साप्ताहिक संवाददाता
अमेरिकाको लसभेगासमा बर्सेनि आयोजना हुने कन्ज्युमर इलेक्ट्रोनिक्स एक्स्पो यसपटक पनि सबैको आकर्षणमा रह्यो । यो मेलामा विश्वका चर्चित कम्पनीहरूले आफूले विकास गरेका नवीनतम प्रविधि तथा उपकरणहरू प्रस्तुत गर्छन् । यसपटक विभिन्न कम्पनीले प्रस्तुत गरेका केही नयाँ प्रविधि एवं उपकरण :
रोल हुने टेलिभिजन
दक्षिण कोरियाली कम्पनी एलजीले रोल गर्न मिल्ने टेलिभिजन सेट सार्वजनिक गरेको छ । सन् २०१४ मा पहिलो पटक रोल गर्न मिल्ने टेलिभिजन प्रस्तुत गरेको एलजीले यसपटक ६५ इन्चमा ओलिड टेक्नोलोजीको सेट प्रस्तुत गरेको छ । फोर के स्क्रिनयुक्त यो सेटको मोटाइ १ इन्च मात्र छ । यो रोल गर्न मिल्ने सर्वाधिक ठूलो टेलिभिजन सेट हो । आगामी वर्षदेखि सार्वजनिक बिक्रीमा आउने यो टेलिभिजन ८८ इन्चमा समेत उपलब्ध हुने बताइएको छ ।
एन्टी पोलुसनमास्क
एआर प्योर नामक कम्पनीले एन्टी पोलुसन मास्क तयार पारेको छ । यसले पीएम शून्य दशमलव ४ माइक्रोनसम्मको प्रदूषक तत्व फिल्टर गर्छ ।
आफैं गुड्ने सुटकेस
स्वचालित कारको अवधारणा विकसित भएको धेरै भैसकेको छ । यद्यपि स्वचालित सुटकेसको अवधारणा पहिलो पटक प्रस्तुत भएको छ । लामो यात्रामा जाँदा सुटकेस डोर्याइरहनुपर्ने झन्झटबाट मुक्त गर्न अमेरिकाको ट्राभलमेट कम्पनीले सुटकेस धनीसँगै गुड्ने सुटकेसको निर्माण गरेको छ । मोबाइल एपमार्फत चल्ने यो सुटकेस ११ किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ । आगामी फेब्रुअरी महिनादेखि बजारमा आउने यो ‘रोबोट सुटकेस’ को मूल्य १ लाख १३ हजार रुपैयाँ छ ।