साप्ताहिक संवाददाता
तपाईंलाई यो उपाधि जित्छु भन्ने लागेको थियो ?
सुरुमा त लागेको थिएन, पछि जब त्यहाँको माहौल देखे अनि जित्छु जस्तो लाग्न थाल्यो।
विजेता भएको घोषणा सुनेपछि कस्तो महशुस भयो ?
एकदमै खुसी लाग्यो । मैले अहिलेसम्म कुनै प्रतिस्पर्धामा हारेको छैन ।
आफूले जितेको खबर सुरुमा कसलाई सुनाउन पाए हुन्थ्यो जस्तो लाग्यो ?
मनमा त्यो कुरै आएन । मेरासबै मिल्ने साथीहरू कार्यक्रमस्थलमै थिए । सबै सँगै भएकाले अरूलाई सुनाउन आवश्यक मानिनँ ।
विजेता भएको त्यो रात मनमा के–के कुरा आए ?
जितेर गएपछि साथीहरूसँग ठमेलको एउटा रेस्टुराँमा खुसीयाली मनायौं, रमाइलो गर्यौं । उतै रातको १२ बजिसकेको थियो । आफूले थप जिम्मेवारी पाएको महसुस भयो । खासै त्यस्तो अरू कुरा मनमा आएन ।
तपाईंको प्रेरक व्यक्तित्व ?
मैले बिपी कोइरालाको आत्मवृत्तान्त पढेको थिएँ । त्यस्तै पूर्वराष्ट्रपति रामवरण यादवको जीवनी पनि पढियो । म उहाँहरूको सरल व्यक्तित्वबाट प्रभावित छु । सामान्य व्यक्ति पनि पछि गएर ठूलो ओहदामा पुग्न सक्ने रहेछन् जस्तो लाग्यो ।
फेसबुकमा कति समय बिताउनुहुन्छ ?
फुर्सदमा भएका बेला चलाउँछु । साथीहरूले पोस्ट गरेका तस्बिर तथा स्टाटस आदि हेरेर बस्छु । आफूलाई भने खासै केही पोस्ट गर्न मन लाग्दैन ।
कस्ता खालका चलचित्र हेर्न रुचाउनुहुन्छ ?
कसैको बायोग्राफीमा आधारित चलचित्र हेर्न बढी रुचाउँछु । समाजसँग मिल्ने तथा कमेडी चलचित्र पनि हेर्छु ।
जीवन के हो ?
संघर्ष ।
प्रेम के हो ?
प्रेम प्राप्ति हो, त्याग हो अनि यी दुवै कुराको मिश्रण पनि हो ।
तपाईंको बुझाइमा विवाह के हो ?
दुई अलग व्यक्तिलाई एक बनाउने सूत्र ।
भगवान्मा विश्वास छ ?
विश्वास छ । म मन्दिर पनि जान्छु ।
तपाईंलाई जीवनमा के बन्न मन छ ?
म राजनीतिमा रुचि राख्छु । प्रधानमन्त्री बन्न मन छ ।
तपाईंलाई मन पर्ने नेता ?
उपेन्द्र यादवको बोल्ने शैली मन पर्छ भने डा. बाबुराम भट्टराईले देशमा केही गर्छन् कि जस्तो लाग्छ ।