साप्ताहिक संवाददाता
मौसम घुमाघामको छ । धेरै नेपाली यो मौसममा देशभित्रै घुम्न निस्कन्छन् । यसरी घुम्दा पूर्वको ताप्लेजुङदेखि पश्चिम महाकालीसम्मका विभिन्न गन्तव्य नै आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने गरेका छन् । इलाम, कन्याम, धरान, भेडेटार, कोसीटप्पु, जनकपुरधाम, सौराहा, उपत्यका र आसपासका क्षेत्र, पोखरा, मनाङ, मुस्ताङ, लुम्बिनी, घोडाघोडी ताल आदि स्थानको भ्रमणमा निस्कने धेरै हुन्छन् । कतिपयले छोटो अवधिका लागि यो समयको सदुपयोग गर्छन् भने कसैले डेढ–दुई सातासम्मको घुमघामको योजना बनाएका हुन्छन् । यसरी घुमघामको योजना बनाउनुअघि र घुमघाममा निस्किसकेपछि केही कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ ।
यात्रामा निस्कनुअघि कति दिनको यात्रामा निस्कने हो योजना बनाउनुपर्छ । सामान्यत: लामो यात्रामा निस्कदा कम्तीमा पनि तीन जनाको समूह बनाएर निस्कनुपर्छ । किनभने यसरी यात्रामा निस्कदा कुनै एकलाई समस्या भए एक जनाले रुँगेर बस्ने र अर्कोले तत्काल सहयोग जुटाउन तथा सूचना पठाउन सहज हुन्छ । आफू यात्रामा निस्किएको क्षेत्रको भौगोलिकदेखि लिएर मौसमको अवस्थाका बारेमा जानकारी लिनुपर्छ अनि त्यसलाई आधार मानी व्यवस्थित रूपमा यात्रामा निस्कनु उपयुक्त हुन्छ ।
जति लामो समयको यात्रा गर्ने हो त्यति नै व्यवस्थित हुनुपर्छ । घुमघाम गर्ने स्थानको खाना एवं बस्ने व्यवस्थासम्बन्धी जानकारी पहिले नै लिनुपर्छ र सोहीअनुसार आफूले बोक्ने सामग्री व्यवस्थापन गर्नुपर्छ ।
प्राथमिक उपचार : घुमघाममा निस्कदा प्राथमिक उपचारका लागि आवश्यक औषधिजन्य सामग्रीहरू अनिवार्य रूपमा बोक्नुपर्छ । यात्रामा अकस्मात् चोटपटक लाग्ने, हातगोडा दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने आदि हुनसक्छ । त्यसैले बेटाडिन, ब्यान्डेज, सिटामोल, भिटामिन सी, सिनारेस्ट, कफ सिरप आदिका साथै पीडा कम गर्ने औषधि अनिवार्य बोक्नुपर्छ । बाहिरको खानपानले स्वास्थ्यमा असर पार्ने हुँदा ग्यास्ट्राइटिसको समस्या कम गर्ने औषधि, पुनर्जलीय झोलको प्याकेट आदि पनि साथमा राख्नुपर्छ । कुनै दीर्घ रोग छ वा नियमित औषधि सेवन गरिएको छ भने आफ्नो औषधि बोक्न बिर्सनु हुँदैन । जस्तै अंग प्रत्यारोपण गरेकाहरू, उच्च रक्तचाप तथा मधुमेहको समस्या भएकाहरूले आफ्नो औषधि अनिवार्य साथमा राख्नुपर्छ ।
न्याना कपडा : जाडो मौसम भएकाले यो सिजनमा घुम्न निस्कनेहरूले ठाउँ हेरी न्याना पहिरनको प्रबन्ध गर्नुपर्छ भने दह्रो र हिँड्न सहज हुने जुत्ताको व्यवस्था गर्नुपर्छ । घुमघाममा निस्कदा विशेष गरी स्पोर्ट्स जुत्ता र ट्रयाकसुटका साथै हल्का तर न्याना ज्याकेट बोक्नु उपयुक्त हुन्छ ।
क्यामेरा : मानिसहरू रमाइलोका लागि घुमघाममा निस्कन्छन् । त्यसलाई अविस्मरणीय बनाउन घुमेका ठाउँहरू कैद गर्ने सामग्री हुनु अझ राम्रो हुन्छ । आफ्नो क्षमता र सीपअनुसार क्यामेरा तथा सेल्फी स्टिक बोक्नु उपयुक्त हुन्छ । अहिले मोबाइलमै क्यामेरा हुने हुँदा त्यसबाट समेत काम चलाउन सकिन्छ ।
स्लिपिङ ब्याग : यात्रामा निस्कदा भौगोलिक अवस्था एवं बसोबासको सुविधासम्बन्धी जानकारी पहिले नै लिनु उपयुक्त हुन्छ । यदि लामो घुमघाममा निस्कदै हुनुहुन्छ भने राति सुत्नका लागि आफ्नै स्लिपिङ ब्याग बोक्नु उपयुक्त हुन्छ । लामो पैदल यात्राका क्रममा कतिपय ठाउँमा आफ्नै स्लिपिङ ब्याग प्रयोग गर्नुपर्ने हुन सक्छ ।
ड्राइफुड : यात्रा भनेको एउटा संयोग पनि हो । सधै सबै ठाउँ एकनासको नहुन सक्छ । तपाईं घुम्न गएको ठाउँमा कुनै समस्याले गर्दा कहिलेकाहीँ खानपानको व्यवस्था नहुन सक्छ । त्यस्तो अवस्थाका लागि हल्का ड्राइफुड आफैले बोकिरहनुपर्छ । कम्तीमा पनि दुई छाक केही पनि खान नपाउँदा आफैले बोकेको चीजले थेग्न सकियोस् ।
थर्मस र पीयुष : यात्रा गर्दा पसिनाका रूपमा शरीरबाट प्रशस्त पानी निस्कन्छ र शरीरमा पानी कम हुने हुँदा आलस्य लाग्न सक्छ । त्यसलाई पूर्ति गर्न पनि बारम्बार पानी पिउनु आवश्यक हुन्छ तर सबै ठाउँमा पानी नपाइन सक्छ त्यसैले एउटा हल्का थर्मस अनिवार्य बोक्नुपर्छ भने बाटोमा पाइएको पानीलाई निर्मलीकण गरी पिउन पीयूष पनि साथमा राख्नु उपयुक्त हुन्छ ।
कसरी घुमघाम गर्ने ?
घुमघाममा निस्कदा धेरै ठूलो समूह पनि उपयुक्त हुँदैन । ठूलो समूहमा सबैको मन नमिल्न सक्छ । त्यसरी मन नमिले यात्रा स्मरणीय हुन सक्दैन । कम्तीमा पनि सामान्य कुरामा एकमत हुने जमातको घुमघाम स्मरणीय हुन्छ । लामो घुमघाममा छिटो–छिटो हिँड्नु हुँदैन । त्यसले चाँडै थकाउँछ । अर्को कुरा घुमघाममा निस्कनु भनेको सम्बन्धित ठाउँको दृश्यावलोकन, ऐतिहासिक–भौगोलिक जानकारी, सामाजिक रहनसहन एवं धार्मिक रीतिरिवाजका बारेमा जान्नु–बुझ्नु पनि हो तर हतार गर्दा त्यो स्थानलाई समग्र रूपमा हेर्न–बुझ्न सकिँदैन ।
दगुर्नु हुँदैन भन्दैमा आफूले तय गरेको दूरी नै पार गर्न नसक्ने गरी अलमलिनु हुँदैन । आफ्नो गन्तव्यसम्मको यात्रालाई ध्यानमा राखेर हिँड्नु उपयुक्त हुन्छ । यदि पहिलोपटक नयाँ ठाउँको घुमघाममा हुनुहुन्छ भने जानकार व्यक्तिहरूले दिएको निर्देशन राम्रोसँग पालना गर्नुपर्छ । कहिलेकाहीँ त्यस्तो निर्देशन नमान्दा अनाहकमा दु:ख पाइन सक्छ ।
यात्रा टिप्स
यात्रामा जानुअघि सजिला पहिरन छनौट गर्नुपर्छ । गरगहना तथा फर्मल वेयर सकेसम्म बोक्नु हुँदैन । धेरै गरगहना बोक्यो भने हराउने डर हुन्छ भने फर्मल वेयर यात्रामा खासै प्रयोग गरिंँदैन ।
यात्रा जति लामो हुन्छ त्यति नै झोलाको संख्या घटाउनु उचित हुन्छ । धेरै झोला बोक्दा झन्झट पनि उत्तिकै हुन्छ ।
कुन ठाउँको भ्रमणमा जाने हो सोहीअनुसार बजेट बनाउनुपर्छ । यात्राका क्रममा खर्च सकिएर गाह्रो पर्न सक्छ ।
बसबाट लामो यात्रा गर्दै हुनुहुन्छ भने घरमै केही खानेकुुरा बनाएर बोक्न सकिन्छ । बाटोमा
पाइने खानाले स्वास्थ्य बिगार्न सक्छ ।
बसमा यात्रा गर्दा भोमिट हुने अथवा स्वास्थ्यसम्बन्धी अरु कुनै समस्या उत्पन्न हुने सम्भावना छ
भने आवश्यक औषधिहरूसमेत बोक्नुपर्छ ।