साप्ताहिक संवाददाता
बलिउडको वर्ष–२०१७ अचम्मको छ । एकातिर जहाँ अत्यन्त ठूलो प्रोजेक्ट मानिएको चलचित्र बाहुबली–२ को कीर्तिमानी प्रदर्शन भयो, त्यहीँ सलमान खान, शाहरूख खान, रणबीर कपूर तथा अजय देवगण जस्ता सुपरस्टारका चलचित्रले असफलताको स्वाद चाख्नु पर्यो ।
समग्रमा मूल्यांकन गर्ने हो भने वर्ष–२०१७ बलिउडका लागि खराब रह्यो । रंगुन, जब हेरी मेट सेजल, ट्युबलाइट, शेफ, भूमि, राब्ता, जग्गा जासुस जस्ता चलचित्र यति नराम्रोसँग असफल हुनेछन् भन्ने कुरा कसैले कल्पनासमेत गरेका थिएनन् ।
वर्ष–२०१७ मा दर्शकहरूको मनोभावसमेत परिवर्तनशील देखियो । दर्शकहरू अब पहिलेदेखि नै यो चलचित्र हलमा हेर्ने, यो चलचित्र युट्युबमा हेर्ने अनि यो चलचित्र चाहिँ टेलिभिजनमा आएपछि मात्र हेर्ने भन्ने निर्णय गर्न थालेका छन् । चलचित्र राम्रो होस् अथवा नराम्रो, दर्शकले चलचित्र प्रदर्शन हुनुभन्दा अघि नै यस्तो निर्णय गर्न थालेपछि चलचित्रको व्यवसायमा प्रत्यक्ष प्रभाव परेको हो ।
सिनेमा हलको बढ्दो टिकट शुल्क पनि चलचित्रप्रतिको विकर्षणको एउटा कारण हो, यद्यपि वर्ष–२०१७ मा सिनेमा हलप्रति दर्शकको उदासीनता निकै बढेको पाइयो । स्क्रिनको आकारले अब महत्वपूर्ण भूमिका निर्वाह गर्न छाडेको छ । मोबाइलको पाँच इन्चको स्क्रिनबाट समेत दर्शकले उत्तिकै आनन्द लिन थालेका छन् । टेलिभिजनका दर्जनौं च्यानलबाट हरेक दिन प्रसारण हुने सयौं चलचित्र घरमै बसेर हेर्न सकिने उत्तम विकल्प दर्शकहरूसँग छ । इन्टरनेटको अर्को सशक्त माध्यम पनि दर्शकसँग छ ।
पाइरेटेड चलचित्र प्रदर्शन भएकै दिन उपलब्ध हुन थालेका छन् । यस्तो अवस्थामा सिनेमा हलमा गएर चलचित्र हेर्ने दर्शकको संख्या प्रत्येक वर्ष घटिरहेको छ । यिनै कारणले वर्ष–२०१७ मा बलिउडलाई नराम्रो झट्का लागेको हो ।
वर्षका ब्लकबस्ट चलचित्र
वर्ष–२०१७ मा अचम्मको कुरा के भयो भने चलचित्र बाहुबली–२ ले सर्वाधिक व्यवसाय गर्यो, जुन एउटा डविङ चलचित्र थियो । बाहुबली–२ को आम्दानीले बलिउडका निर्माताहरूको समेत होस उडाइदियो । चोपडा तथा जौहर जस्ता निर्माता, जो आफ्नो सफलताप्रति घमन्ड गर्छन्, यो दक्षिण भारतीय चलचित्रको सफलताको सामुन्ने आफैंलाई होचो अनुभव गर्न बाध्य भए, खान–कुमार तथा रोशनहरूले समेत आफ्नो उचाइ घटेको अनुभव गरे ।
बाहुबली–२ मा बलिउडका कुनै पनि स्टार थिएनन्, न कुनै गीत नै लोकप्रिय भएको थियो, न यसका कलाकार कुनै रियालिटी शो तथा सहर अनि मलहरूमा देखिए । यी सबै कुरा नहुँदासमेत यो चलचित्रले ऐतिहासिक सफलता हासिल गरेर सम्पूर्ण समीकरणलाई ध्वस्त पारिदियो । चलचित्रको हिन्दी संस्करणले मात्र करिब ५ सय ११ करोड भा.रु. बराबरको व्यवसाय गर्यो ।
यो तथ्यांकसम्म अहिलेसम्म कुनै पनि हिन्दी चलचित्र पुग्न सकेका छैनन् । सम्पूर्ण संस्करण मिलाएर यो चलचित्रले १ हजार ५ सय करोड भारुभन्दा बढीको व्यवसाय गर्यो । यसबाट के प्रमाणित हुन्छ भने यदि चलचित्र क्लिक भयो भने व्यवसाय पनि ऐतिहासिक हुन सक्छ । वर्ष–२०१७ मा बाहुबली–२ बाहेक अन्य कुनै पनि चलचित्र ब्लकबस्टर भएनन् । वर्षको अन्त्यमा सलमान खानको टाइगर जिन्दा हैबाट केही आशा गरिएको छ ।
सुपरहिट चलचित्र
रोहित शेट्टीको चलचित्र गोलमाल अगेनले २ सय करोड (भारु) भन्दा बढीको व्यवसाय गर्यो । यसबाट निर्देशक शेट्टीले पुन: एक पटक आफू दर्शकको मनोभाव अध्ययन गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित गरिदिए ।
अक्षय कुमारको ट्वाइलेट एक प्रेम कथा तथा जोली एलएलबी–२ पनि सुपरहिट भए । कम बजेटका कारण पनि यी दुबै चलचित्र सुपरहिटको श्रेणी प्राप्त गर्न सफल भएका हुन् । यी दुवै चलचित्रले सवा सय करोड भारुबराबरको व्यवसाय गरे । अक्षय कुमारले पृथक शैलीका चलचित्रमा अभिनय गरेर सफलता हासिल गरे । वर्षको अन्त्यतिर प्रदर्शन भएको चलचित्र फुकरे रिटन्र्स पनि सुपरहिट भयो । उक्त चलचित्रमा नाम चलेका कलाकारहरू थिएनन्, यद्यपि दर्शकले यसलाई मन पराए । ब्रान्ड फुकरे अहिले स्थापित भैसकेको छ । त्यसो त बरुण धवनको बद्रीनाथ की दुल्हनियाँलाई पनि सुपरहिट चलचित्रकै श्रेणीमा राख्न सकिन्छ ।
हिट चलचित्र
जुडवा–२ बाहेक हिट चलचित्रको सूचीमा पर्न सफल चलचित्र आफ्ना विषयवस्तुका कारण मात्र सफल हुन सके । जुडवा–२ लाई मसाला चलचित्रकर्मी डेविड धवनले सम्पूर्ण मसला समावेश गरेर निर्माण गरेका थिए । सीक्रेट सुपरस्टार, तुम्हारी सुलु, न्यूटन, शुभमंगल सावधान, लिपस्टिक अण्डर माई बुरका तथा हिन्दी मिडियम जस्ता चलचित्र पनि हिट भए । यी चलचित्रको सफलताले के कुरा स्पष्ट पार्छ भने राम्रा चलचित्रका लागि दर्शकहरू अझै पनि सिनेमा हलसम्म आउन सक्छन् । खासगरी ठूला शहरका मल्टिप्लेक्सहरूमा यी चलचित्रको व्यवसाय उत्कृष्ट रह्यो ।
औसत चलचित्र
यो श्रेणीमा सहभागी चलचित्रले लगानीभन्दा केही बढी आम्दानी गरे । केही चलचित्रलाई सेटेलाइट राइटले बचायो, जस्तो चलचित्र इत्तेफाक । रइस तथा काबिल जस्ता ठूला कलाकारका चलचित्र पनि यो श्रेणीमा छन्, किनभने यी चलचित्रका निर्माताले त प्रसस्त आम्दानी गरे, तर केही वितरक घाटा सहन बाध्य भए । सचिन : ए बिलियन ड्रीम्स जस्तो डकूड्रामा पनि औसत रह्यो । बरेली की बर्फी, मम, द गाजी एट्याक (डब) तथा हाफ गर्लफ्रेण्डले राम्रो सुरुवात गरेका थिए, यद्यपि त्यसले निरन्तरता पाएन ।
असफल चलचित्र
वर्ष–२०१७ मा प्रदर्शन भएका बलिउड चलचित्रमध्ये असफल चलचित्रको सूची निकै लामो छ । यहाँ त्यस्ता केही चलचित्रको चर्चा गरिएको छ, जसबाट निकै आशा गरिएको थियो । शाहरूख खानको जब हेरी मेट सेजल नराम्रोसँग असफल भयो । रणबीर कपूरको जग्गा जासुसलाई पनि दर्शकले मन पराएनन् । सबैभन्दा बढी आश्चर्य त सलमान खानको ट्युबलाइटले गर्यो ।
सलमानले नाफा कमाए, तर वितकरहरूलाई घाटा भयो । सानो पर्दाका ठूला कलाकार कपिल शर्माको फिरंगी सामान्य चलचित्र सावित भयो । रंगुन तथा राब्ता जस्ता चलचित्रको असफलताले त त्यसमा आबद्ध व्यक्तिहरूलाई नराम्रो पीडा दियो ।
मुन्ना माइकल तथा ए जेन्टलमेन पनि नराम्रोसँग चिप्लिए । महिला प्रधान चलचित्र बेगम जान, हसीना पारकर, सिमरन, नूर, नाम शबाना, अनारकली अफ आरा, फिल्लौरी आदि चलचित्रले पनि दर्शकको मन जित्न सकेनन् । ८० तथा ९० को दशकका सुपरस्टार सनी देओल (पोस्टर ब्वाइज), सञ्जय दत्त (भूमि) तथा गोविन्दा (आ गया हिरो) का चलचित्रलाई पनि दर्शकले माया गरेनन् । सुपरस्टारहरूको भीड रहेको चलचित्र बादशाहो पनि असफल भयो । करिब–करिब सिंगल, बैंक चोर, सरकार–३, मेरी प्यारी बिन्दु, कैदी ब्याण्ड, ओके जानूलाई पनि दर्शकले पत्याएनन् । प्रियंका चोपडा तथा दीपिका पादुकोणका हलिउड चलचित्रलाई समेत दर्शकहरूले वास्ता गरेनन् ।
पर्दाका परीहरू
बलिउडमा अभिनेत्रीहरूको आफ्नै स्थान, महत्व तथा आवश्यकता छ । यद्यपि बलिउडले लामो समयदेखि नयाँ स्टार अभिनेत्री पाएको छैन । प्रियंका चोपडा हलिउडमा व्यस्त छिन् । यो वर्षको उनको एउटा मात्र हलिउड चलचित्र प्रदर्शनमा त आयो, तर असफल भयो । करीना कपूर खान आमा बनिसकेकी छिन् । उनी अचेल निकै कम चलचित्रमा काम गरिरहेकी छिन् ।
दीपिका पादुकोणको अधिकांश समय पद्यमावतीमै बित्यो, यद्यपि उक्त चलचित्र यो वर्ष प्रदर्शनमा आउन सकेन । कट्रीना कैफले यही स्थितिको फाइदा उठाइरहेकी छिन् र पुन: एक पटक आफ्नो करियरलाई सुदृढ बनाएकी छिन् । ज्याकलिन फर्नान्डिज केवल ग्ल्यामर डलका रूपमा परिचित छिन् । आलिया भट्टले आफ्नो यात्रालाई सुस्त बनाएकी छिन् । कृति सेननले बरेली की बर्फीमार्फत करियरमा मिठास हासिल गरिन् । भूमि पेडनेकरले दुईवटा सफल चलचित्र दिइन् । त्यसले उनलाई फाइदा पुर्याउने निश्चित छ ।
सोनाक्षी सिन्हाको खराब यात्रा जारी छ । विद्या बालन त्यस्ता चलचित्रमा मात्र अभिनय गर्छिन्, जसमा उनको लायक केही कुरा हुन्छ । विद्याको तुम्हारी सुलु सफल रह्यो । अनुष्का शर्माको करियरमा यो वर्ष खासै उपलब्धि देखिएन । विवाह गर्नुनै उनको सबैभन्दा ठूलो उपलब्धि मानियो । श्रद्धा कपूरका तीन चलचित्र प्रदर्शनमा आए, तर ती चलचित्रले उनलाई कुनै पनि प्रकारको फाइदा दिएनन् । कंगना रणावतको स्पष्टवक्ताको छविले पनि उनका चलचित्रलाई डुब्नबाट जोगाउन सकेन । रिचा चड्ढाले फुकरे रिटन्र्समार्फत ठूलो सफलता हासिल गरिन् ।
स्टारको चमक
ट्युबलाइट फ्यूज भएपछि सफलताको उचाइमा रहेका सलमान खानले झट्का खाए । उनले पनि के कुरा बुझे भने स्टारडमको नाममा जस्तो पायो त्यस्तो चलचित्र दियो भने असफलता मात्र हात लाग्छ । शाहरूख खानको स्टार छविलाई रइस तथा जब हेरी मेट सेजलको असफलताले धक्का दियो । आमिर खानले सीक्रेट सुपरस्टारमा छोटो भूमिका निर्वाह गरेर दर्शकको मन जिते । रितिक रोशन सक्षम छन्, तर काबिलले सफलता पाएन । अक्षय कुमारको चम्किलो अभिनय यात्रा दुई सुपरहिट चलचित्रका कारण यो वर्ष थप एकदम अघि बढ्यो ।
अजय देवगणले लामो समयपछि गोलमाल अगेनका रूपमा सफलता हात पारे । बादशाहोंको असफलताबाट भने उनी निराश भए । युवा स्टारमध्ये वरुण धवनले आफ्नो उचाइ अझ अग्लो बनाए । उनले अभिनय गरेका जुडवा–२ तथा बद्रीनाथ कि दुल्हनियाँ सफल रहे । अहिले उनको माग अझ बढ्न थालेको छ । रणबीर कपूर र सफलताका बीच ३६ को आँकडा चलिरह्यो । यो वर्ष रणबीर सिंहका कुनै पनि चलचित्र प्रदर्शन भएनन् ।
सिद्धार्थ मल्होत्रा तथा अर्जुन कपूरले खासै चमत्कार गर्न सकेनन् । मुन्ना माइकलले टाइगर श्राफलाई पनि झट्का दियो । राजकुमार राव तथा आयुष्मान खुरानाहरूले पनि अचेल सफल चलचित्र दिन थालेका छन् । इरफान खान तथा नवाजुद्दीन सिद्दीकीको सम्भावना पनि जीवितै छ । उनीहरू कलाकारबाट स्टार बन्ने मार्गमा हिँड्न थालेका छन् । सैफ अली खान, शाहिद कपूर, सुशान्त सिंह राजपूत, आदित्य राय कपूर, फरहान अख्तर, इमरान हाशमी आदि अभिनेताहरूको स्थिति कमजोर हुँदै गयो । सनी देओल, सञ्जय दत्त, गोविन्दा आदि पुराना अभिनेता यो वर्ष थकित देखिए ।