चितवनमा पिकनिक खाने गन्तव्यको कमी छैन । अहिले यहाँका पुराना तथा नयाँ गन्तव्यमा पिकनिक जानेहरूको भीड बढ्दै गएको छ । सहरी क्षेत्रभन्दा भित्री ठाउँमा गएर पिकनिक जानेहरू बढी हुन्छन् । सबैभन्दा बढी भीड हुने गन्तव्यमा पर्छ– भरतपुर–१६ स्थित सानोगढी । यो ठाउँमा शनिबारको दिन खुट्टा राख्ने ठाउँ हुँदैन ।
सानोगढीमा एकैदिन ५५ वटा समूहसम्म पिकनिक खाइरहेका भेटिन्छन् । यो ठाउँमा सिजनमा पिकनिक खानेहरूको भीड लाग्छ । नारायणी किनार भएकाले वरिपरिको दृश्यले सबैलाई लोभ्याउँछ । अहिले नदीको पानी घटेको छ ।
ज्ञानेश्वर सामुदायिक वन क्षेत्रभित्र पर्ने यो ठाउँमा ०६३ सालबाट पिकनिक आउनेहरूको भीड बढ्दै गएको हो । यहाँ १० वटा टहरा निर्माण गरिएको छ । भरतपुरबाट ७ किलोमिटर पश्चिम–उत्तरमा पर्ने यो ठाउँमा पिकनिक खानका लागि भैरहवा, तनहुँको दमौली, बाराको कलैयादेखिका मानिस आउँछन् ।वनले एउटा ठाउँको १ हजार ५ सय रुपैंयाँ तथा प्रतिव्यक्ति २० रुपैंयाँ लिन्छ । कार्तिकदेखि चैतसम्म पिकनिक आउने क्रम जारी रहन्छ । सबैभन्दा बढी भीड मंसिर महिनामा हुन्छ । वनले पिकनिकबाटै बार्षिक १७ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ । यहाँ अजिंगर, मृग आदि नजिकबाट हेर्न पाइन्छ ।
चितवनमा अर्को भीड हुने पिकनिक गन्तव्य हो–कंकाली सामुदायिक वन ।
जहाँ ठाउँ–ठाउँमा टहरा बनाइएको छ । खैरहनी नगरपालिका–४ मा पर्ने यो ठाउँमा सार्वजनिक बिदाका दिन पिकनिक आउनेहरूको भीड हुन्छ । यहाँ स्वीमिङमा समेत रमाउन पाइन्छ भने नजिकैको मगर संग्रहालयसमेत हेर्न पाइन्छ । त्यस्तै सौराहा नजिकै रहेको रमाइलो डाँडा, छिमेकी नवलपरासीको गौंडाकोटस्थित मौलाकालिकाको फेदी तथा ब्रिटिस क्याम्पमा समेत पिकनिक खान जानेहरूको कमी हुँदैन ।