चिसो बढेसँगै पोखरा क्षेत्रमा पिकनिकको माहोल गजबले जमेको देखिन्छ । पोखरा तथा आसपासमा थुप्रै पिकनिक स्थल छन् । आयोजकहरूले आफ्नो इच्छाअनुसार नजिकै तथा टाढाको पिकनिकस्थल रोज्छन् । पोखराका पिकनिक स्थलमध्ये शान्तिवन वाटिका पिकनिक आयोजना हुने मुख्यस्थल हो । पोखरा बजारमै पर्ने भएकाले यो स्थल धेरैको रोजाइमा पर्छ । यसैगरी पोखरा माटेपानी गुम्बा नजिकै कार्कीडाँडामा रहेको पिकनिक स्थलमा रमाउनेहरू पनि उत्तिकै हुन्छन् ।
रोयल ट्रेकका रूपमा परिचित ठूलाकोट पिकनिक स्थल अहिले धेरैको रोजाइमा पर्न थालेको छ । कास्कीका सात ताल, साविक पोखरा, साविक लेखनाथका थुप्रै क्षेत्रमा धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लमजुङ हिमालका दृश्यसँगै कास्कीका विभिन्न गाउँका दृश्य हेर्दै रमाउने अवसर पाइन्छ । पुम्दीकोट टावरमा पुगेर पिकनिकमा रमाउन लालायित हुनेहरू उत्तिकै हुन्छन् । यहाँबाट पनि विभिन्न रमणिय दृश्य नियाल्दै पिकनिक खान पाइन्छ ।
फेवा, वेगनास, रूपा, मैदी, दिपाङ, खास्टे, न्युरिने, गुँदे तालको किनार पनि पिकनिकमा रमाउनेहरूको रोजाइमा पर्छन् । यसैगरी हेम्जा फेदी, पामे, धम्पुस, लुम्ले, काँडे, रुपाकोर्ट रिसोर्ट नजिकै, धारापानी, शान्तिस्तूपा, दोविल्ला, महेन्द्र गुफा, याम्दी, भुर्जुङखोला, कालिखोला, विजयपुरखोला, खपौदी, माछिकुना आदि ठाउँमा पुगेर पिकनिक आयोजना गर्नेहरू पनि उत्तिकै छन् । यसरी आयोजना हुने पिकनिकमा अधिकांशले क्याटरिङकै सेवा लिन्छन् भने केहीले आफैं पकाउँछन् । केही भने घरबाटै विभिन्न परिकार लाँदै ड्राइ पिकनिकमा रम्छन् ।
त्यसका अतिरिक्त कास्कीका विभिन्न गाउँ, खोला किनारा, समाजघर, पार्टी प्यालेसमा समेत पिकनिक कार्यक्रमको आयोजना गरिएको पाइन्छ । पिकनिक स्थल प्रयोग गरेबापत ठाउँ र समूहअनुसार निश्चित शुल्क तिर्नुपर्ने हुन्छ । चिसो मौसममा घाम लाग्ने पारिलो ठाउँ तथा गर्मी मौसममा खोला किनारा एवं हावा चल्ने डाँडा पिकनिक खानेहरूको रोजाइमा पर्छ । पोखराबाट तनहुँको बन्दिपुर, व्यासगुफा, छाब्दीबराह आदि स्थानमा पिकनिक खान जानेहरू पनि उत्तिकै हुन्छन् ।