न्यूइयर इभ । पुस महिनाको चिसो साँझ तर अंग्रेजी नयाँवर्षको स्वागतमा तातेको पोखराको लेकसाइड । रात जति छिप्पिँदै छ त्यति नै दर्शकको भीड थपिँदैछ । कारण अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न आतुर छ यो भीड । लेकसाइडका सडकमा मात्र नभएर होटल, रेस्टुराँ तथा रिसोर्टहरूमा समेत नयाँ वर्षलाई स्वागत गर्न आतुर जमात उस्तै ।
नयाँ वर्षलाई अझ भव्य बनाउन रेवान पोखराले आयोजना गरेको १९ औँ सडक महोत्सव । सडकमै खाउँ, सडकमै नाचौं र सडकमै रमाउ भन्ने नाराका साथ रेवान, पोखराले बर्सेनि आयोजना गर्दै आएको यो महोत्सवमा पुगेर रमाउनेहरूको स्टाइल फरक–फरक । कोही विभिन्न परिकार खाँदै भने केही संगीतको तालमा रमाउँदै । यसरी रमाउनेमा कोही विदेशी पर्यटक, कोही स्वदेशी त बढीजसो पोखरा आसपासकै बासिन्दा ।
सहिदचोकबाट खहरेसम्मको सडकमा हिड्नेहरू उस्तै । झिलिमिली लेकसाइडमा मानव लस्कर, नजिकैको फेवातालमा देखिने मनोरम दृश्यले दिइरहेको नौलो अनुभूति । बेला–बेलामा भीडको चिच्याउटले गुञ्जिएको तरंग । कोही परिवारका साथमा, कोही आफ्नो जीवनसाथीका साथमा, कोही साथीहरूसँग त कतिपय एक्लै पनि । बाहुल्यता युवाको देखिए पनि स–साना नानीबाबुदेखि वृद्धवृद्धा पनि उत्तिकै ।
अन्य साँझ खाली हुने रेस्टुराँ, बार मात्र नभएर लेकसाइडको सडकमा स्थापित हरेक पसलमा मानिसहरूको भीड देख्दा स्वयं व्यवसायीहरू नै अचम्मित । होटल तथा रेस्टुराँको अकुपेन्सी ९५ प्रतिशत पुगेको दाबी गर्दै उत्साहित होटल व्यवसायी । खाएर रमाउने भन्दा पनि हेरेरै रमाइलो मान्नेहरूको कमी पनि थिएन त्यहाँ । गाला पार्टीका कारण होटल तथा रिसोर्टहरूमा समेत उस्तै भीड । विभिन्न मनोरञ्जक कार्यक्रमको आयोजना गरेर न्यू इयर इभमा रौनक थप्ने काम होटल तथा रिसोर्टहरूले गरेका थिए, जहाँ मदिराका साथमा बुफे डिनर र स्न्याक्स खाँदै रमाउनेहरूको तामझाम देखिन्थ्यो ।
लेकसाइडमा रहेका लाइभ म्युजिक, डिस्को, डिजे सेसन, डान्स क्लब आदिमा पुगेर रम्नेहरूको बेग्लै शैली । कतै स्थानीय व्यान्ड तथा कलाकारको प्रस्तुति त कतै पोखराभन्दा बाहिरका कलाकारमार्फत नयाँ स्वाद दिने प्रयास । कोही अनुहारमा विभिन्न पेन्टिङ कोर्दै रमाउँदै ।
सडकमा मात्र होइन, कोमागाने पार्कमा समेत थियो अझ ठूलो जमात, जहाँ महोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रम चल्दै थियो तर त्यहाँ प्रवेश गर्न भने शुल्क तिर्नुपथ्र्यो । सांगीतिक कार्यक्रममार्फत रातको १२ बजाउने र नयाँ वर्षको शुभकामना दिने तयारी थियो त्यहाँ । तिर्सना गुरुङ, नवीन के भट्टराई र उनको ब्यान्ड अतृप्तको प्रस्तुतिसँगै दार्जीलिङको ब्यान्ड मन्त्रसँग झुम्ने जमातलाई व्यवस्थापन गर्न आयोजकहरूलाई उस्तै सकस । मध्यरातमा गरिएको आतिसबाजी । आतिसबाजीका कारण देखिएको सुन्दर दृश्य, अनि आवाज जसले मध्यरातमा निद्रादेवीको काखमा जान खोजिरहेकाहरूलाई समेत पुन: ब्यँुताइ रहेको थियो ।
जब नयाँ वर्षलाई स्वागत गर्न आयोजित कार्यक्रमहरू सकिए । बिस्तारै लेकसाइडको दृश्यमा परिवर्तन देखिन थाल्यो । सबैलाई हतार थियो त्यहाँ । लाग्थ्यो निन्द्राबाट भर्खरै ब्युँझिएर हिँडेजस्तै । कोही चिसोले काम्दै थिए । कोही मदिराको तालमा जोस्सिँदै थिए । कोही भने झुपुझुपु गर्दै थिए । होटलमा बस्नेहरूलाई आफ्नो होटल पुग्न हतार । आफ्नै सवारी साधन लिएर गएकालाई सवारी भएको ठाउँमा पुग्न हतार । कोहि सवारी पाउने आशामा सवारी साधन खोज्न व्यस्त । कोही गन्तव्यमा पुग्न ट्याक्सी चालकहरूसँग बार्गेनिङ गर्दै । कोही चौरमै पल्टँदै । कोही भीडमा हराएका साथी कुर्दै । तस्बिर खिच्नेहरूको व्यस्तता भने निरन्तर जारी नै थियो । बिस्तारै लेकसाइडको भीड घट्दै गयो । रातको झन्डै दुई बजिसकेको थियो, तैपनि लेकसाइड पूर्ण रूपमा सुतिसकेको थिएन, जागा नै थियो ।