साप्ताहिक संवाददाता
नेपाली टेबल टेनिसले पाएको सम्भवत: अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हो—नविता श्रेष्ठ । नविता लगातार सात पटककी राष्ट्रिय विजेता हुन् । भर्खर सम्पन्न राष्ट्रिय प्रतियोगिता जितेर उनले यो उपलब्धि हात पारेकी हुन् । यो कुनै पनि खेलका लागि दुर्लभ र आफैमा गर्विलो कीर्तिमान हो । अब एकपटक उपाधि जिते उनले सिजिरिन शाहको नाममा रहेको आठ पटक राष्ट्रिय च्याम्पियन हुने कीर्तिमानसँग बराबरी गर्नेछिन् ।
कसरी सम्भव भयो, लगातार सात पटक उपाधि जित्ने यो उपलब्धि ?
यो उपलब्धि कडा मेहनत र समर्पणकै कारण सम्भव भएको हो । निरन्तर अभ्यास गरिरहें । मेरो आत्मविश्वास पनि बलियो छ ।
उपलब्धि हात पारेपछि कस्तो अनुभव भयो ?
एकदमै खुसी लाग्यो, शिखरमा पुगे जस्तो । यसपटक केही गाह्रो हुने अनुमान थियो, तर पनि जीत सम्भव भयो । वास्तवमै धेरै खुसी छु ।
परिवारकै सदस्यसँग फाइनल खेल्नुपर्दा कस्तो हुन्छ ?
(फाइनलमा प्रतिद्वन्द्वी उनकै नन्द नलिना महर्जन थिइन्) परिवारकै सदस्यसँग फाइनल खेल्दा अझ गाह्रो हुन्छ । अरु प्रतिद्वन्द्वी हुँदा जति जोस र जाँगर हुन्छ, त्यो आफ्नै परिवारको सदस्यसँग खेल्दा नहुँदो रहेछ ।
तपाईलाई फाइनलमा किन अरु खेलाडीले बलियो चुनौती दिन सक्दैनन् ?
सम्भवत: म अरू खेलाडीको तुलनामा बढी मेहनत गर्छु ।
अब के हुन्छ ? आठौं अथवा नवौंपटक उपाधि जित्ने प्रयास हुनेछ ?
पक्कै हुनेछ । त्यसका लागि म थप मेहनत र प्रयास गर्नेछु ।