साप्ताहिक संवाददाता
अहिले राखेप च्याम्पियनसिप चलिरहेको छ र यो प्रतियोगिता आयोजनाको खास योजनाकार मानिन्छन्— सदस्य सचिव केशवकुमार विष्ट । यो प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आफ्नै नाममा छ । किन आवश्यक भयो त यो प्रतियोगिता ? अहिलेसम्म जति पनि खेलका प्रतियोगिता भए, त्यसका सम्बन्धमा विष्ट स्वयंको धारणा के छ ? सदस्य–सचिव विष्टसँग गरिएको पाँच प्रश्न :
राखेप च्याम्पियनसिप किन आवश्यक भएको हो ?
प्रत्येक वर्ष खेलाडीले आफ्नो खेलको राष्ट्रिय प्रतियोगिता खेल्न पाउन् भन्ने नै यसको मूल उद्देश्य हो । अबदेखि यो प्रतियोगिता नियमित रूपमा आयोजना हुन्छ । एक वर्ष बृहत् राष्ट्रिय खेलकुद हुनेछ भने अर्को वर्ष राखेप च्याम्पियसिप हुनेछ ।
राष्ट्रिय प्रतियोगिताको अवधारणामा काम भैरहेकै बेला किन चाहियो राखेप च्याम्पियनसिप ?
प्रत्येक खेलको राष्ट्रिय खेलकुद नियमित रूपमा हुनुपर्छ । राखेप च्याम्पिनयसिप कम बजेटमै सम्भव भएको छ । हामीले प्रत्येक संघलाई त्यति आर्थिक सहयोग गर्न सकेका छैनौं । संघले यसका लागि आफ्नै अलग स्रोतको व्यवस्था गरेका छन् । यसले फाइदा पनि भएको छ । फेरि देशका विभिन्न स्थानमा खेल आयोजना भएपछि ती स्थानले आफ्नोपनसमेत महुसस गर्दा रहेछन् ।
यो प्रतियोगिताले नेपाली खेलकुदलाई के फाइदा पुग्छ ?
अहिलेसम्मको नतिजाबाट हामी सन्तुष्ट छौं । हाम्रो खास उद्देश्य भनेको प्रतिभाशाली खेलाडीको खोजी तथा नयाँ खेलाडी उत्पादन नै हो । राखेप च्याम्पिनसिपले त्यसमा ठूलो मद्दत पुर्याएको छ ।
के यो अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी पनि हो ?
हाम्रा अगाडि दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता छन्— पहिलो दक्षिण एसियाली खेलुकद अनि अर्को एसियाली खेलकुद । विशेषत छ महिनापछि इन्डोनेसियामा सुरु हुने प्रतियोगिताको तयारी पनि हो यो । यो छनोट पनि हो र अब प्रत्येक खेलको राष्ट्रिय टिमसमेत तयार हुनेछ ।
प्रतियोगिताका क्रममा कमजोर व्यवस्थापन र फितलो तयारीका उदाहरण पनि अगाडि आए नि ?
यो सुरुवात हो, यसमा सुधार गर्नुपर्ने ठाउँ धेरै छ । म आफै पनि सम्पूर्ण रुपमा सन्तुष्ट हुन सकेको छैन । केही खेलको आयोजना कमजोर रह्यो, तर केही खेलको आयोजना भव्य पनि थियो । एथलेटिक्सको नतिजा पनि अपेक्षाअनुसार भएन । आउने दिनमा राखेप च्याम्पिनसिपलाई अझ भव्य बनाउँदै जानुपर्छ ।