साप्ताहिक संवाददाता
अघिल्लो वर्ष व्यवसायिक रूपमा सफल भएको चलचित्र ‘छक्कापञ्जा’ ले मंगलबार काठमाडौंमा प्रदान गरिएको तेस्रो संस्करणको कामना फिल्म एवार्ड्स–२०७४ सर्वाधिक ८ विधामा एवार्ड जितेको छ । दीपाश्री निरौलाद्वारा निर्देशित उक्त चलचित्र सर्वाधिक १७ विधामा मनोनीत थियो ।
चलचित्र छक्कापञ्जाले सर्वोत्कृष्ट चलचित्रसहित दीपाश्री निरौला (नव–निर्देशक), दीपकराज गिरी (खलपात्र), केदार घिमिरे (हास्यकलाकार), जितु नेपाल (सह–अभिनेता), दीपकराज–केदार–जितु (संवाद) तथा कविराज गहतराज (नृत्य निर्देशक) ले एवार्ड जितेका हुन् । यही चलचित्रको सुन न चम्पा गीतका लागि गायक कृष्ण काफ्लेले उत्कृष्ट गायकको एवार्ड हात पारे ।
सञ्चाकर्मी नरेश भट्टराई, मिस नेपाल–२००५ सुगरिका केसी तथा अभिनेताद्वय जितु नेपाल र सुनिल थापाले आकर्षक शैलीमा सञ्चालन गरेको उक्त समारोहमा नौ विधाको मनोनयनमा परेको चलचित्र डाइङ क्यान्डलले जुरी एवार्डसहित सर्वोत्कृष्ट अभिनेत्री (सिर्जना सुब्बा), छायाँकार (रवीन आचार्य), बालकलाकार (लाक्पा सिंगे लामा) तथा श्रृंगार (सरोज बुढाथोकी) विधागरी दोस्रो सर्वाधिक ५ विधामा एवार्ड जित्यो ।
समारोहमा चलचित्र जात्राबाट बिपिन कार्कीले सर्वोत्कृष्ट अभिनेताको एवार्ड जिते भने यही चलचित्रका निर्देशक प्रदीप भट्टराई उत्कृष्ट पटकथाकारका रूपमा पुरस्कृत भए ।
चलचित्र गाजलुले सर्वोत्कृष्ट निर्देशक तथा कथा (हेमराज बिसी), नव–अभिनेत्री (सृष्टि श्रेष्ठ), ध्वनि मिश्रण (उत्तम न्यौपाने) तथा सम्पादक (सुरेन्द्र पौडेल) गरी पाँच विधामा एवार्ड जित्यो ।
यसैगरी चलचित्र के म तिम्रो होइन सर्वोत्कृष्ट नवनायक (आर्यन अधिकारी), द्वन्द्व निर्देशक (हिमाल केसी) तथा पाश्र्व संगीत (एलिस कार्की) गरी तीन विधामा एवार्ड जित्न सफल भएको छ ।
गौरी मल्लले चलचित्र होमवर्कका लागि उत्कृष्ट सह–अभिनेत्रीको एवार्ड प्राप्त गरिन् भने गायिका अञ्जु पन्तले चलचित्र किस्मत–२ का लागि उत्कृष्ट गायिकाको एवार्ड हात पारिन् । उत्कृष्ट गीतकारको एवार्ड चलचित्र शब्दका लागि डा. कृष्णहरि बरालले जिते । उत्कृष्ट संगीतकारको एवार्ड भने चलचित्र लुट–२ को ठमेल बजार...गीतका लागि संगीतकार तथा गायक कालीप्रसाद बासकोटालाई प्रदान गरियो ।
एसएमएसका आधारमा विजेता घोषणा गरिने लक्स पपुलर च्वाइस एवार्ड भने नायिका केकी अधिकारीले जितिन् । केकीले उक्त एवार्ड जित्ने क्रममा वर्षा राउत, प्रियंका कार्की, ऋचा शर्मा तथा सृष्टि श्रेष्ठ निराश बनाएकी थिइन् ।
समारोहमा संगीततर्फ गायिका इन्दिरा जोशी, फेसनतर्फ रचना गुरुङ शर्मा तथा रंगकर्मतर्फ राज शाहले क्रिटिक्स एवार्ड प्राप्त गरे ।
त्यसअघि कार्यक्रमको प्रँरम्भमा स्वरसम्राट् नारायण गोपालप्रति श्रद्धासुमन अर्पण गर्दै गायक रामकृष्ण ढकालले स्वरसम्राट्कै भेषमा उनका कालजयी चलचित्र गीतहरू प्रस्तुत गरेका थिए । मदनकृष्ण श्रेष्ठ, प्रेमध्वज प्रधान, तारा थापा, शम्भुजित बाँसकोटा, आनन्द कार्की, मीना निरौला, युवराज चौलागाईं, यम बराल, कृष्ण काफ्ले, ताराप्रकाश लिम्बू आदि गायक–गायिकाको प्रस्तुतिले मनोरञ्जक बनेको कामना एवार्ड वितरण समारोहमा प्रियंका कार्की, दीपाश्री निरौला, केकी अधिकारी, राजाराम पौडेल, पल शाह, आँचल शर्मा आदि कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
समारोहमा कलातर्फ अभिनेता तथा रंगकर्मी दम्पती हरिहर शर्मा र शकुन्तला शर्मा तथा प्रविधितर्फ छायांकार तथा निर्देशक मञ्जुकुमार श्रेष्ठ कीर्तिमय दीर्घ योगदानबाट सम्मानित भए ।