काठमाडौंको भृकुटीमण्डपमा यो वर्षको प्रविधि मेला क्यान इन्फोटेक–२०१८ सम्पन्न भएको छ । मेलाले यो वर्ष नेपाल भित्रिएका विभिन्न नयाँ प्रविधिका बारेमा सर्वसाधारणलाई जानकारी गराउने आफ्नो उद्देश्य पूरा गरेको छ ।
मेलामा विशेष गरी इन्टरनेट सेवाप्रदायक कम्पनी, स्मार्टफोन र ट्याब्लेट, ल्यापटप/कम्प्युटर एवं कम्प्युटर एसेसरिज, डिजिटल टिभी, सफ्टवेयर, मोबाइल वालेट, एन्टिभाइरस, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, आइटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटहरूले आ–आफ्ना वस्तु एवं सेवाको ब्रान्डिङ गर्नुका साथै आकर्षक क्यान अफर समेत राखेका थिए ।
शीर्ष प्रायोजक सुबिसु केबलनेटले आफ्नो ब्रान्ड प्रवद्र्धन गर्न दुई महिनासम्म क्लियर टिभी प्रिमियम प्याकेजसहित १५ र ८ एमबिपीएस अनलिमिटेड इन्टरनेट सेवा प्रदान गरेको थियो । इन्फोटेकको सहशीर्ष प्रायोजक मोटोरोलाले आफ्नो मिड रेन्ज स्मार्टफोन ई ४ प्लसको विशेष प्रदर्शनी गर्यो । प्लाटिनम स्पोन्सर वल्र्ड्लिंकले ल्याएको नयाँ प्रविधि स्मार्टहबमा अवलोकनकर्ताको प्रशस्त आकर्षण रहेको पाइयो । त्यसैगरी विभिन्न ब्रान्डका ल्यापटप तथा मोबाइल आदिका स्टलमा समेत विशेष भीड देखियो ।
नेपाल टेलिकमले अन्य विभिन्न स्किमका साथै बसहरूमा इन्टरनेट चलाउन आवश्यक एनटी बस इन्टरनेट सेवाका सम्बन्धमा जानकारी प्रदान गरेको थियो । नेपाल टेलिकमले साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा उपलब्ध गराएको हो । यसबाट लामो तथा छोटो दूरीका बस यात्रुहरूले यात्राका क्रममा वाइफाइमार्फत नि:शुल्क इन्टरनेट, भिडिओलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्छन् ।
क्यान इन्फोटेक–२०१८ मा अनलाइन ट्याक्सी सेवा उपलब्ध गराउने विभिन्न कम्पनीले समेत आफ्ना सेवाका बारेमा जानकारी प्रदान गर्ने अवसर प्राप्त गरे । ट्याक्सी सुविधा उपलब्ध गराउने ‘सारथि’ ले हाल काठमाडौं उपत्यकामा फोन गरेकै भरमा घरैमा आएर मिटरमा लागेको भाडामार्फत ट्याक्सी सेवा उपलब्ध गराइरहेको छ । सारथिको स्टलमा यसका बारेमा बुझ्न चाहनेहरूको भीड देखिन्थ्यो ।
सारथिको सेवा लिन चाहनेहरूले ९८१०१००६०० नम्बरमा सीधा फोन गर्छन् र ट्याक्सी बुक गर्छन् । त्यसैगरी राजधानी क्याब अर्को महत्वपूर्ण स्टल थियो । राजधानी क्याबको एप्स डाउनलोड गरी ट्याक्सी मात्र नभएर जुनसुकै सवारी साधन बुकिङ गर्न सकिने सुविधा उपलब्ध गराइएको छ । मेलामा प्रमाणीकरण नियन्त्रकको कार्यालयले डिजिटल हस्ताक्षरका फाइदाका सम्बन्धमा जानकारी प्रदान गरेको थियो ।
करिब एक वर्ष पहिले सार्वजनिक भएको खल्ती एपले आफ्नो एपका बारेमा आवश्यक जानकारी प्रदान गरेको थियो । खल्ती एउटा ई–वालेट अर्थात विद्युतीय थैली हो । यसले सरल एवं सुरक्षित अनलाइन भुक्तानी गर्न मद्दत गर्छ । यसको प्रयोग गरी मोबाइल रिचार्ज गर्न, टेलिफोन तथा बिजुलीको बिल तिर्न अनि अनलाइन टिकट बुकिङ गर्न सकिन्छ । यसको सहयोगले अन्य खल्ती प्रयोगकर्ताहरूसँग लेनदेनको कारोबार समेत गर्न सकिन्छ ।
मेलाकै अवसर पारी नेपालमा सार्वजनिक गरिएको नयाँ प्रविधिअन्तर्गत पाइना ओभरसिजले ‘स्मार्ट हेल्थ एनालाइजर’ उपलब्ध गराएको छ, यसले क्वान्टम सेन्सरको माध्यमबाट ब्लड तथा युरिन टेस्टबिनै फुल बडी चेकअप गर्न सक्छ । यसबाट शरीरका ३९ वटा रोग वा स्वास्थ्य स्थिति पत्ता लगाउन सकिने जानकारी कम्पनीले दिएको छ ।
मेलाका अवसरमा हाइसेन्सका ६५ इन्चसम्मका टिभी २० प्रतिशत छुटसहित प्रदर्शनमा राखिएका थिए । हुवावेको नोभा–२ मोडलको स्मार्टफोनले प्रयोगकर्ताको मन लोभ्याएको थियो भने साओमी नेपालले क्यान इन्फोटेकमार्फत एमआई ब्रान्डका नयाँ स्मार्टफोनका अतिरिक्त इको प्रोडक्टहरूको बजार प्रवद्र्धन गरेको थियो ।
लिभ स्मार्ट नामक कम्पनीले ल्याएको वायरलेस डिस्ट्रिब्युसन कन्ट्रोल बक्समा अवलोकनकर्ताको आकर्षण निकै देखियो । यो सिस्टमबाट मोबाइल एपमार्फत् घरको एमसी, एलइडी/ट्युबलाइट, फ्रिज, सिएफएल आदि विद्युतीय सामग्रीहरू खोल्न, बन्द गर्न एवं निगरानी गर्न सकिन्छ । मेलामा नेपालमै बनेका सफ्टवेयरहरूको विशेष प्रदर्शनी समेत गरिएको थियो ।
स्टार्टअप र विद्यार्थीले बनाएका विभिन्न आइटी एवं इन्जिनियरिङ प्रोडक्टहरूले पनि अवलोकनकर्ताको ध्यान तानेका थिए । यसपटक नयाँ प्रविधि प्रदर्शन गर्न हार्डवेयरका अतिरिक्त सञ्चार, सफ्टवेयर, आइटी स्टार्टअप तथा विश्वविद्यालय एवं कलेजका स्टलहरूसमेत इन्फोटेका सहभागी भएका थिए ।
मेलाका अवसरमा विभिन्न कम्पनीले आफ्ना एन्टी भाइरसमा विशेष छुट प्रदान गरेका थिए । हाइ पावरका नेटिस राउटरको खरिदमा आकर्षक छुटका अतिरिक्त बुलगार्ड इन्टरनेट सेक्युरिटी नि:शुल्क प्रदान गरिएको थियो ।
कास्परस्की एन्टी भाइरसको खरिदमा ३० देखि ४० प्रतिशतसम्मको छुटका साथमा एक हजार रुपैयाँ पर्ने ल्यापटप ब्याग नि:शुल्क प्रदान गरिएको थियो । ई स्क्यान एन्टी भाइरस र इन्टरनेट सेक्युरिटीको खरिदमा ६ देखि १५ सय रुपैयाँसम्म छुट एवं ६ महिनाको मोबाइल सेक्युरिटी नि:शुल्क दिइएको थियो ।
प्रदर्शनीमा फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, सिसिटिभी, जेनरेटर, ब्याट्री, सोलार, युपीएस, ल्यापटप तथा एन्ड्रोइड स्मार्ट टिभी, स्मार्टफोन/ट्याब्लेट, एन्टीभाइरस तथा इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ आदिका स्टलले आफ्ना उत्पादनको प्रवद्र्धनमा आकर्षक अफर ल्याएका थिए ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका २ सय २२ स्टल थिए ।