‘के भूल भो प्रिया, मसँग बोल्दिनौ....’ गाएर स्वदेशमै लोकप्रिय भएका गायक नरेन्द्र प्यासी लामो समयको अन्तरालपछि फेरि अर्काे गीत लिएर आए । म त तिम्रो मान्छे बन्न सकिनँ गीतबाट प्यासीको सांगीतिक पुनरागमन भयो । सन् २०१३ ताकाको यो गीत उनले विदेशमै तयार पारेका हुन् । प्यासी हाल अमेरिकामा छन् । उनले स्वर दिएका ४ सय गीतमध्ये १ सयवटा गीत विदेशमै भएका बेला स्वर दिएका हुन् । प्यासीका अनुसार उनी विदेशमा भए पनि उनका गीतले देशमा आफ्नो अभाव महसुस हुन दिँदैनन् । प्यासी विदेश भएकै बेला सन् २०१३ मा छिन्नलता पुरस्कारसमेत प्राप्त गरेका थिए ।
कुनै बेला लोकगीतहरू सिर्जना गरेर चर्चामा आएका गायक अभय ढुंगेल यतिबेला अमेरिकामा छन् । अमेरिकामा रहेर उनी आफ्नो काममा मात्र सीमित छैनन्, उनी नेपाली गीतिगेडाहरू खेलाउन पनि उत्तिकै व्यस्त रहन्छन् । ‘अकबरी सुनलाई केलाई लाउनु कसी...’ ढुंगेलले अमेरिकी भूमिमै सिर्जना गरेका हुन् । उनकै शब्द तथा संगीतको यो गीत सौखको मात्र उपज हुन्थ्यो भने त्यति मीठो नबन्न सक्थ्यो । अभयले मन निचोरेर निकालेकै हुनाले उक्त गीत धेरै नेपालीको मनमा बस्यो । त्यो गीतको कसी बनेर सन् २०१६ को इमेज एवार्ड देखा पर्यो ।
गायक यम बरालले पनि अमेरिकामै तयार पारिएको गीत मन भमराबाट विन्ध्वासिनी म्युजिक एवार्ड जितेका थिए । बरालले विदेश बसेरै दुई दर्जनभन्दा बढी गीतमा स्वर दिएका छन् । बराल विदेशमा भए पनि, स्वदेशमा भए पनि उनका गीत भने नेपाली बजारमा घन्किरहेकै हुन्छन् ।
विदेश बसेर स्वदेशी वाद्यवादनमा स्वर भर्ने नेपाली कलाकारहरूको सूची लामै छ । प्रेमराजा महत, सपनाश्री, सञ्जीप प्रधान, सरिश्मा अमात्य, राजु लामा, मोहन भुसाल, रोशन गुरुङ, नलिना चित्रकार, कन्हैया सिंह, अञ्जना गुरुङ, दीपेशकिशोर भट्टराई, पवन ओली, सृजन ताम्राकार, मीन दर्लामी, भगवान भण्डारी, सावित्री शाह, रामप्रसाद खनाल, रतन सुवेदी, हरीश माथेमा, सुमन बूढामगर, शान्ति भण्डारी, श्याम गुरुङ, संगीता मुखिया, विश्व तेन्जिङ, पविता परियार, निर्मला भण्डारी, सरीता डाँगी, यम बराल, जगदीश समाल, ओम कर्माचार्य, नरबहादुर दाहाल, निशा सुनार, संगीता थापा मगर, मीन केसी, विकास विष्ट, प्रकाश आचार्य, मीरा गुरुङ, धन लामा, शकुन ज्ञवाली, रमेश थापा, वसन्ती राई, गीता बिर्लाकोटी, प्रेम सेन्चुरी, राजेन्द्र राई, आङ्गेलु शेर्पा, तिलक श्रेष्ठ गणेश पराजुली, सिर्जना लामा, मीन दर्लामी मगर आदि थुप्रै नाम यो सूचीमा छन् । यसमा लोक गीतका कलाकार मात्र नभै सुगम, आधुनिक तथा पपगीतका गायक–गायिकाहरू पनि छन् । कुनै बेला नेपाली संगीतका आइडल मानिने यी कलाकारहरूले अमेरिका पुगेर पनि मादल, सारंगी अनि बाँसुरीका धुन बिर्सन सकेका छैनन् ।
यही सूचीमा छुट्न नहुने अर्का गायक हुन्–विमल डाँगी । ३ सय गीत रेकर्ड गराइसकेका डाँगीले अमेरिकामै बसेर करिब ३० वटा गीत गाए भने ४० वटा गीत सिर्जना गरे । अमेरिकी भूमिमा सिर्जना भएका उनका गीत नेपालका रेडियो–टिभीमा दिनहुँजस्तो घन्किन्छन् । उनका गीतले पनि २०७१ सालमा कान्तिपुर एफएमबाट सबैभन्दा बढी बजेका कारण उत्कृष्ट लोकगायकको सम्मान प्राप्त गरेका थिए ।
संगीतकार तथा गायक कन्हैया सिंह अमेरिकामा गीत–संगीत सिर्जना गरिरहन्छन् । रेकर्डका लागि भने उनी नेपाल नै पुग्छन् । कन्हैयाको स्वरको मुटुमा पीडा भए पनि म्युजिक खबर म्युजिक एवार्ड प्राप्त गर्न सफल त्यो गीत हो, जुन अमेरिकामा जन्मियो । लोक गायक रामप्रसाद खनालले पनि नेपाल गएका बेला अमेरिकामा सिर्जना गरेको तीज गीत रेकर्ड गराएर एवार्ड नै पाए । सपनाश्री तथा जगदीश समाल पनि अमेरिकामै नेपाली गीत सिर्जना गरी स्वदेशका रेडियो, टिभी घन्काउने कलाकार हुन् ।
गायिका अन्जना गुरुङ, सपनाश्री, गम्बु शेर्पा पनि अमेरिकामा बसेर नेपाली गीत–संगीतमा योगदान गर्ने कलाकार हुन् । गम्बुले त अमेरिकामै बसेर ७० वटा नेपाली गीतमा स्वर भरिसकेका छन् । गम्बुको पोल्टामा धेरै प्रकारका एवार्ड परेका छन् । गम्बु शेर्पा सेलो सँगै शेर्पा भाषाको आधुनिक तथा पप गीतहरूमा समेत स्वर दिन्छन् । सन्जोग लामा पनि सेलो संगीत लिएर अमेरिकामात्र होइन, देश–देशावर घुमिरहन्छन् ।