साप्ताहिक संवाददाता
सन् २०१७ को वर्षमा संसार हल्लाउने थुप्रै घटना घटे । ती घटनाका कारण र कारकहरू पनि सँगसँगै चर्चामा आए । ती घटनाको प्रभाव वर्ष २०१७ का लागि मात्र नभै आगामी केही वर्षसम्म कायम रहने देखिन्छ भने ती घटनाका कारक बन्न पुगेका व्यक्ति तथा व्यक्तित्वको वरिपरि यो संसार अझै केही वर्ष रुमल्लिइरहनुपर्नेछ ।
१. मि टु (#me_too)
महिला तथा बालबालिकामाथि हुने यौन हिंसा एवं व्यवहारविरुद्ध यो वर्ष ट्विटर ह्यासट्यागमार्फत् आन्दोलन नै चलाइयो जसलाई मि टु नाम दिइयो । यो आन्दोलन यति व्यापक भयो कि यसलाई टाइम पत्रिकाले वर्ष व्यक्तित्वको संज्ञा दियो । बितेका वर्षहरूमा व्यक्ति, संस्था वा समूहलाई वर्ष व्यक्तित्वका रुपमा चुन्दै आएको टाइमले यो वर्ष मि टु आन्दोलनलाई वर्ष व्यक्तित्वका रुपमा चुन्नुले पनि यसको महत्त्व तथा व्यापकता प्रमाणित भयो । यही ह्यासट्यागमार्फत् हलिउडकी लोकप्रिय अभिनृत्री सल्मा हायकले आफू पनि कुनैबेला यौन दुराचार र दुव्र्यवहारमा परेको घटना सार्वजनिक गरेर मि टु अभियानलाई थप बल प्रदान गरिन् ।
२. किम जोङ उन
वर्षैभरि विभिन्नथरिका मिसाइल तथा आणविक क्षेप्यास्त्रहरू परीक्षण गरेर चर्चामा आएका उत्तर कोरियाका तानाशाह किम जोङ उन सेप्टेम्बर ६ मा गरिएको हाइड्रोजन बम परीक्षणपछि थप चर्चामा आए । उनले अमेरिका, जापान, कोरिया आदि मुलुकलाई खरानी बनाइदिने धम्कीसमेत दिए । त्यसपछि चर्किएको अमेरिका–उत्तर कोरिया विवादले संसारलाई तेस्रो महायुद्धको संघारमै पुर्याएको थियो । यद्यपि संयुक्त राष्ट्र संघले उत्तर कोरियाविरुद्ध कठोर आर्थिक नाकाबन्दीको घोषणा गरेपछि अमेरिका–उत्तर कोरिया विवाद केही मत्थर भयो । यसमा चीनले समेत संयुक्त राष्ट्रसंघलाई सघाएपछि अहिले उत्तर कोरिया विश्व समुदायबाट एक्लिएको छ ।
३. हैदर अल अबादी
सेप्टेम्बर २०१४ मा युद्धग्रस्त इराकको प्रधानमन्त्री नियुक्त भएका हैदर अल अबादीले त्यसपछिको समय इस्लामिक स्टेटको (आईएस) आतंकवादका विरुद्ध युद्धमा खर्चिए । पहिले सुस्त गतिमा रहेको इस्लामिक स्टेट विरुद्धको यो अभियान सन् २०१७ मा अचानक उत्कर्षमा पुग्यो । परिणामस्वरुप इराकको सरकारी सेना, कुर्दहरूको लडाकू जत्था तथा अमेरिकालगायत पश्चिमा मुलुकहरूको आर्थिक तथा सैनिक सहायताको बलमा इराकी सेनाले इस्लामिक स्टेटका लडाकुहरूलाई अन्तिम रूपमा पराजित गरेको घोषणा गर्यो । यस क्रममा इस्लामिक स्टेटका सर्वोच्च नेता अबु बकर अल बगदादी मारिएको अपुष्ट खबर समेत सार्वजनिक भयो ।
४. बेन्जामिन नेतान्याहु
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु यतिबेला चर्चामा छन् । अमेरिकाले विवादास्पद धार्मिक सहर जेरुसलेमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिएपछि उक्त क्षेत्र हिंसाको चपेटामा परेको छ । संयुक्त राष्ट्रसंघीय महासभाद्वारा अस्वीकृत गरिएको यो प्रकरणमा बेन्जामिन नेतान्याहु दृढ रुपमा उभिएका छन् र उनी कुनै पनि हालतमा जेरुसलेमलाई इजरायलको राजधानी बनाउने कुरामा सचेत छन् । नेतान्याहुले भनेका छन्– जेरुसलेमका ६५ प्रतिशत यहुदी आफ्नो सहरलाई इजरायलको राजधानीका रुपमा हेर्न चाहन्छन् भने अल्पसंख्यक अरब मुसलमानहरूले यसमा किचलो झिक्नु समय र शब्दको बर्बादी मात्र हो ।
५. आङ सान सुकी
म्यानमारकी नेतृ आङ सान सुकी मानव अधिकार र व्यक्ति स्वतन्त्रताको पक्षमा आफ्ना अडान र संघर्षका कारण संसारभरि नै उदाहरणीय व्यक्तित्व मानिन्छिन् । यसैकारण उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित समेत गरिएको थियो । यो वर्ष सुकी म्यानमारमा फैलिएको जातीय हिंसा र त्यसको सिकार भएका अल्पसंख्यक रोहिंग्या मुसलमानहरूका कारण चर्चामा आइन् । म्यानमारको यो हिंसाका कारण साढे ६ लाखभन्दा बढी रोहिंग्या मुसलमान म्यानमार छाड्न बाध्य भए । यो विषयमा सुकीले कुनै प्रतिक्रिया नजनाएको र उनी पनि रोहिंग्याहरूविरुद्ध उभिएको बताइयो जसका कारण सुकीलाई प्रदान गरिएको नोबेल पुरस्कार लगायतका सम्मान खोसिनुपर्ने आवाज चर्को
रुपमा उठाइयो ।
६. नवाज सरिफ
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ पनामा पेपर लिक प्रकरणमा आफ्नो नाम मुछिएपछि पदबाट राजीनामा दिएर चर्चामा आए । यो वर्ष पनामा पेपर लिकका कुराहरू एकपछि अर्को गर्दै प्रमाणित भएपछि उनी थप संकटमा परेका छन् ।
७. प्रिन्स मोहम्मद
बिन सलमान
कट्टर तथा परम्परावादी इस्लामिक राष्ट्र साउदी अरेबियाका युवराज प्रिन्स मोहम्मद बिन सलमान आफ्ना उदारवादी विचार र व्यवहारका कारण चर्चामा आए । फ्रान्सस्थित संसारकै सबैभन्दा महँगो आवासीय घर किनेका सलमानले साउदी महिलाहरूका लागि मतदानको अधिकार, मोटर तथा मोटरसाइकल चलाउने अधिकारलाई यसै वर्ष सुनिश्चित गरे । उनको यो कदम साउदी अरेबीयाको बन्द समाजका लागि युगान्तकारी मानिएको छ । निकट भविष्यमै मुस्लिम धर्ममा रहेका अरु केही कट्टर व्यवहारविरुद्ध कदम चाल्ने घोषणा गरिसकेका सलमानले यही वर्ष आफ्ना दर्जनभन्दा बढी नजिकका नातेदार तथा साउदी राजगद्दीका उनीपछिका उत्तराधिकारीहरूविरुद्ध भ्रष्टाचारको अभियोग लगाउँदै उनीहरूलाई पक्राउ गर्ने आदेश समेत जारी गरे ।
८. तामिम बिन
हमाद अल थानी
तामिम बिन हमाद अल थानी कतारका अमिर हुन् । यही वर्षको ५ जुनमा साउदी अरेबियाको नेतृत्वमा इजिप्ट युनाइटेड अरब इमिरेट्स बहराइन, कुवेत आदि अरब मुलुकले कतारविरुद्ध इस्लामिक आतंकवादलाई फन्डिङ गरेको अभियोगमा कुटनैतिक सम्बन्ध नै विच्छेद गरे । यो घटना यसकारण पनि चर्चामा रह्यो कि यसले विश्वलाई एकपटक फेरि तेल संकटतर्फ डोर्याउने अनुमान गरियो । आफ्ना नजिकका छिमेकी राष्ट्रहरूले कुटनैतिक सम्बन्ध विच्छेद गर्दै आर्थिक नाकाबन्दी गरे पनि त्यसले न कतारको राजनीतिक स्थितिमा कुनै परिवर्तन ल्यायो न त कतारलाई आर्थिक रुपमै कमजोर बनाउन सक्यो । यी सबै कुराको श्रेय त्यहाँका अमिर तामिम बिन हमाद अल थानीलाई दिइयो ।
९. मसुद बारजानी
सञ्चारमाध्यममा त्यति नसुनिएका मसुद बारजानी स्वतन्त्र कुर्दिस्तान आन्दोलनका नेता हुन् । इस्लामिक स्टेटविरुद्ध इराकले थालेको अभियानमा आफ्ना लडाकुहरूलाई होमेका बारजानीको विश्वास थियो– इस्लामिक स्टेटविरुद्धको युद्धपछि इराकले कुर्दिस्तानलाई स्वतन्त्रता दिनेछ । त्यसका लागि बारजानीले कुर्दिस्तानमा जनमत संग्रह समेत गराए जसमा स्वतन्त्रताको पक्षमा ९० प्रतिशतभन्दा बढी मतदान भयो । यो जनमत संग्रहलाई बगदादले अस्वीकार गरेपछि बारजानीले कुर्दिस नेस्नलिस्ट पार्टीको नेता पदबाट राजिनामा दिने घोषणा गरिसकेका छन् ।
१०. कार्ल पुइगमोन्ट
कार्ल पुइगमोन्ट स्पेनको एक प्रान्त क्याटालोनियाका पृथकतावादी नेता हुन् । जनवरी १२, २०१६ मा क्याटालोनियाका राष्ट्रपति निर्वाचित भएका पुइगमोन्टले अक्टोबर २, २०१७ मा स्पेनबाट अलग हुने विषयमा जनमत संग्रह गराए जसमा स्वतन्त्रताको पक्षमा ९५ प्रतिशतभन्दा बढी क्याटलानले मतदान गरे । उक्त जनमत संग्रहलाई स्पेन सरकारले असंवैधानिक घोषणा गरेपछि कार्ल पुइगमोन्ट स्पेन छाड्न बाध्य भए र उनी निर्वासनमा बेल्जियम पुगे । त्यसपछि क्याटालोनियामा स्थानीय निर्वाचनबाट पृथकतावादीहरू नै सत्तामा पुगेपछि अहिले पुइगमोन्ट बार्सिलोना फर्किने तयारीमा छन् । २३ जनवरी २०१८ मा पुइगमोन्ट बार्सिलोना पुग्दा जे हुनेछ त्यसैमा क्याटलानहरूको राजनैतिक भविष्य निहित रहनेछ ।
नवनिर्वाचित
१. डोनाल्ड ट्रम्प
अमेरिकाको पैतालिसौं राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले यही वर्ष जनवरी २० देखि अमेरिकाको प्रमुख कार्यकारीको पद सम्हालेका छन् ।
२. इम्यानुयल म्याक्रोन
फ्रान्सको इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रपति निर्वाचित भएका अनुदारवादी नेता इम्यानुयल म्याक्रोनले मे १४ देखि फ्रान्सको सत्ता सम्हालेका छन् ।
३. इमर्सन म्नाङ्गबा
बेलायतबाट स्वतन्त्रता प्राप्त (सन् १९८०) गरेदेखि नै जिम्बावेको सत्तामा रहेका रबर्ट मुगावेलाई त्यहाँ विकसित राजनैतिक परिस्थितिले सत्ता त्याग्न बाध्य बनाएपछि उनको उत्तराधिकारीका रुपमा इमर्सन म्नाङ्गबाले २४ नोभेम्बरदेखि जिम्बावेको नेतृत्व गरिरहेका छन् ।