साप्ताहिक संवाददाता
अहिले अमेरिकामा अत्यधिक चिसो छ । मौसमविद्हरूका अनुसार ग्रेसन हिउँ आँधीले न्यू हेम्सायर राज्यको तापक्रमलाई माइनस ६९ डिग्री सेल्सियससम्म पुर्याएको छ । यो चिसोपन अमेरिकामा अहिलेसम्म रेकर्ड भएको तापक्रममा सर्वाधिक कम छ ।
९० माइल प्रतिघण्टाको गतिमा आएको हिउँ आँधीले अमेरिकाको अधिकांश भागको जनजीवन अस्तव्यस्त बनाएको छ ।
फिलाडेल्फिया, न्युयोर्क तथा न्युजर्सीको तापक्रम माइनस १३ डिग्री पुगेको छ । हिमपातका कारण अमेरिकाको यातायात अस्तव्यस्त भएको छ नै, कतिपय राज्यमा विमानस्थल नै बन्द गरिएको छ । सिकागोको मध्यभागमा बग्ने नदीदेखि विश्वकै सबैभन्दा ठूलो नियाग्रा फलमा झर्ने पानीसम्म सबै जमेको छ ।
चिसोका कारण युरोपका अधिकांश भागको तापक्रम अहिले माइनस भन्दा धेरै तल झरेको छ । बेलायतको तापक्रम माइनस ११ डिग्री सेल्सियस पुगेको छ । चिसोले त्यहाँको जनजीवन जति अस्तव्यस्त बनाएको छ त्योभन्दा बढी संत्रास अस्ट्रेलियन रुघाको छ । अहिले बेलायतको पाँच स्थानबाहेक सबै स्थान अस्ट्रेलियन रुघाको संक्रमणमा छन् ।
एसियाको चीनमा पनि चिसोको अत्यधिक प्रकोप छ । चिसोको चार तहको चेतावनी दिने क्रममा अहिले चीनको मौसम विज्ञान विभागले तेस्रो चरणको चेतावनी जारी गरिसकेको छ ।
अहिले चीनको मध्य, दक्षिणी तथा उत्तर–पूर्वी भागको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीमा छ । मौसम विभागले चीनको उत्तरपूर्वी भागमा थप हिमपात हुने भएकाले त्यहाँको तापक्रम अझ घट्ने जनाएको छ ।