयसम्म पार्टीमा बस्नु हुँदैन । यस्तो समस्या भएकाहरू राति अनिदो हुँदा, ह्दयाघात हुन सक्ने सम्भावना वृद्धि हुन्छ ।
आराम पनि गर्ने :
लेट नाइट पार्टीमा सहभागी भएको भोलिपल्ट अनिवार्य आराम गर्नुपर्छ ।