साप्ताहिक संवाददाता
भारतमा आफूलाई भगवान् घोषणा गर्ने तथा अनेकौं अनुयायी बनाएर बिलासी जीवन बिताइरहेका एक बाबा पुन: विवादमा फसेका छन् । गुरमित रामरहिम साध्वीहरूलाई बलात्कार गरेको केसमा जेल पुगेको केही महिना नबित्दैं अर्का एक हाइटेक बाबामाथि आफ्नो आश्रममार्फत सेक्स र्याकेट चलाएको आरोप लागेको छ ।
नयाँ दिल्लीको विजय विहार इलाकामा आध्यात्मिक विश्वविद्यालयका नाममा आश्रम चलाइरहेका वीरेन्द्रदेव दीक्षितले आफूलाई कृष्ण बताउने गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । उनको आश्रमबाट ४१ जना महिलालाई भारतीय प्रहरीले उद्धार गरेको समाचारमा बताइएको छ । भारतीय मिडियाहरूका अनुसार सधैं महिला शिष्यका बीचमा रहन मन पराउने बाबा वीरेन्द्रदेवले १६ हजार युवतीसँग सम्बन्ध बनाउने टार्गेट बनाएका थिए । भारतीय मिडियाहरूले बाबा वीरेन्द्रदेवले आस्थाका नाममा अश्लीलताको खेल खेलेको टिप्पणीसमेत गरेका छन् ।
हाइकोर्टको निर्देशनअनुसार गत हप्ताको मंगलबार राति आश्रममा जाँच गर्न पुगेको महिला आयोग तथा दिल्ली प्रहरीको टोलीले हात पारेको भिडियोबाट यी कुरा सार्वजनिक भएका हुन् । त्यसपछि हाईकोर्टले यस विषयमा सीआईबी जाँचका लागि निर्देशन दिएको छ ।
रोचक त के छ भने भारतीय मिडियाहरूको समाचारमा बाबाको नेपाल कनेक्सनका बारेमा समेत उल्लेख छ । ‘वीरेन्द्रको भारतका अतिरिक्त नेपालमा पनि ठूलो आश्रम छ,’ दैनिक भाष्करको खोज रिपोर्टमा भनिएको छ । राजस्थानका अरविन्द शेखावतले वीरेन्द्रले नेपालको आश्रमलाई निकै पवित्र मान्ने गरेको बताएका छन् ।
शेखावतले भनेका छन्— नेपालमा भूकम्पका बेला अरू सबै कुरा ध्वस्त हुँदा उनको आश्रम मात्र जोगिएको थियो, त्यतिबेला नेपालको आश्रममा धेरै मानिसले शरण लिएका थिए । ‘त्यहाँ मानिसहरूलाई सबै सुविधा उपलब्ध गराइएको थियो,’ शेखावतले भनेका छन् । राजस्थानबाट बेपत्ता भएकी एक युवतीका परिवारका वकिल सत्येन्द्रसिंह राठौरले पनि वीरेन्द्र अहिले नेपालमै लुकेर बसेको आशंका गरेका छन् । यस्तै, नयाँदिल्लीस्थित बाबाको आश्रममा केही नेपाली महिलाहरू पनि रहेको आशंका गरिएको छ ।
आजतकले भने आफ्नो समाचारमा नेपालको राजधानी काठमाडौंको आसपासमा बाबाको आश्रम रहेको जनाएको छ । आजतकले भारत र नेपालमा गरी बाबाका २ सय आश्रम रहेको उल्लेख गरेको छ । दीक्षितको मुख्यालय भने राजस्थानमा छ, जहाँ उनी अधिकांश समय बिताउँछन् ।
को हुन् वीरेन्द्रदेव ?
वीरेन्द्र उत्तरप्रदेशमा जन्मिएका हुन् । सन् १९९५ मा उनको बुवासँग विवाद भएको थियो । त्यसपछि उनी घर छोडी हिँडेका थिए । सन् १९८४ मा आफ्ना पिताको निधन भएपछि उनी गाउँ फर्किए र पैतृक जमिनमा केही स्थानीय बासिन्दाको सहयोगमा आध्यात्मिक कार्यक्रम सुरु गरे । केही समयपछि उनले त्यहाँ आश्रम स्थापना गरे । १९९८ मा उनले चलाएको आध्यात्मिक ईश्वरीय विश्वविद्यालय पहिलो पटक चर्चामा आएको थियो । त्यही वर्ष उनीमाथि एक युवतीमाथि बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भयो । आफूलाई भगवान् बताउने वीरेन्द्रले उत्तर प्रदेशको फरुखावादस्थित आश्रममा आध्यामिक युनिभर्सिटी निर्माण गर्ने योजना अघि बढाएका थिए । समाचारमा जनाएअनुसार भारतका विभिन्न अदालतमा उनीमाथि बलात्कार, बन्धक बनाएको, अश्लीलता फैलाएको तथा महिलाहरूलाई घरबाट टाढा राखेको जस्ता ११ वटा मुद्दा दर्ता छन् ।
यसरी पुग्यो अदालत
दैनिक भाष्करकाअनुसार राजस्थानकी एक महिला वीरेन्द्रदेव आश्रमकी अनुयायी थिइन् । उनले आफ्ना चारवटै छोरीलाई भक्तिका लागि त्यहाँ छोडिन्, तीमध्ये एक नाबालिग थिइन् । ती बालिकाले आफ्नी आमालाई बाबाले आफूमाथि बलात्कार गरेको बताइन् । त्यसपछि ती महिला तथा उनका श्रीमान्ले बाबाविरुद्ध बलात्कारको मुद्दा दर्ता गरे ।
आश्रममा नाबालिक बालिका तथा महिलाहरूलाई बन्धन बनाएर सेक्सुअल ह्यारेसमेन्ट गरेको आरोपमा एक एनजीओले अदालत गुहारेको थियो । अदालतले उक्त घटनालाई गम्भीर बताउँदै महिला आयोगलाई जाँच गर्न आदेश दियो । आवश्यक कारबाहीपछि अघिल्लो बुधबार आयोगले आफ्नो रिपोर्ट हाईकोर्टलाई बुझाइसकेको छ ।
अतिरिक्त मुख्य न्यायाधीश गीता मित्तल तथा न्यायाधीश हरिशंकरले यो रामरहिमको जस्तै केस हो भन्दै यसको सिआइबी जाँच गर्नुपर्ने बताएका छन् । यसअघि वीरेन्द्रका शिष्यहरूले आश्रममा छापा मार्न गएको टिमलाई अघि बढ्न अवरोध खडा गरेका थिए । उक्त छापाबाट बाबाका अश्लील भिडियो तथा पुस्तकहरूसहित कैयौं आपत्तिजनक सामान फेला पारिएको भाष्करले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
गोपिनी भन्दै सम्बन्ध
टोलीले हात पारेको भिडियो सामग्रीलाई उद्धृत गर्दै भाष्करले जनाएअनुसार वीरेन्द्र आफूलाई भगवान् श्रीकृष्णको अवतार बताउँथे र गोपिनीका रूपमा युवतीहरूलाई सम्बन्ध बनाउन राजी बनाउँथे । आश्रममा युवतीहरूलाई पाँच दिनसम्म एउटै कोठामा बन्द राखिन्थ्यो । त्यसपछि बाबाको भिडियो देखाएर उनीहरूको ‘ब्रेनवास×’ गरिन्थ्यो । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति जयहिन्दका अनुसार त्यहाँ महिलाहरूलाई नशालु औषधीसमेत दिइन्थ्यो ।
अनुसन्धानका क्रममा त्यहाँ रहेका महिलाहरूले आफूहरूले आश्रममा दीक्षा लिइरहेको बताएका थिए, तर त्यहाँ कुनै धार्मिक ग्रन्थ फेला परेनन् । त्यहाँको एउटा तल्लामा लेखिएको थियो— तपाईंसँग कसैले कस्तो हुनुहुन्छ भनेर सोधे भन्नु— ठीक छु र खुसी छु । आश्रममा छिमेकीहरूलाई उद्धृत गर्दै भाष्करले लेखेको छ, ‘त्यहाँ युवतीहरू रात–बिरात आउने–जाने गर्थे । त्यहाँ सेक्स र्याकेट चलाइएको थियो भने बढी उमेरका महिलाहरूलाई आश्रमबाट बाहिर निकालिन्थ्यो । त्यहाँ कैयांै राज्यका महिला थिए, जसमध्ये मुख्यतया उडिसा, बंगाल, कर्नाटक, तमिनाडु, उत्तर प्रदेश तथा राजस्थानका छन् ।’
अदालतमा दायर एक याचिकालाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार आश्रममा दीक्षा दिने बहानामा नाबालिग किशोरीहरू ल्याइन्थ्यो । तिनका अभिभावकहरू प्रत्येक महिना आवश्यक खर्च समेत पठाउँथे । १८ वर्ष पुगेपछि युवतीलाई एउटा कागजमा हस्ताक्षर गराइन्थ्यो, जसमा आफू स्वेच्छाले त्यहाँ बसिरहेको कुरा उल्लेख गरिएको हुन्थ्यो ।
आश्रमको पाँचौं तल्लामा जस्तापाताको छानो लगाइएको टहराजस्तो कोठा छ, जहाँ अनुमति बिना कोही पनि जान पाउँदैनन् । त्यहाँ रहेको ध्यान केन्द्रबाट सबैतिर नजर राखिन्छ । महिलाहरू सुत्ने ठाउँमा पनि । दिल्ली महिला आयोगकी अध्यक्षले त्यो आश्रम, आश्रम नभएर छाउनी भएको बताएकी छिन्, जसको सबैतिर फलामका गेट छन् र त्यसमा सदैव ताला झुन्ड्याइएको हुन्छ । हाईकोर्टमा निवेदन दिएकी सीमा शर्माले बाबाले नशालु पदार्थ खाएर हरेक दिन १० जना युवतीसँग दुष्कर्म गर्ने दाबी गरेकी छिन् । एक प्रत्यक्षदर्शीले त बाबाले अन्डरवेयर मात्र लगाएर युवती तथा महिलाहरूबाट मालिस गराउने दाबीसमेत गरेका छन् ।
विलासी कारका सौखिन
बाबा वीरेन्द्रदेवसँग एकसे एक विलासी गाडी छन् । आश्रममा मर्सिडिज–अउडी समेत गरी नौवटा विलासी गाडी रहेको भारतीय टेलिभिजन आजतकले जनाएको छ । उनका अधिकांश कारको रंग कालो भएको बताइएको छ । छापा मार्ने क्रममा उक्त आध्यात्मिक युनिभर्सिटीको बेसमेण्टमा बनेको पार्किङबाट चार वटा कार बरामद भएका थिए ।
नेपाली महिला पनि शोषणमा
अहिले भारतीय मिडियामा वीरेन्द्रदेव दीक्षितको आश्रममा नेपाली युवतीहरू बन्धक बनाइएको चर्चा चर्कदै गएको छ । सेक्स र्याकेट चलाएको आरोपसमेत लागेका दीक्षित भने प्रहरी तथा महिला आयोगका अधिकारीहरूले आफ्नो आध्यात्मिक युनिभर्सिटीमा छापा मारेलगत्तैदेखि फरार छन् । बाबाको दिल्लीस्थित युनिभर्सिटी रहेको भनिएको आश्रममा नेपाली युवतीहरू पनि रहेको भन्दै त्यहाँ पुगेका केही नेपालीलाई एबीपी र स्टार न्युजले आफ्नो समाचारमा देखाएका थिए । बाबाको आश्रममा बन्धक बनाइएकी भनिएकी एक नेपाली युवतीका दाइ र आमा ती युवतीलाई खोज्दै आश्रममा पुगेका थिए ।
‘उनलाई त्यहाँ बन्धक बनाएर राखिएको आशंका हामीलाई छ,’ घर र परिचय उल्लेख नगरिएका ती नेपालीले एबीपीसँग भनेका छन्, ‘हामीलाई केही मिनेट मात्र भेट्न दिइयो । त्यहाँ अरू धेरैलाई बन्धक बनाइएको हुन सक्छ ।’ आफ्नी श्रीमतीसहित छोरी भेट्न पुगेका एक जना वृद्धले आफू बाबाको सेवा गर्न नेपालबाट आएको प्रतिक्रिया एबीपीलाई दिएका छन् । उनले पनि आश्रम रहेकी आफ्नी छोरीसँग भेट्न नेपालबाट पटक–पटक आएको तर सफल हुन नसकेको प्रतिक्रिया दिएका छन् । यसले केही नेपाली महिला पनि बाबा वीरेन्द्रदेवको शोषणको सिकार भएको हुन सक्ने कुरालाई बल पुर्याएको छ ।