फरक–फरक नाममा हरेक जाति र क्षेत्रको पर्वका रूपमा स्थापित दिन हो— माघ १ गते ।
विक्रम संवत्को माघ १ गते पवित्र मानिएका नदी एवं तलाउहरूमा स्नान गर्ने चलन छ ।
प्रात: स्नान आफैमा महत्वपूर्ण र फाइदाजनक हुन्छ । स्वास्थ्यका दृष्टिले समेत माघ १ को मकर स्नान महत्वपूर्ण मानिन्छ ।
भविष्य पुराणअनुसार
संक्रान्त्या पक्ष्योन्तरे ग्रहणे, चन्द्रासूर्ययो: ।
गंगास्नानो नर: कामद् ब्रहमण: सदनंब्रजेत ।।
अर्थात् संक्रान्ति, पक्ष ग्रहण, पूर्णिमा तथा औंसीमा गंगास्नान गर्नु पूण्यदायक हुन्छ यस्तो कर्मबाट ब्रहमलोक प्राप्त गर्न सकिन्छ ।
यही दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्धर्धतर्फ प्रवेश गर्छ ।
धार्मिक रूपमा यो दिनलाई उत्तरायणको प्रारम्भ हुने दिन मानिन्छ र उत्तरायण शुभ फलदायक हुन्छ ।
माघ १ गतेदेखि सूर्य उत्तरी गोलाद्र्धमा प्रवेश गर्ने भएकाले दिन लम्बिन थाल्छ ।
तिला संक्रान्ति वा माघी वा मकर संक्रान्ति जे नामले मनाए पनि यो पर्वमा खाइने परिकार भने मिल्दाजुल्दा हुन्छन् ।
यो दिन पोसिलो खानेकुरा खाने चलन छ, जुन जाडो मौसममा उपयोगी हुन्छ ।
तिल, चाकु, घिउ आदिले चिसो मौसममा फाइदा पुर्याउँछन् ।
धार्मिक मान्यताले होस् वा भौतिक मान्यताले आध्यात्मिक दृष्टिले होस् वा स्वास्थ्यका दृष्टिले माघ १ गतेका दिन परम्परादेखि चल्दै आएका चलन स्नान तथा खानपान जीवनोपयोगी छन् ।
यद्यपि हरेक पर्व तथा उत्सवहरूमा विकृति पनि थपिने क्रम जारी छ, तसर्थ विकृति होइन सु–संस्कृतिलाई अपनाउँदै पर्व मनाउनुपर्छ ।
योग प्रशिक्षक,
पतञ्जली योग समिति