मकवानपुरमा एक दर्जनभन्दा बढी पिकनिकस्थल छन् । ती पिकनिक स्थलमा मकवानपुरका स्थानीय बासिन्दा मात्र नभई प्रदेश नं २का वीरगञ्ज,कलैया, जनकपुर लगायत सीमावर्ती भारतीयहरू पनि पिकनिकका लागि आउँछन् । त्यसैगरी मार्खु र दामन–सिमभञ्ज्याङमा काठमाडौंदेखि पिकनिकका लागि पुग्ने गरिन्छ ।
सहिद स्मारक
हेटौंडा उपमहानगरपालिका, नवलपुरस्थित सहिद स्मारक पार्क पिकनिकको मुख्य थलो बनेको छ । शनिबार र अन्य बिदाका दिन सहिद स्मारकको अवलोकनसहित पिकनिक खान आउनेहरूको समूह ५० भन्दा बढी हुन्छ । यहाँ मकवानपुरका मात्र होइन, मुलुकका विभिन्न भागसहित भारतबाट पनि पिकिनिक मनाउन आउनेहरू उत्तिकै हुन्छन् । हेटौंडा बजारबाट करिब ७ किलोमिटरको दूरीमा रहेको सहिद स्मारक पार्कमा बिदाको दिन पिकनिक खान तथा अवलोकन गर्न आउनेहरूको भीड लाग्छ । यो स्मारकभित्र आधा दर्जन पिकनिक स्थल छन् भने झोलुङे पुल, बगैंचा तथा मिनी जुसमेत छ ।
दामन, सिमभन्ज्याङ
मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दामन सिमभन्ज्याङ पनि पिकनिक स्थलका रूपमा विकसित हुँदै गएको छ । हेटौँडा र काठमाडौको मध्यभागमा पर्ने दामन, सिमन्ज्याङमा बिदाका दिन विभिन्न स्थानबाट पिकनिक खान पुग्नेहरूको लर्को लाग्छ । सधैं चिसो र स्वच्छ हावा बगिरहने यो क्षेत्रमा वनस्पतिको अध्ययन एवं हिमालको अवलोकन गर्न आउनेहरू पनि उत्तिकै हुन्छन् । दामन, सिमभन्ज्याङका विभिन्न भागमा पिकनिक स्थल निर्माण गरिएको छ ।
इन्द्रसरोवर मार्खु
इन्द्रसरोवर गाउँपालिका–१ र २ मा पर्ने नेपालकै पहिलो मानव निर्मित जलाशय इन्द्रसरोवरको किनार पिकनिकस्थलका रूपमा विकसित हँुदै गएको छ । इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा दैनिक ३ सयभन्दा बढी आन्तरिक तथा ५० भन्दा बढी बाह्य पर्यटक पुग्ने गरेका छन् । शनिबार वा सार्वजनिक बिदाका दिन मार्खु क्षेत्रमा पर्ने इन्द्रसरोवरको किनारमा पिकनिक खान तथा डुंगामा बसेर सरोवरको सयर गर्न आउनेहरूको भीड लाग्छ । इन्द्रसरोवरको किनारमा भएका कतिपय लज तथा होटलले पिकनिकको व्यवस्थापनसमेत गरिदिन्छन् । ३ सय मिटर चौडा तथा ७ किलोमिटर लामो इन्द्रसरोवरमा बोटिङको समेत व्यवस्था छ ।
यसैगरी मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा पर्ने डाँडाबास पनि पिकनिक स्थलका रूपमा विकसित हुँदै गएको छ । मोटरबाटोको सुविधा भएकाले प्राकृतिक रूपमा मनोरम डाँडाबासमा विशेष गरी उत्तरी क्षेत्रका बासिन्दाहरू पिकनिक खान पुग्छन् । मकवानपुरको अर्को महत्वपूर्ण पिकनिक स्थल हेटौंडा उपमहानगरपालिकास्थित गुम्बाडाँडा पनि हो, जहाँ ढुंगाका मूर्तिहरू छन् । त्यहाँ पिकनिक स्थल पनि छ ।
दाङका पिकनिक स्थलपश्चिम नेपालको ठूलो उपत्यकाका हो– दाङ । जाडो मौसममा पिकनिकको रहरले यो उपत्यका र आसपासका क्षेत्रलाई छोप्छ । दाङका केही प्रमुख पिकनिक गन्तव्य :
पाण्डवेश्वर धारपानी, घोराही
धारापानीस्थित पाण्डेश्वर मन्दिर क्षेत्र जिल्लाकै सबैभन्दा महत्वपूर्ण पिकनिक क्षेत्र मानिन्छ । बिश्वकै अग्लो त्रिशुल रहेको दावी गरिएका कारण यहाँ त्रिशूल हेर्नकै लागि मानिसहरूको भीड लाग्छ । त्रिशूल हेर्दै, रमाउँदै पिकनिक खान सकिने भएकाले यसको आकर्षण बढेको हो ।
पुरन्धारा छहरा, बबई
बबई गाउँपालिकाको पुरन्धारास्थित छहरा पर्यटकीय महत्वको क्षेत्र हो । यहाँ छहरा हेर्न र पिकनिक खान जिल्लाका विभिन्न भागका मानिसहरू आउँछन् । यहाँ छहराको मनोरम बातावरणले सबैलाई लोभ्याउँछ ।
शीतलपुर, तुलसीपुर
तुलसीपुरको बबई नदी किनारमा अबस्थित शितलपुरमा पनि पिकनिक खान जानेहरूको भीड देखिन्छ । बबई नदीको किनारमा खेल्दै रमाउँन यो स्थल निकै महत्वपूर्ण मानिन्छ । तुलसीपुर–अमिलिया सडकखण्ड छेउमै पर्ने भएकाले यो ठाउँमा यातायातको सहज पहुँच छ ।
बाह्रकुने दह, घोराही
घोराही उपमहानगरपालिकास्थित बाह्रकुने दह जिल्लाको महत्वपूर्ण पिकनिक स्थल हो । बाह्रकुने दहमा डुंगामा सयर गर्न तथा मन्दिरमा पूजा गर्न पाइने अनि एकान्त स्थल भएकाले पिकिनक खानेहरूको घुइँचो लाग्छ ।
जखेरा ताल, देउखुरी
देउखुरी उपत्यकाअन्तर्गत लमही नगरपालिकाको सोनपुरमा पर्ने जखेरा ताल जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । पूर्व पश्चिम राजमार्गको उत्तरतर्फ नजिकै पर्ने भएकाले यहाँ जान आउन सजिलो छ । पहाडको फेदीमा रहेको जखेरा ताल डुंगा सयरका लागि समेत उपयुक्त छ । खुला र पर्याप्त ठाउँ भएकाले यहाँ एकैपटक धेरै समूहले पिकनिक खान सक्छन् ।
-दुर्गालाल केसी