साप्ताहिक संवाददाता
म झन्डै एक दशकभन्दा लामो समयदेखि गीत रचनाको क्षेत्रमा सक्रिय छु । यो अवधिमा मैले रचना गरेर रेकर्ड भएका गीतको संख्या नै एक सय नाघिसकेको छ । मैले रचना गरेर सर्वाधिक लोकप्रिय भएको पहिलो गीत हो— न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई । मैले उक्त गीत कक्षा १२ को परीक्षा दिएर फुर्सदमा बसेका बेला रचना गरेको थिएँ ।
संगीतकार महेश खड्काको जादुई संगीत तथा गायिका अञ्जु पन्तको कर्णप्रिय स्वरले उक्त गीतलाई अत्यधिक लोकप्रिय मात्र बनाएन, मलाई स्थापित गीतकार समेत बनायो । मैले उक्त गीतबाट नेपालमा प्रदान गरिने प्राय: सबैजसो एवार्ड जितेँ । उक्त गीत मेरै एकल रचनाको गीति एल्बम ‘किरण’ मा समावेश गरिएको थियो, जसमा मैले आफैंले लगानी गरेको थिएँ ।
२०६४ सालमा प्रकाशित उक्त एल्बममा समावेश उक्त गीतको म्युजिक भिडियो केही ढिला गरी तयार भयो तै पनि उक्त भिडियोले १२ लाख भन्दा बढी भ्यु पाएको छ । उक्त गीतको सफलताकै कारण पछिल्लो एक दशक भित्र मैले ९ वटा एकल एल्बम सार्वजनिक गरिसकेको छु । ‘रुपम’ मेरो नवौं एल्बम हो ।