म २० वर्षकी भैसकें । हाल कक्षा ११ मा अध्ययन गर्दैछु । मेरो महिनावारी सुरु भएको छैन । सुरुमा त केही लाग्दैनथ्यो तर अहिले डर लाग्छ । मलाई धेरै चिन्ता लाग्छ, कतै म आमा बन्न नसक्ने हुँ कि ?
-कि.
सामान्यत: १३–१५ वर्षको उमेरसम्ममा हरेक किशोरीमा महिनावारी सुरु हुन्छ । यही उमेरसम्ममा महिनावारी सुरु हुनैपर्छ भन्ने छैन । तपाईंको उमेर २० वर्ष पुगेर पनि महिनावारी नहुनु सामान्य नहुन सक्छ । यद्यपि महिनावारी सुरु भएन भनेर आत्तिहाल्नु भने पर्दैन ।
महिनावारी नहुने यस किसिमको समस्यालाई प्राइमरी एमोनेरिया भनिन्छ । समयमा महिनावारी सुरु नहुने कारण थुप्रै छन् । महिनावारी गराउने तथा सन्तुलन कायम राख्ने संरचना (हाईपोथालामो–पिट्युटरी–ओभरिएन एक्सिस्) मा आएको सामान्य गडबडीले पनि महिनावारी रोक्न सक्छ ।
कसै–कसैमा क्रोमोजोमको खराबी, पाठेघर वा योनीमार्गको बनोट तथा विकासमा अवरोधले गर्दा पनि महिनावारी नभएको हुन सक्छ । कुन कारणले महिनावारी नभएको हो पत्ता लगाउनुपर्छ । महिनावारी नहुने सबै महिलाले सन्तान जन्माउन सक्छन् भन्न सकिँदैन, तर कारण पत्तालगाएर उपचार गरेको खण्डमा धेरैले सन्तान लाभ गर्न सक्छन् ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ,
मोरङ सहकारी अस्पताल