साप्ताहिक संवाददाता
वर्ष २०१७ मा प्रदर्शन भएका बलिउडका सयौं चलचित्रमध्ये सीमित चलचित्र मात्र सफल भए । थोरै चलचित्र औसत तथा सामान्य रहे भने अधिकांश चलचित्र असफल भए । चलचित्र प्रदर्शनका आधारमा बलिउडका अभिनेताहरूको वर्ष २०१७ कस्तो रह्यो ?
सलमान खान
चलचित्र ट्युबलाइट प्रदर्शन हुनुभन्दा अघिसम्म सलमान खानका कुनै पनि चलचित्र असफल हुँदैनन् भन्ने मान्यता थियो । उक्त मान्यता गलत सावित भयो । लामो समयपछि सलमान खानले यही वर्ष असफलताको स्वाद चाख्नुपर्यो । सलमानले त यो चलचित्रबाट राम्रै पैसा कमाए, तर वितरणहरूलाई भने घाटा भयो । सलमानले उनीहरूलाई केही पैसा फिर्ता समेत गरे, जसले वितरकहरूको घाटा कम गर्यो । वर्षको अन्त्यमा प्रदर्शन भएको टाइगर जिन्दा हैमार्फत सलमानले पुन: एकपटक आफूलाई प्रमाणित गर्ने अवसर पाए । यो चलचित्रको सफलतासँगै सलमानले ट्युबलाइटमा बेहोरेको असफलता समेत बिर्सिएका छन् ।
आमिर खान
आमिर खान यो वर्ष बलिउडबाट गायब झैं भए । निर्माताका रूपमा उनको चलचित्र सेक्रेट सुपरस्टार प्रदर्शनमा आयो, जसमा आमिरले छोटो तर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । चलचित्रमा उनको अभिनय हेर्न लायक थियो । गोलमाल अगेनसँगै प्रदर्शन भए पनि आमिरको यो चलचित्र व्यवसायिक रूपमा सफल भयो र यसको सफलतामा उनको योगदान महत्वपूर्ण थियो ।
शाखरुख खान
वर्ष २०१७ मा शाखरुख खान खाली हात रहे । यसबाट उनको स्टारडममै प्रश्नचिह्न खडा भयो । भन्नेहरूले त उनको समय सकिएको कुरासमेत गरे । कतिपय समीक्षकले त अहिले अक्षय कुमारलाई उनीभन्दा अब्बल मानेका छन् । शाहरूखको यो वर्ष प्रदर्शन भएको चलचित्र रइस बक्स अफिसमा औसत रह्यो । उक्त चलचित्रका केही वितरकले कमाए भने केहीले घाटासमेत बेहोरे । उक्त चलचित्र काबिलसंगै प्रदर्शन भएका कारण पनि समस्या उत्पन्न भएको हुनसक्छ । जब ह्यारी मेट सेजल त यति नराम्रोसँग फ्लप भयो कि शाहरूखले यो चलचित्रको नाम सम्झिरहने सम्भावना कमै छ । शाहरूख केही मिनेट फ्लप चलचित्र ट्युबलाइटमा समेत देखिएका थिए ।
अक्षय कुमार
अक्षय कुमारका लागि यो वर्ष उत्कृष्ट रह्यो । यो वर्ष उनले अभिनय गरेका दुई चलचित्र प्रदर्शनमा आए र दुवै चलचित्र सय करोड क्लबको सदस्य बने । अक्षयको छवि त्यस्तो अभिनेताको बन्यो, जसको सफल चलचित्र सवा सय करोडको आसपास पुगेर रोकिन्छ । त्यसभन्दा अघि बढ्न सक्दैन । अक्षय अचेल हरेक प्रकारका चलचित्रमा काम गरिरहेका छन् । नाम शबानामा उनले अतिथि कलाकारका रूपमा अभिनय गरेका थिए, जसको सफलताको श्रेय तापसी पन्नूले पाइन् । जोली एलएलबी–२ तथा ट्वाइलेट एक प्रेम कथा जस्ता राम्रा चलचित्र यो वर्ष अक्षयको भागमा परे ।
रितिक रोशन
यो वर्ष रितिक रोशन अभिनयका कारण भन्दा कंगना रणावतसँगको विवादका कारण बढी चर्चामा आए । थोरै चलचित्रमा अभिनय गर्ने आफ्नो स्वभावलाई उनले यो वर्ष पनि निरन्तरता दिए । यो वर्ष उनको एक मात्र चलचित्र काबिल प्रदर्शनमा आयो, जुन सामान्य रह्यो । उक्त चलचित्र शाखरुख खानको रइससँग जुध्दा उनीहरू दुवैलाई घाटा भयो । रितिकले समयमै आफूलाई सम्हाल्दै अघि बढ्नुपर्ने देखिन्छ, किनभने रणवीर सिंह तथा वरुण धवनजस्ता नयाँ अभिनेता उनको नजिक पुगिसकेका छन् ।
अजय देवगण
पछिल्लो चार–पाँच वर्ष यता अजय देवगणले सुपरहिट चलचित्र दिन सकेका छैनन् भन्ने कुरा बलिउडमा चलिरहन्छ । उनले गोलमाल अगेनमार्फत त्यस्तो कुरा गर्नेहरूलाई जवाफ दिएका छन् । यो उनको सबैभन्दा सफल चलचित्र हो । पहिलो पटक उनी यही चलचित्रमार्फत दुई सय करोड क्लबमा प्रवेश गर्न सफल भए । त्यसो त यो रोहित शेट्टीको पनि चलचित्र हो तथा यसको सफलताको केही श्रेय रोहितलाई समेत जान्छ भन्ने कुरा नकार्न सकिँदैन । यही वर्ष प्रदर्शनमा आएको अजयको बादशाहों असफल भयो । उक्त चलचित्रलाई अजयले उत्कृष्ट सुरुवातसमेत दिन सकेनन् । गेस्ट इन लन्डनमा उनले अतिथि कलाकारको भूमिकमा निर्वाह गरेका थिए । सम्रगमा यो वर्ष अजयका लागि औसत रह्यो ।
अमिताभ बच्चन
अमिताभ बच्चन यो वर्ष टेलिभिजनको आफ्नो कार्यक्रम कौन बनेगा करोडपतिमा मात्र देखिए । यो कार्यक्रम अहिले पनि अमिताभकै कारण हेरिन्छ । ठूलो पर्दामा उनको एक मात्र चलचित्र सरकार–३ असफल भयो । सरकार–३ मा अमिताभको अभिनय त उत्कृष्ट थियो, तर चलचित्रमा भने हेर्न लायक केही थिएन ।
रणबीर कपुर
रणबीर कपुरले सुपरहिट चलचित्र नदिएको धेरै भयो । उनका बुवा ऋषि कपुर स्वयंले आफ्नो छोराको चलचित्र छनोट गर्ने शैलीमा प्रश्न उठाइरहेका छन् । लामो समयदेखि रोकिएको चलचित्र जग्गा जासुस प्रदर्शन त भयो तर रणवीरले पुन: एकपटक असफलता बेहोरे । उनको प्रतिभामा कसैलाई शंका छैन, तर बक्स अफिस परिणाम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यतिबेला रणवीरको सम्पूर्ण ध्यान सञ्जय दत्तको बायोपिकमार्फत सफल हुने कुरामा केन्द्रित छ ।
वरुण धवन
वरुण धवन तथा रणवीर कपुरमा के फरक छ भने वरुण त्यस्ता चलचित्रमात्र छनौट गर्छन्, जुन सफल हुने सम्भावना अत्यधिक हुन्छ । यही कारणले गर्दा वरुण लगातार सफल भैरहेका छन् । यो वर्ष उनले अभिनय गरेका दुई चलचित्र प्रदर्शनमा आए, बद्रीनाथ की दुल्हनिया तथा जुडवा–२ । दुवै चलचित्र सुपरहिट भए । यी दुई चलचित्रको सफलतापछि वरुण आफ्ना समकालिन अभिनेताभन्दा निकै माथि पुगे ।
शाहिद कपुर
सफलभन्दा असफल चलचित्रमा बढी अभिनय गरे पनि शाहिद कपुरले कसरी नयाँ–नयाँ चलचित्र पाइरहेका छन् भन्ने कुरा खोजीकै विषय हुनसक्छ । यो वर्ष उनले अभिनय गरेको जम्मा एउटा चलचित्र प्रदर्शनमा आयो । रंगुन शीर्षकको उक्त चलचित्र यति असफल भयो कि यसले शाहिदको करियरमाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ ।