साप्ताहिक संवाददाता
अभिनेत्रीका रूपमा चलचित्रमा आउनुअघिदेखि नै म विदेशतिर घुमिरहन्थें । सन् २००५ मा मिस टिन भएपछि विदेश घुम्ने अवसर थप वृद्धि भयो ।
टेलिभिजन शोमा होस्ट तथा केही म्युजिक भिडियोमा अभिनय गरेपछि म उच्च शिक्षाका लागि अमेरिका पुगेँ । त्यतिबेला मैले त्यहाँ मनाइने चाडपर्व तथा न्यू इयर इभको रौनक पहिलो पटक राम्रोसँग नियाल्ने अवसर पाएँ ।
चलचित्रमा आएपछि व्यस्तताका बाबजुद म विदेशतिर घुमिरहन्छु । कहिले चलचित्र छायांकनका लागि त कहिले कार्यक्रमको सिलसिलामा विभिन्न मुलुक पुग्दा रमाइलो पनि हुन्छ । घुम्दाघुम्दै कहिलेकाहीँ उताको नयाँ वर्षको रमझममा सामेल हुन पाइन्छ । रमाइलो गर्न र घुम्न मन पराउने मलाई नयाँ वर्षको रमझममा समय बिताउन निकै मज्जा लाग्छ ।
म अहिलेसम्म अमेरिका, बेलायत, मलेसिया, युएई, कतार, अस्ट्रेलिया आदि देश बारम्बार पुगिसकेकी छु । कतिपय अवस्थामा त्यहाँको न्यू इयरको रमाइलो नजिकबाट नियालेकी पनि छु ।
मैले अहिलेसम्मकै सबैभन्दा बेस्ट न्यू इयर गत वर्ष अमेरिकाको न्युयोर्कमा मनाएँ । मेरो भाइ प्रनित कार्की उतै बस्छ । मैले नौ वर्षपछि ऊसँग न्यू इयर सेलिब्रेट गर्ने अवसर पाएँ ।
भाइलाई म नेपाली चलचित्रकी अभिनेत्री भैसकेँ भन्ने थाहा छ, तर मेरा फ्यान फलोअर्स र चर्चाका बारेमा भने ऊ अनभिज्ञ रहेछ ।
न्यू इयरकै कार्यक्रमको सिलसिलामा म न्युयोर्क पुगेकी थिएँ । कार्यक्रममा भाइलाई पनि बोलाएँ । भाइ प्रनितले दिदीको चर्चा कति नै होला र ? को आउला र ऊसँग फोटो खिच्न भनेर सोच्दो रहेछ । जब शुभेच्छुक तथा प्रशंसकहरूले मलाई घेरेको, तस्बिर खिच्न थालेको र अत्यधिक भीड भएपछि आयोजकले सेक्युरिटी बोलाउनुपरेको दृश्य उसले प्रत्यक्ष देख्यो, अनि उसैले भन्यो कि पहिलो पटक मैले दिदीलाई स्टारका रूपमा देखें ।
न्यू इयर इभको त्यो रात हामी १२ बजेको काउन्टडाउनपछि बिहान ३ बजेसम्म नाच्यौं, पार्टी गर्यौं । त्यो न्यू इयर इभ मेरो जीवनको अहिलेसम्मकै सबैभन्दा रमाइलो न्यू इयर इभ थियो ।
प्रस्तुति : सुव्रत आचार्य