साप्ताहिक संवाददाता
सिंगापुरको इन्फिनिटी स्टुडियोले ‘अस्कर इन्टरनेसनल फिल्म कलेज’का ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । स्टुडियोले बुधबार कलेज परिसरमै आयोजित कार्यक्रममा स्टुडियो प्रतिनिधि ‘स्यु मो’ले छात्रवृत्ति पाउने विद्यार्थीको नाम घोषणा गरेकी थिइन् ।
यो वर्ष निपिल शर्मा, दिवस अम्गाइँ, बबिन दुलाल, आशिष लिम्बू र सन्दीप श्रेष्ठले छात्रवृत्ति पाउने भएका छन् । छात्रवृत्ति वापत उनीहरूले जनही ३५ हजार रुपैंया प्राप्त गर्नेछन् ।
अस्कर कलेज र इन्फिनिटी स्टुडियोले अघिल्लो वर्षबाट विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता गरेको थियो । अघिल्लो वर्ष कलेजका विद्यार्थीहरू अमेश भण्डारी, रिजन गजुरेल, मार्टिन भण्डारी, अंकित पौडेल र इशान भुसालले उक्त छात्रवृत्ति पाएका थिए ।
कार्यक्रममा बोल्दै स्यु मोले छात्रवृत्तिको रकम थोरै भए पनि यसले विद्यार्थीमा उर्जाको काम गर्ने बताइन् ।
‘हामीलाई थाहा छ, हामीले दिएको पैसा ठूलो होइन तर यसले विद्यार्थीलाई उत्प्रेरित गरोस् भन्ने हाम्रो चाहना हो । हामी आउँदो दिनमा पनि अस्कर कलेजसँग सहकार्य गर्न ईच्छुक छौं,’ मोले भनिन् ।