सौराहामा आयोजित १४ औं चितवन हात्ती महोत्सव शनिबार सम्पन्न भएको छ । महोत्सव अवधिभर नेपाली तथा विदेशी दर्शकको भिड हेर्न लायक थियो । यो महोत्सवका क्रममा हात्तीहरूबीच विविध प्रतियोगिता सञ्चालन भए । क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै आयोजित महोत्सवमा दर्शकले हात्तीका सबै खेल मन पराए । छावाहरूबीचको फुटबल प्रतियोगितामा सिजी फुड्सले कुमारी बैंकलाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै उपाधि आफ्नो पोल्टामा पार्यो । हात्तीपोलो प्रतियोगिताको उपाधि माउन्ट एभरेस्ट गु्रपले मेघा बैंकलाई ६–३ गोल अन्तरले हराउँदै आफ्नो पक्षमा पारेको थियो ।
हात्ती दौडमा भने टुरिज्म बैंकबाट प्रतिनिधित्व गरेको लक्कीकली हात्तीले उपाधी जित्यो । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको उक्त दौड प्रतियोगितामा अन्य ५ हात्तीलाई पछि पार्दै लक्कीकलीले उपाधि जितेको हो । दोस्रो स्थानमा हिमालय सोसल जर्नीबाट प्रतिनिधित्व गरेको एकताकली तथा कोकाकोला कम्पनीबाट प्रतिनिधित्व गरेको अनारकलीले तेस्रो स्थान हात पारे । यो दौडमा २० वटा हात्तीको सहभागिता थियो ।
‘हात्ती सुन्दरी’ प्रतियोगितामा पाँचवटा हात्तीको सहभागिता थियो । निर्णायकले हात्तीको नङ, सुड, कान मात्र हेरेनन्, रेखदेखमा खटिने माहुतेसँग स्याहार/सुसारका सम्बन्धमा प्रश्नसमेत सोधे । दर्शकको रोजाइमा पर्न तथा निर्णायकको ध्यान खिच्न सफल पार्क साइड होटलको ३८ वर्षको पूजाकलीले हात्ती सुन्दरीको उपाधि हात पार्यो । त्यस्तै होटल राईनो ल्यान्डको पुष्पाकली फस्ट रनर्सअप तथा होटल वाइल्ड लाइफ क्याम्पको बिजुलीकलीले सेकेन्ड रनरर्सपको उपाधि जिते ।
क्षेत्रीय होटल संघ नेपाल सौराहाद्वारा आयोजित महोत्सवमा हात्तीबीच पेन्टिङ प्रतियोगिताको समेत सञ्चालन गरियो । उता राप्ती किनारमा दर्शकको झुन्डमा गरिएको हात्ती स्नानले सबैको ध्यान तान्यो । पुस ११ देखि १५ गतेसम्म चलेको महोत्सवमा यसपटक हात्तीका क्रियाकलाप मात्र समावेश थिए ।