म १८ वर्षीय युवक हुँ । मेरो लिंग पहिलेको भन्दा अति नै घटेको छ र यौनसम्बन्धमा पनि वीर्य नखस्ने तथा सानो पेट दुख्ने समस्या छ । यो समस्याको समाधान के होला ? लिंग सानो हुनु कुनै गम्भीर समस्याको संकेत त होइन नि ?
-८६७३
लिंगको संरचना र मापन
कैयौं किशोर तथा युवाहरूलाई आफ्नो लिंगको आकार वा लम्बाइका बारेमा पीर परेको हुन्छ । पर्याप्त जानकारी नहुँदा उनीहरू अलमल र अन्योलमा पर्छन् । त्यसैले लिंगको कार्य तथा बनावटका सम्बन्धमा केही कुरा गरौं ।
लिंग पुरुषको प्रमुख प्रजनन अंग हो र यो शरीरको बाहिरबाटै देखिन्छ । प्रजनन अंगका रूपमा यसको प्रमुख कार्य वीर्य महिलाको योनिमा राख्नु हो । त्यसैले अरू बेला लुलो भए पनि यौन उत्तेजनाका बेला यो अंग मोटो, ठूलो र कडा हुन्छ, जसले गर्दा वीर्य योनिमा राख्न सजिलो हुन्छ । यस्तो विशेष कार्य गर्नुपर्ने भएकाले यसको संरचना पनि विशेष किसिमले नै बनेको हुन्छ र यसमा विशेष स्पञ्जजस्तै तन्तु हुन्छन्, जसमा रगत भरिएपछि लिंगले उत्तेजना प्राप्त गर्छ । लिंग संरचना बाहिर देखिने जतिमा मात्र सीमित हुँदैन । लिंगको विभिन्न भागको कुरा गर्दा यसको जरा भित्रतिर (-root of penis-radix) हुन्छ, जुन जघनास्थी बीचमा दगदि या bulb of penis र दुवैतिर crus या penis का रूपमा जोडिएका हुन्छन् । लिंगको अर्को भाग body (shaft) of penis या penis हो जुन हामीले बाहिरैबाट देख्न सक्छौं र यही भागको सबैभन्दा बाहिरपट्टि केही फुकेको भाग हुन्छ जसलाई हामी नबिलक glans penis अर्थात् लिंग मुण्ड भन्छौं ।
लिंगको नाप कसरी लिने ?
सर्वप्रथम नाप्न आवश्यक सामग्री रुलर (स्केल) वा नाप्ने फित्ताको व्यवस्था गर्नुहोस् । उत्तेजित लिंगको नाप लिन सर्वप्रथम लिंगलाई पूर्ण उत्तेजनामा ल्याउनुपर्छ । लम्बाई नाप्न लिंगको फेद (base) अर्थात् लिंग शरीरमा टाँसिएको स्थान) मा राख्नुहोस् र जघनास्थी (pubic bone) मा थिचेर उत्तेजित लिंगको समानान्तर राख्दै लिंगमुण्डको टुप्पो सम्म नाप लिनुहोस् । यही नै लिंगको लम्बाई हो । जघनास्थीमा राम्रोसँग नथिची नाप लिँदा विशेष गरेर मोटो व्यक्तिको छालामा बोसो हुने हुँदा लिंग वास्तविक लम्बाइभन्दा छोटो लाग्न सक्छ ।
लिंगको मोटाइ नाप्न लचिलो नाप्ने फित्ताले उत्तेजित लिंगको बीचतिर (shaft) को सबैभन्दा मोटो भागलाई बेर्नुहोस् र नाप लिनुहोस् । यो नै लिंगको मोटाइ हो । तपाईंसँग लचिलो नाप्ने फित्ता छैन भने कुनै पातलो डोरीले नापेर रुलरमा कति छ हेर्न सक्नु हुन्छ ।
लिंग किन सानो भएको होला ?
किशोरावस्थामा विभिन्न हार्मोनको प्रभावमा लिंगको वृद्धि हुन थालेपछि वयस्कको जत्रो भएपछि मात्र यसको वृद्धि रोकिन्छ र सामान्य अवस्थामा लिंगको यो नाप वयस्क उमेरभरि नै रहन्छ । तपाईंले बुझिसक्नुभएको हुनुपर्छ, किशोरावस्थामा सामान्यत: लिंगको नाप कम हुँदै जाने स्थिति हुँदैन ।
तपाईंले आफ्नो लिंग सानो भएको कुरा गर्नुभए पनि आफ्नो लिंग सानो भएको कसरी थाहा पाउनुभयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । तपाईंले हेरेकै आधारमा वा कसैले भनेकै आधारमा लिंग सानो भयो भन्न सकिने कुरा हुँदैन । तपार्इंले कसरी लिंगको लम्बाई वा मोटाइ नाप्नुभयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । आशा गर्छु, तपाईंले माथि उल्लेख गर्नुभएझैँ आफ्नो लिंग नाप्नुभएको थियो र पुन: त्यही तरिकाले नै नाप्दा फरक अर्थात सानो भएको पाउनुभयो भने मात्र लिंगको नापमा केही फरक आएको भन्न सकिने स्थिति हुन्छ ।
विशेष गरेर किशोरावस्थामा लिंग सानो भएजस्तो लाग्ने स्थिति अधिक मोटोपनका कारणले हुन्छ । यस्तो स्थितिलाई buried penis भनिन्छ । यस्तो स्थितिमा लिंग body (shaft) of penis शरीरको अधिक बोसोमै धसिएको स्थिति हुन्छ र बाहिरबाट लिंग सानो देखिन्छ । यो स्वास्थ्यका दृष्टिले खासै गम्भीर मान्नुपर्ने स्थिति होइन, तै पनि पिसाब फेर्दा असजिलो हुने, अग्रचर्मको संक्रमण हुनेदेखि पिसाबको धारालाई आफूले चाहेको स्थानमा पार्न नसक्ने जस्ता समस्या सिर्जना हुन्छन् र लिंगको सरसफाइमा केही असजिलो हुन्छ, तर यो समयका साथ आफैं ठीक हुने भएकाले विशेष उपाचारको आवश्यकता पर्दैन । अर्कातिर किशोरावस्थामै अत्यधिक मोटोपनको सिकार हुनुका आफ्नै समस्या हुन्छन् भन्ने कुरा समेत बिर्सनु हुँदैन ।
यसबाहेक अन्य केही स्थितिमा लिंग छोटो भएको हुन सक्छ । विशेष गरेर चोटपटक लाग्नु अनि Peyronie’s disease जसमा लिंगमा बाङ्गोपन पनि आउँछ कारण हुन सक्छ । पौढ व्यक्तिमा पौरुष ग्रन्थिको क्यान्सरको उपचारमा गरिने शल्यक्रियाले पनि लिंग छोटो बनाउन सक्छ, तर तपाईंमा यी सबै हुने स्थिति नभएको कुरा तपाईंको प्रश्नबाटै बुझ्न सकिन्छ ।
समाधानका लागि के गर्नुपर्ला ?
समस्याको समाधानका लागि सर्वप्रथम त तपाईंको लिंग वास्तवमै सानो हुँदै गएको हो कि होईन पक्का गर्नुपर्छ । मोटोपनका कारणले तपाईंलाई आफ्नो लिंग सानो जस्तो लागेको पनि हुनसक्छ । यस्तो स्थितिमा अनावश्यक चिन्ताले फाइदा गर्दैन । त्यसबाहेक अन्य केही कारण हो कि होइन भनेर पत्ता लगाउन चिकित्सकीय परीक्षण गराउनुपर्छ ।
अन्त्यमा एउटा कुरा के भनौं भने तपाईंले पहिलेको जस्तो लिंग उत्तेजना नभएको कुरालाई यहाँ मिसाउनुभएको त होईन ? यदि त्यसो हो भने लिंग उत्तेजनाका आ–आफ्नै कारण र समाधान हुन्छन् । यस विषयमा केही जिज्ञासा छ भने प्रश्न पठाउन नबिर्सनुहोला ।