साप्ताहिक संवाददाता
हलिउड–बलिउड वा नेपाली चलचित्र कुनै अभिनेता तथा अभिनेत्रीले दुई–तीनवटा चलचित्रमा सँगै काम गर्नेबित्तिकै उनीहरूको नाम जोड्ने क्रम प्रारम्भ हुन्छ । उनीहरू एक–अर्काप्रति आकर्षित भए पनि नभए पनि, एक–अर्कालाई मन पराए पनि, नपराए पनि उनीहरूलाई जबर्जस्ती जोडी बनाउने काम हुन्छ ।
यतिबेला नेपाली चलचित्रमा एउटा यस्तै प्रयास भएको छ । यद्यपि नाम जोडिएकी अभिनेत्रीले त्यसको खण्डन गरिसकेकी छिन् । अभिनयमा प्रशस्त सम्भावना भएकी अभिनेत्री ऋचा शर्माले अभिनेता, निर्देशक तथा लेखक अर्पण थापासँग आफ्नो नाम जोड्नुअघि हजार पटक सोच्न सञ्चारमाध्यमहरूसँग आग्रह गरेकी छिन् ।
‘उहाँ विवाहित हुनुहुन्छ । उहाँसँग कसैको नाम जोड्नुअघि हजार पटक सोच्नुहोला । पटक–पटक सँगै काम गर्नुका पछाडि धेरै कुरा हुन्छन् । उहाँ एउटा स्क्रिप्ट राइटर, कलाकार तथा निर्देशक हुनुभएकाले दुई–चारवटा चलचित्रमा सँगै काम गर्नु संयोग मात्र हो ।’ ऋचा र अर्पणले आधा लभ, सुनकेशरी, फिर्के आदि चलचित्रमा सँगै काम गरेका छन् ।