सहारा क्लबको आयोजनामा माघ ९ गतेबाट पोखरामा १६ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता प्रारम्भ भएको छ । माघ २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने यो प्रतियोगितामा तीन विभागीयसहित १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ए डिभिजन क्लब मनाङ–मस्र्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ तथा थ्रीस्टार सहभागी भएका छन् ।
आयोजक सहारा क्लबसँगै झापा–११, धरान फुटबल क्लब, सुदूरपश्चिम–११ स्पोर्टिङ क्लब धनगढी उच्च मनोबलका साथ पोखरा रंगशालामा देखिनेछन् । त्यसका अतिरिक्त विदेशी टिममा उत्तर बरिन्धरा क्लब बंगलादेश तथा युनाइटेड सिक्किम, भारत प्रतियोगितामा सहभागी हुने सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए । उत्तर बरिन्धरा क्लब बंगलादेशको ए डिभिजन क्लब हो ।
वि.स.२०५८ मा क्याराभान गोल्डकपका रूपमा प्रारम्भ भएको यो प्रतियोगिता त्यसपछि लगातार १० वर्ष सम्म आहा गोल्ड कपका नाममा सञ्चालन भएको थियो । १६ औं संस्करणको यो प्रतियोगीताबाट आयोजक सहारा क्लबले १ करोड २१ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । यो प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपैयाँ खर्च हुने सहारा क्लबले जनाएको छ ।