म २२ वर्षीया विवाहित महिला हुँ । मलाई कहिल्यै यौनसम्पर्क गर्न मन लाग्दैन । त्यसले गर्दा श्रीमानसँग झगडासमेत भैरहन्छ । यो कुनै रोग त होइन ? यो समस्या समाधान गर्न के गर्नुपर्ला ?
-८५६६
मानव यौनेच्छा
यौन चाहना मानव जीवनको अभिन्न पाटो हो । यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वभाविक शक्ति हो । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम (endocrine system) अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर ईन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीको पनि महत्वपूर्ण भूमिका हुन्छ । यौनेच्छा जाग्ने (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको समेत महत्वपूर्ण भूमिका हुन्छ । यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पार्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ । हाम्रा इन्द्रियहरूले अनुभव गर्ने दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग यौनसम्पर्क वा यौनेच्छा पनि जोडिएको हुन्छ । यौन उत्तेजनाको स्रोत जे–सुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । यौनसम्बन्धी हाम्रा भावना पनि मस्तिष्कबाटै सुरु हुन्छन् ।
यौनेच्छा कमी
हामीलाई थाहा भएकै कुरा हो, सबै व्यक्तिमा एकैनासको यौनेच्छा हुँदैन, कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै एक व्यक्तिमा पनि सधैं एकनासको यौनेच्छा हुँदैन । यसैगरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थिति हुन सक्छ अर्थात् कम यौन इच्छा (hypoactive sexual desire) को स्थिति हुन्छ ।
यस्तो स्थितिमा यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना वा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ, तर यसो भन्दैमा महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई समस्याबाट पीडित भनिहाल्न मिल्दैन, यदि दुवै जना यसमा सन्तुष्ट छन् भने । त्यसैले कतिपय यौन विशेषज्ञ त्यति बेलासम्म यौन इच्छा कम भएको मान्दैनन् जबसम्म यो कुराले कुनै जोडीलाई समस्यामा पारेको हुँदैन वा व्यवहारमा खासै कुनै परिवर्तन देखिँदैन । तपाईंको स्थिति यस्तै हो कि होइन, आँकलन गरिसक्नुभएकै होला । तपाईंको सन्दर्भमा श्रीमान्सँगको झगडाले तपाईंहरू यसमा सन्तुष्ट हुनुहुन्न भन्ने कुरा स्पष्ट भैसकेको छ ।
कतै यो अ–यौनिकता त होइन ?
सबैजसो व्यक्ति जीवनको कुनै न कुनै समयमा यौनसम्बन्धी कार्यमा आकर्षित हुन्छन् वा यौन क्रियाकलापमा संलग्न हुन चाहन्छन्, तर सबैमा यस्तो हुँदैन । मानव यौनिकताको अर्को पक्ष के पनि हो भने थोरै व्यक्तिमा हुने भए पनि ऊ यौनसम्बन्धी क्रियाकलापमा आकर्षित हुँदैन र त्यसमा संलग्न हुन चाहँदैन । यस्तो स्थितिलाई हामी ‘अ–यौनिकता’ भन्न सक्छौं । यो स्थितिमा व्यक्ति कसैप्रति पनि यौन रूपमा आकर्षित हुँदैन र यौन क्रियाकलापमा संलग्न पनि हुँदैन । अंग्रेजीमा यसमा Asexuality वा Non-sexuality भन्ने शब्दको प्रयोग हुन्छ । कतै तपाईंमा यस्तै यौनिक स्थिति त छैन, निक्र्योल गर्नुपर्छ ।
यौनसम्पर्क नराख्नु र ब्रह्मचर्यको पालना गर्नु अयौनिकता होइन । यो यौन परिचयभित्र देखि नै निर्देशित हुन्छ र प्राकृतिक रूपमै भित्रैबाट यसका लागि इच्छा हुँदैन । भनिन्छ, यसलाई व्यक्तिले चाहेर बन्द वा सुरु गर्न सक्दैन, अर्थात् यो रहरमा हुने कुरा होइन । इच्छा वा आकर्षण नभए पनि यौन क्रियाकलापमा संलग्न भएको घटना भने हुन सक्छ । यस्तो सामाजिक दबाबका कारणले, आफ्नो यौनसाथीको इच्छाका कारणले वा सन्तान जन्माउनका लागि हुन सक्छन् । कतिपय स्थितिमा अ–यौनिक स्थितिको निदान व्यक्ति आफैंले गरेको पाइन्छ, जुन आफैंमा सही नहुन सक्छ । अर्कातिर कतिपयले यस्तो स्थिति हुन्छ भन्नेसम्म विश्वास गर्दैनन् र यसलाई कुनै किसिमको अप्राकृतिक स्थितिसँग जोड्छन् । तपाईंमा त्यस्तो स्थिति छ कि छैन, विचार गर्नुहुन अनुरोध छ, जसले गर्दा समस्या पहिचान गर्न सकियोस् ।
असमान यौनेच्छा
दम्पती वा जोडीमध्ये एकलाई बढी यौनेच्छा हुनु र अर्कोलाई कम हुनुलाई अनमेल वा असमान यौनेच्छा (mismatched libido) भनिन्छ । यसले वैवाहिक तथा यौन जीवनमा अनेकन असजिलो सिर्जना गर्छ । धेरैजसो स्थितिमा यस्तो अनमेल हुनुको दोष आफ्नो यौनसाथी वा श्रीमान् वा श्रीमतीलाई दिइएको पाइन्छ । त्यसबाहेक महिलामा यौन चाहना नै कम भएको हुन सक्छ भने अर्कातिर त्यसका अन्य कारण पनि हुन सक्छन् । ती कारण शारीरिक, मानसिक वा दुवै हुन सक्छन् । यौनेच्छा भए पनि अन्य कारणजस्तै कि शारीरिक (यौनसम्पर्क राख्दा पीडा हुने, कुनै रोगव्याधि लागेको वा थकान) वा मानसिक (चिन्ता, तनाव, भय) जस्ता अनेक कारणले स्थिति नकारात्मक हुन सक्छ । अर्कातिर तपाईं र श्रीमान्को सम्बन्ध तनावपूर्ण भएको स्थितिमा पनि यौन चाहनामा नकारात्मक असर पर्छ ।
समाधानका कुरा
केही मात्रामा यौनेच्छा असमान हुनु वा यो घटबढ हुनुलाई स्वीकार गर्नु नै उपयुक्त हुन्छ । त्यसबाहेक वास्तविक रूपमै यौनेच्छा नभएको स्थितिमा चिकित्सकको सहयोग लिनु आवश्यक छ । औषधीको प्रभावले यौनेच्छा कम भएको भए वैकल्पिक औषधी सेवन गर्न सकिन्छ । अर्कातिर यस्तो स्थितिमा केही औषधी प्रयोग गर्न सकिन्छ, जुन् अवस्था हेरी चिकित्सकले सिफारिस गर्न सक्नुहुन्छ । त्यसबाहेक यसका शारीरिक वा मानसिक कारण भए कारण हेरी समाधान खोज्दै त्यसलाई कम गर्नुपर्छ ।
झगडाले कुनै पनि समस्या समाधान गर्दैन । तनावपूर्ण स्थितिको सामना गर्न मनोचिकित्सा आवश्यक
पर्न सक्छ । यो सन्दर्भमा तपाईं र तपाईंको श्रीमान् आफ्नो सम्बन्धलाई जोगाउन कत्तिको समर्पित हुनुहुन्छ र कुन हदसम्म त्याग गर्न सक्नुहुन्छ भन्ने कुरा पनि निकै महत्वपूर्ण छ ।