साप्ताहिक संवाददाता
सुवास जिसीको निर्देशनमा नयाँ चलचित्र ‘फल्ट’ बन्ने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । चलचित्रले सभ्य भनिएका व्यक्तिहरुले समाजमा गर्ने नकारात्म काम र त्यसको असरलाई उठान गर्ने निर्देशक जिसीले बताएका छन् ।
चलचित्र निर्माणको औपचारिक घोषणामा पुगेका पूर्वसभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङले नेपाली राजनीति जस्तै चलचित्र क्षेत्रमा पनि हुने उतारचढावलाई आफूले नजिकबाट नियाल्ने गरेको बताए ।
यस्तै चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गर्ने किसिमका चलचित्र बनिरहेका बेला ‘फल्ट’ले त्यही बाटोलाई समात्नेमा आफू ढुक्क रहेको बताए । कार्यक्रममा प्रहरी अतिरिक्त नायब महानिरिक्षक सुदीप आचार्यले पनि शुभकामना दिएका थिए ।
शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेलले चलचित्रको शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । फागुनको पहिलो साताबाट फ्लोरमा जाने चलचित्रमा सन्तोष काफ्लेको लगानी रहने छ ।
चलचित्रमा सन्तोष काफ्लेको कथा, सुवास जिसीको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, विश्व देवकोटाको गीत र बासु बरालको छायांकन रहने छ । इलाम, झापा, मोरङ र काठमाडौं विभिन्न स्थानमा छायांकन गरिने यो चलचित्र आउँदो बैशाखको तेस्रो साता प्रदर्शनको तयारी रहेको निर्माण टीमले जनाएको छ ।