साप्ताहिक संवाददाता
प्रवासले थुप्रै सम्भावना बोकेका स्रष्टा जन्माएको छ । त्यहि प्रवासले जन्माएको पछिल्लो कलाकारको नाम हो– रुद्रशेखर शर्मा । नेपाली गीतसंगीतका क्षेत्रमा यो नयाँ नाम हो । तर, गत साता राजधानीमा आफ्ना केहि थान गीत सहित प्रस्तुत भएका उनको आवाजमा नेपाली गीत/संगीतका अग्रजहरुले निक्कै सम्भावना भएको महशुस गरे ।
गीतकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालले उनको स्वरको खुलेर प्रशंसा समेत गरेका छन् । त्यसो त उनको स्वरमा वरिष्ठ गायक प्रेमध्वज प्रधान, वरिष्ठ गीतकार यादव खरेल, एसपी कोइराला, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी लगायतका संगीतकर्मीहरुले खासै खोट भेट्टाएनन् ।
उनीप्रतिको यो सद्भाव उनकै पहिलो एल्वम ‘रुपम’ विमोचनको अवसरमा जुरेको थियो । अध्ययनको सिलसिलामा विदेशमा रहेका उनले अध्ययनसँगै संगीत पनि सिके । उनको त्यहि सिकाइलाई उनले सार्वजनिक गरेका हुन् एल्वम ‘रुपम’मा समाविष्ट गरेर ।
उनको रुपम एल्वममा यो पुस्ताका लोकप्रिय गीतकार विपिन किरण गीत समावेश गरिएका छन् । नेपाली सुगम संगीतमा थोरै तर, राम्रा गीत पस्किएका विपिनको यो एल्वममा पनि राम्रो उपस्थिती रहेको छ । विपिनसँगै एल्वममा गीतकार तुलसी बस्नेतको पनि एउटा गीत समावेश गरिएको छ । एल्वममा नारायण सुवेदी आभास एकल संगीतकारका रुपमा प्रसतुत भएका छन् ।