साप्ताहिक संवाददाता
बर्सेनि सयौं चलचित्र निर्माण तथा प्रदर्शन हुने बलिउडमा हरेक वर्ष नयाँ–नयाँ अनुहारको पदार्पण भैरहन्छ । तीमध्ये कोही सफल हुन्छन् भने कोही असफल । वर्ष २०१८ मा पनि बलिउडमा थुप्रै नयाँ अनुहारले पदार्पण गर्दैछन् । रमाइलो कुरा के छ भने यसरी पदार्पण गर्नेहरूमा बलिउडकै स्थापित अभिनेता–अभिनेत्रीका छोरा–छोरीहरूको संख्या बढी छ ।
सैफ अलि खान तथा उनकी डिभोर्सी श्रीमती अमृता सिंहकी छोरी सारा अलि खान वर्ष २०१८ मै प्रदर्शन हुने चलचित्र केदारनाथमार्फत दर्शकमाझ पुग्दैछिन् । चलचित्र प्रदर्शन हुनुअघि नै साराले सुपरस्टार खान अभिनेत्रीको उपनाम पाइसकेकी छिन् । निर्देशक अभिषेक कपूरले निर्देशन गरिरहेको उक्त चलचित्रमा साराले अभिनेता सुशान्त सिंह राजपूतको साथ पाएकी छिन् ।
कुनै बेलाकी सुपरस्टार श्रीदेवीले आफ्नी छोरी जान्हबी कपुरलाई यही वर्षदेखि बलिउडको यात्रा गराउँदैछिन् । श्रीदेवीका दुई छोरीमध्ये जान्हबीले चलचित्रमा पदार्पण गर्न लागेकी हुन् । करण जौहरले निर्माण गरिरहेको मराठी चलचित्र सैराठको हिन्दी संस्करणमार्फत जान्हबी दर्शकमाझ आउनेछिन् । धडक शीर्षक राखिएको उक्त चलचित्रमा जान्हबीलाई इशान खट्टरलेसाथ दिँदै छन् । यो चलचित्र जुलाई ६ का दिन प्रदर्शनमा आउने तय भएको छ ।
अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले पनि यही वर्ष बलिउडमा पदार्पण गर्ने निश्चित भएको छ । १८ वर्षीया अनन्यालाई करण जौहरले आफ्नो नयाँ चलचित्र स्टुडेन्ट अफ द इयर–२ मार्फत पदार्पण गराउँदैछन् । उक्त चलचित्रमा अनन्याका साथ अभिनेता टाइगर श्राफ हुनेछन् । अनन्यालाई बलिउडकी सुन्दर अभिनेत्रीको उपाधि मिल्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनको सुन्दरताको वर्णन गर्दै निर्देशक फराह खानले उनी चंकी पाण्डेको छोरी कसरी भइन् भन्ने जिज्ञासा समेत राखेको बताइन्छ ।
बलिउडकर्मी नीलिमा अजीम तथा राजेश खट्टरका छोरा ईशन खट्टर पनि यही वर्षदेखि बलिउडमा प्रवेश गर्दैछन् । श्रीदेवी–बोनीकपूर पुत्री जान्हवीसँगै उनी पनि करण जौहरको चलचित्र धडकमार्फत अभिनयमा पदार्पण गर्दैछन् ।
अभिनेता सुनील शेट्टीले आफ्नी छोरी अथिया शेट्टीलाई केही अघि नै बलिउडमा पदार्पण गराइसकेका छन् । अथिया चलचित्र हिरोमार्फत बलिउडमा आएकी थिइन्, यद्यपि उनको अभिनयलाई दर्शकले रुचाएको पाइएन । अहिले सुनिलले आफ्ना छोरा अहान शेट्टीलाई अभिनेताका रूपमा पदार्पण गराउने निर्णय गरेका छन् । अहान फिल्म निर्माता साजिद नाडियाडवालाको नयाँ चलचित्रमार्फत दर्शकमाझ आउँदैछन् । साजिदले यसअघि ज्याकी श्राफका छोरा टाइगर श्राफलाई चलचित्रमा पदार्पण गराएका थिए ।
धर्मेन्द्रका नाति तथा सनी देवलका छोरा करण देवल पनि अभिनेता बन्ने भएका छन् । करणले चलचित्र पल पल दिलके पासमार्फत बलिउडमा पाइला राख्न लागेका हुन् । यो चलचित्रको निर्देशन सनी देवलले नै गर्दैछन् । सनीले छोरालाई पदार्पण गराउने चलचित्रलाई आफ्नो ड्रिम प्रोजेक्टसमेत भनेका छन् ।