साप्ताहिक संवाददाता
अहिले साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र क्षेत्रकी ‘हटकेक’ भएकी छिन् । दुईवटा चलचित्र सुपरहिट भएपछि साम्राज्ञीको माग ह्वात्तै बढेको छ भने उनले आफ्नो पारिश्रमिक १० लाख पुर्याइसकेकी छिन् । साम्राज्ञीका हरेक क्रियाकलापले अनलाइन तथा पत्रपत्रिकामा राम्रै स्थान पाइरहेका हुन्छन् ।
नृत्य निर्देशनबाट निर्देशनमा जम्प मारेकी रिनेशा वान्तवा राईको पहिलो चलचित्र ‘इन्टुमिन्टु लन्डनमा’को छायांकनका लागि साम्राज्ञीले बेलायतको भिसा नपाउँदा पनि त्यसले निकै चर्चा पायो ।
यसअघि जो जति सेलिब्रेटीले भिसा पाएनन् वा पाए, त्यसको चर्चा त्यति भएन, जति साम्राज्ञीले भिसा नपाउँदा भयो । उनलाई फेरि भिसा एप्लाई गर्न लगाइयो । यसपटक पनि उनको वास्तविक नाम प्रियंका भएकाले उनलाई फेरि पनि भिसा दिइएन भनेर केही अनलाइनमा उडन्ते खबर आए ।
वास्तवमा त्यतिबेलासम्म साम्राज्ञी भिसा पाएर दिल्ली हुँदै लन्डन पुगिसकेकी थिइन् । पछि थाहा भयो, उनको पासपोर्ट र नागरिकतामा उल्लेखित नाम साम्राज्ञी नै रहेछ । बरु उडन्ते खबर लेख्नेहरूले के पो गरे होलान् ?