साप्ताहिक संवाददाता
जापानी बालबालिकामाझ प्रिय ‘मेच्या बिरालो’ सचित्र बालकथा श्रृंखला नेपाली बालबालिकामाझ पनि आइपुगेको छ । यसै साता राजधानीमा उक्त कथा श्रृंखलाअन्तर्गत ‘वनभोज’ नामक सचित्र बालपुस्तक विमोचन भएको छ ।
जापानी बालकथाकार तथा चित्रकार मिल सिकाईको सो सचित्र बालपुस्तकलाई कृष्ण कुम्पुरेले नेपालीमा अनुवाद गरेका हुन् । नेपाली कभर तथा फन्ट डिजाइन आनन्द महर्जनले गरेका छन् । थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल), आसितेज नेपाल र थिएटर मलको संयोजनमा नेपाल जापान बाल पुस्तकालयमा औपचारिक रुपमा विमोचन गरी ‘मेच्या बिरालो’को कथा पुस्तक नेपाल ल्याइएको हो ।
नेपाली बालसाहित्यका पिताका वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर, वरिष्ठ चित्रकार के.के. कर्माचार्य, बालसाहित्यकार शास्वत पराजुली, अनुवादक कृष्ण कुम्पुरे र आसितेज नेपालका अध्यक्ष दिपर्शनजंग राणाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।