साप्ताहिक संवाददाता
माघे संक्रान्तिका अवसरमा नुवाकोटको तारुकामा यो वर्ष १८ हल गोरु भिडाउने तयारी गरिएको छ । माघ १ गते माघेसंक्रान्तिको अवसर पारेर हरेक वर्षझैं यो वर्ष पनि गोरु जुधाईको तयारी गरिएको हो ।
सामाजिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं परम्पराको अभिन्न अंग बनेको गोरु जुधाई आन्तरीक पर्यटनको गतिलो गन्तव्य बन्दै आएको छ । प्रत्येक वर्षझै यो वर्ष पनि माघे संक्रान्तिको अवसर पारेर नुवाकोटको तारुका तथा बेत्रावतीमा गोरु जुधाई प्रतियोगिता हुँदैछ ।
प्रतियोगितामा दईवटा गोरुलाई खुल्ला मैदानमा छाडिन्छ । गोरुहरू आफैं आ–आफ्नो टाउको जुधाएर एकले अर्कालाई सकेसम्मको बल लगाएर धकेल्दै–जुध्दै जान्छन् । जब कुनै गोरु जुध्न नसकेर भाग्छ त्यो गोरुले हारेको मानिन्छ । यसरी नुवाकोटका विभिन्न ठाउँबाट ल्याइएका गोरु जुधाई उत्कृष्ट गोरु र गोरु मालिकलाई सम्मान तथा पुरस्कार प्रदान गरिन्छ ।
बेत्रावतीमा पनि
हरेक वर्ष नुवाकोट र रसुवाको सीमास्थल बेत्रावतीमा माघ १ गते गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको छ । कला, संस्कृति एवं परम्पराको जगेर्ना गरौँ, उत्तरगया क्षेत्र बेत्रावतीको पहिचान र विकासमा एकजुट हौँ भन्ने नाराका साथ बेत्रावतीमा माघ १ गते भव्य मेला लाग्नेछ ।
बेत्रावतीवासीले परापूर्वकालदेखि नै माघेसङ्क्रान्तिका दिन घिउचाकु खाएर, तेल घसेर मनोरञ्जनका रूपमा गोरु जुधाउँदै आएका छन् । लामो समय हराएको यो चलन एक दशकअघि फेरि सुरु भएको छ ।
नेपाल र हाल चीनको स्वशासित क्षेत्र तिब्बतसँग १८४९ सालमा मैत्रीपूर्ण ऐतिहासिक सन्धि भएको स्मरणमा बेत्रावतीमा माघे सङ्क्रान्तिका दिन गोरु जुधाउन थालिएको हो । राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसहित सञ्चालक हुने गोरुजुधाई मेला बेत्रावती क्षेत्रको महत्व एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सहायक हुने उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशङ्कर डङ्गोलले बताए ।
विष्णु तारूके