कठ्याङ्ग्रिँदो जाडोमा घाम ताप्ने, परिवार तथा साथीभाइसँग रमाइलो समय बिताउने र घरबाहिरै खानपिन गर्ने उद्देश्यले पिकनिक जाने चलन छ । सहरमा व्यस्त दैनिकीबीच जाडो मौसमको उपयुक्त समय छानेर पिकनिकको आयोजना गरिन्छ । गाउँघरमा चलनचल्तीमा रहेको वनभोजको प्रचलनले अहिले सहरमा आधुनिक पिकनिकको मान्यता पाएको छ ।
काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी, धरान, विराटनगरजस्ता ठूलो आवादी भएका सहरी क्षेत्रमा पुस–माघको छेकोमा पिकनिक स्पटहरू भरिभराउन हुन्छन् । यी सहरहरूमा हरेक वर्ष हजारौं पिकनिक आयोजित गरिन्छन् । यस्ता पिकनिकमा नाचगान सांगीतिक कार्यक्रमदेखि मनोरञ्जक खेल बिंगो, अन्ताक्षरी, पेपर गेम, एक्टिङ, तास आदिसम्म खेलिन्छ ।
खासगरी माघ महिनाको सप्ताहन्तमा पिकनिक स्पटहरूमा ठाउँ पाउनै मुस्किल पर्छ । स्थानीय क्बल तथा संघसंस्थाहरूले पिकनिक स्पटहरूको अग्रिम बुकिङ गर्छन् । विद्यार्थीदेखि कलाकारसम्म, परिवारदेखि छरछिमेकसम्मले धार्मिक, ऐतिहासिक तथा रमाइला ठाउँहरू छानेर पिकनिकमार्फत जमघट र रमाइलो गरिरहेका हुन्छन् । अझ समय त कतिसम्म बदलिएको छ भने पिकनिकहरू पनि कर्पोरेट हुन थालेका छन् । स्कुल–कलेज, व्यवसायिक संघसंस्था, निजी कम्पनी एवं विभिन्न कर्पोरेट अफिसहरूले कर्पोरेट शैलीका पिकनिक कार्यक्रम आयोजित गर्न थालेका छन् ।
त्यस्ता कर्पोरेट पिकनिकमा निश्चित रकम उठाउने, क्याटरिङ र रिसोर्टमार्फत खानपिन र मनोरञ्जन प्याकेज किन्ने तथा दिनभर रमाइलो गर्ने गरिन्छ । कुनै समय पिकनिकका लागि आफै सामानको जोहो गर्ने, आफंै पकाउने र खाने परम्परागत परिपाटीलाई अहिले सहरमा बल्ग्रेती खुलेका क्याटरिङ, पिकनिक आसपासका रेस्टुराँ, होटल तथा रिसोर्टहरूले विस्थापित गरिदिएका छन् ।
पिकनिकका लागि ठाउँ खोज्नुपर्ने बाध्यता पनि अहिले छैन । पिकनिकका लागि उपयुक्त क्षेत्र छानेर त्यहाँका स्थानीय क्लबहरूले तिनलाई आफ्नो आम्दानीको माध्यमका रूपमा विकसित गरेका छन् । बुकिङको अवसर प्रदान गर्ने ती क्बलहरूले अपनाएको यो शैलीले उनीहरूको आय आर्जनको ढोका त खोलेको छ नै, पिकनिकप्रेमीहरूलाई ठाउँ अभाव तथा व्यवस्थापनसम्बन्धी झन्झट निराकरण गरिदिएको छ । यातायातको झन्झट पनि छैन । बुकिङ गरिएका सवारी साधनले पिकनिक स्पट लगेर घरको ढोकासम्म फर्काउने सुविधा दिन्छन् ।
काठमाडौं पिकनिक सर्किट
काठमाडौं उपत्यका वरपर तथा छिमेकी जिल्लाहरूमा दर्जनौं पिकनिक स्पट छन् । अझ उपत्यकाको पिकनिक सर्किटको कुरा गर्ने हो भने पूर्वमा काभ्रेको दोलालघाटदेखि पश्चिममा त्रिभुवन पार्कसम्म दर्जनौ पिकनिक स्पट विकास गरिएका छन् । उत्तर पश्चिम नुवाकोटको ककनीदेखि सुदूर दक्षिणमा ललितपुरको लेलेसम्म अहिले पिकनिक खानेहरूको रोजाइमा पर्दै आएका छन् । काठमाडौंको मुख्य बिन्दु रत्नपार्कबाट ४ किलोमिटरको दूरीदेखि ८० किलोमिटर टाढा रहेको दोलालघाटसम्म पिकनिक स्पटहरू छन् । केही पिकनिक स्पट र तिनका विशेषता :
गोदावरी
नेपालको एकमात्र वनस्पति उद्यान गोदावरी बोटानिकल गार्डेन काठमाडौं उपत्यकावासीका लागि पहिलो रोजाइको पिकनिक स्पट मानिन्छ । गोदावरी रत्नपार्कबाट १५ किलोमिटरको दूरीमा छ ।
नगरकोट
हिमाली श्रृंखला अवलोकनका लागि कहलिएको भक्तपुरको नगरकोट पनि उपत्यकाको लोकप्रिय पिकनिक स्पट हो ।
ककनी
हिमाली श्रृंखला अवलोकन तथा काठमाडौं उपत्यकाको विहंगम दृश्यावलोकन गर्न सकिने ककनी नुवाकोट जिल्लामा पर्छ ।
दक्षिणकाली
धार्मिक मानिसहरूको रोजाइमा पर्ने दक्षिणकाली अहिले पनि उपत्यकाको लोकप्रिय पिकनिक स्पट हो ।
जहरसिंह पौवा
पछिल्लो समय चियाखेतीका लागि परिचित हुँदै आएको जहरसिंह पौवा उपत्यकाको सबैभन्दा कान्छो पिकनिक स्पट मानिन्छ ।
ब्रजबाराही
ललितपुरको चापागाउँस्थित उपत्यकाका चार बाराहीमध्ये एक ब्रजबाराही पनि लोकप्रिय पिकनिक स्पट हो ।
बालाजु
गोदावरीमा सरकारले वनस्पति उद्यान स्थापना गर्नुअघि नेपालको आधिकारिक बनस्पति उद्यानका रूपमा मान्यता पाएको बालाजु आफ्नो धार्मिक तथा ऐतिहासिक महत्वको २२ धारा तथा वाटर क्यास्केडका लागि सुपरिचित छ ।
कार्यविनायक
ललितपुरको दक्षिणमा अवस्थित कार्यविनायक पनि उपत्यकाका चार विनायकमध्ये एक हो । नजिकै रहेको सांस्कृतिक सहर खोकना र बुङ्मतीका कारण पनि कार्यविनायक पिकनिक खानेहरूको रोजाइमा पर्ने गरेको छ ।
लाँकुरी भन्ज्याङ
पछिल्लो समय विकसित यातायातको सुविधाका कारण ललितपुरको पूर्वी भागमा रहेको लाकुरी भन्ज्याङ सूर्योदय र सूर्यास्त अवलोकन तथा हिमश्रृंखलाहरूको मनोरम दृश्यका लागि लोकप्रिय हुँदै गएको छ ।
चोभार
हालै निर्माण गरिएको मञ्जुश्री पार्कका कारण चोभार पनि उपत्यकाको प्रमुख पिकनिक गन्तव्यका रूपमा विकसित भएको छ ।
धुलिखेल
हिमाली श्रृखलाको अवलोकनका लागि कहलिएको काभ्रेको धुलिखेल पनि लोकप्रिय पिकनिक स्पट हो ।
दोलालघाट
काभ्रेको दोलालघाट भएर बग्ने इन्द्रावती नदीको छेउछाउमा पिकनिक जानेहरूको ठूलै लर्को हुन्छ । नदी किनारमा पिकनिक खान पाइने यो सबैभन्दा नजिकको गन्तव्य हो ।
त्रिभुवन पार्क
काठमाडौंको पश्चिम नाका थानकोट नजिकै रहेको त्रिभुवन पार्क खासगरी बालबालिकाहरूसँग पिकनिक खाने रमाइलो ठाउँ हो ।
चाँगुनारायण
उपत्यकाकै सबैभन्दा पुरानो मन्दिर चागुनारायण पनि धार्मिक पर्यटन तथा पिकनिकका लागि पहिलो रोजाइमा पर्छ ।
सल्लाघारी सुवर्णेश्वर
भक्तपुरको सल्लाघारीमा दुई वटा पिकनिक स्पट छन्— एउटा सुवर्णेश्वर महादेवमा र अर्को सल्लाघारीमा । पर्याप्त पानी र घाम पनि लाग्ने भएकाले सल्लाघारी र सुवर्णेश्वरलाई रोजाइको पिकनिक स्पट मानिन्छ ।
सुन्दरीजल
नेपालको दोस्रो पुरानो जलविद्युत् केन्द्र रहेको तथा काठमाडौंमा खानेपानी आपूर्ति गर्ने प्रमुख केन्द्र सुन्दरीजल उपत्यकाका लागि लोकप्रिय पिकनिक स्पट हो । यहाँ पनि खोला किनारमै पिकनिक खाइन्छ ।
सुकुटे बीच
सिन्धुपाल्चोकको सुकुटे बीच पनि कहलिएको पिकनिक स्पट हो । नदी किनारको रमाइलो वातावरणमा पिकनिक मनाउन पारखीहरूले यो ठाउँ रोज्ने गरेका छन् ।
शंखपार्क
धुम्बाराहीस्थित शंखपार्कलाई पनि विभिन्न संघसंस्थाले पिकनिक स्पटका रूपमा प्रयोग गर्दै आएका छन् । शंखपार्कलाई काठमाडौंको सबैभन्दा नजिकको पिकनिक स्पट मानिन्छ ।
बूढानीलकण्ठ
बूढानीलकण्ठ उपत्यकाको लोकप्रिय पिकनिकस्थल मानिन्छ । बूढानीलकण्ठको शिवपुरी जंगल क्षेत्र तथा वरपरका केही डाँडामा पिकनिक जानेहरू प्रशस्तै हुन्छन् ।
सूर्यविनायक
भक्तपुरको दक्षिणमा रहेको सूर्यविनायकबाटै उपत्यकामा घामको झुल्कोले प्रवेश गर्ने मान्यता छ । उपत्यकाका चार विनायकमध्ये एक सूर्यविनायकमा पिकनिकका लागि सबै किसिमका सुविधा उपलब्ध छन् । सूर्य विनायकनजिकै रहेको पाइलटबाबाको आश्रम पनि पिकनिक गन्तव्यका रूपमा विकसित भएको छ । यसबाहेक उपत्यकामा व्यवसायिक रूपमा खुलेका कतिपय रिसोर्टहरूले समेत पिकनिक आयोजना गर्ने गरेका छन् ।