साप्ताहिक संवाददाता
सन् २०१८ मा प्रविधि जगत्मा नाम कहलिएका ठूला कम्पनीहरूले पनि विशेष चमत्कार गर्दैछन् । यी कम्पनीहरूले बजारमा नयाँपन अनुभव हुने गरी नयाँ प्रविधिसहितका डिभाइस बजारमा ल्याउने योजनाका साथ आवश्यक तयारी गरिरहेका छन् ।
टेस्लाले सन् २०१७ मै मोडल थ्री नामक विद्युतीय कार सार्वजनिक गरिसकेको छ । अटोमोबाइलको क्षेत्रमा नयाँ सम्भावनाका साथ प्रवेश गर्ने योजना बनाएको टेस्लाको उक्त कार हालसम्म ५ लाख व्यक्तिले प्रिबुक गरिसकेका छन् । यद्यपि कम्पनीले एउटा कार पनि डेलिभरी गरेको छैन । कार बुकिङ गरेपछि सामान्यत: १२ देखि १८ महिना पश्चात मात्र ग्राहकको हातमा पुग्न सक्छ । यो वर्ष टेस्लाको विद्युतीय कार विश्वका धेरै देशका सडकमा गुड्नेछ र विद्युतीय सवारी साधनतर्फ नौलो यात्राको थालनी हुनेछ ।
फेसबुकले पनि ओक्युलस गो नामक सस्तो भीआर हेडसेट ल्याउने योजना बनाएको छ । यसको मूल्य १ सय ९९ डलर मात्र हुने बताइएको छ । यसको प्रयोगका लागि स्मार्टफोन वा पीसीको आवश्यकता पर्दैैन । वर्षको सुरुवाततिरै उक्त हेडसेट बजारमा आउने अनुमान छ ।
गुगलले फेरि अर्को अर्थात हालसम्मको तेस्रो म्युजिक स्ट्रिमिङ सेवा सुरु गर्ने योजना बनाएको छ । गुगलले पहिले पनि गुगल प्ले म्युजिक तथा युट्युब म्युजिक–की उपलब्ध गराइरहेको छ । आगामी मार्च महिनासम्म गुगलले ‘रिमिक्स’ नामक नयाँ म्युजिक स्ट्रिमिङ सेवा प्रारम्भ गर्ने बताइएको छ ।
सामसुङले फोल्डेबल फोन निर्माणका लागि पेटेन्ट प्राप्त गरिसकेको छ । त्यसैले सन् २०१८ मै सामसुङले फोल्डेबल फोन बजारमा ल्याउने अनुमान गरिएको छ । फोल्डेबल प्रविधिमा सामसुङले विगत ६ वर्षयता लगातार अनुसन्धान गरिरहेको छ ।
फिंगरप्रिन्ट स्क्यानर भएको स्मार्टफोन अहिलेसम्म बजारमा उपलब्ध छैन, तर चिनिया कम्पनी भिभोले यो वर्ष यस्तै प्रविधिको फोन बजारमा उतार्ने अनुमान गरिएको छ । त्यसो भयो भने भिभो फिंगरप्रिन्ट स्क्यानर भएको स्मार्टफोन तयार गर्ने संसारकै पहिलो कम्पनी बन्नेछ ।