साप्ताहिक संवाददाता
गतसाता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोज्ने ४५ जना युवतीहरु आफ्नो बान्की परेको जिउडाललाई विरालो चालमा मर्काउँदै आफ्नो अब्बल प्रस्तुति दिने प्रयत्नमा थिए । क्याटवाक मात्र नभएर आत्मविश्वास, व्यक्तित्व, सुन्दरता, शारिरीक हाउभाउलगायतका मोडलिङका विभिन्न व्याकरणमा उनीहरुको मुल्यांकन भइरहेको थियो ।
‘द सुपर मोडल नेपाल २०१८’ का लागि भएको यो भिडन्तमा बाजी मार्न भने अभिलाशा शर्मा सफल भएकी छिन् । फोटोजेनिक विधाको अवार्ड पनि जितेकी अभिलाशा भन्दा एक स्थान पछि परिन् देश्ना के.सी. भने सेकेन्ड रनर अप स्थानमा सायरा घिमिरेले आफ्नो नाम दर्ता गराइन् ।
प्रतियोगीतामा सामेल प्रतिस्पर्धी आईआईएफटी नेपालका फेसन डिजाइनिङका विद्यार्थीहरुले तयार पारेको आकर्षक पहिरनमा सजिएका थिए । प्यासिफिक इभेन्ट एण्ड म्यानेज्मेन्टको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा सुजाता खाती पर्सनालिटी, जिना तामाङ वेष्ट वाक, सुश्मिता शाक्य डिसिप्लीन, प्रनिशा पोखरेल वेष्ट फिगर, संस्कृति पौडेल फ्रेन्डशीप, रश्ना महर्जन स्माइल विधामा विजेता चयन भएका थिए ।
यसैगरी लोप्साङ लामा वेष्ट स्कीन र भिअर च्वाइस विधामा उत्कृष्ट ठहरिए भने सुप्रिया थापाले पपुलर र वेष्ट स्टाइलिस विधाको अवार्ड उचालिन् । प्रतियोगितामा प्रमिला सिलवाल वेष्ट ड्ेरस, निलिशा शाही ठकुरी कन्फिडेन्ट तथा प्रशंसा रिजाल मल्टिमिडिया विधामा विजेता चयन भएका थिए ।