साप्ताहिक संवाददाता
अचेल गायक सत्यराज आचार्यको दैनिकी फेरिएको छ । कुनै बेला बिहानैदेखि रियाजमा तल्लीन हुने यी गायक पछिल्ला केही सातायता अर्कै काममा व्यस्त हुन थालेका छन् । आफूले अभिनय गरेको चलचित्र ‘साढे ७’ को प्रदर्शन मिति नजिकिँदै जाँदा अभिनेता तथा गायक सत्यराजको मुटुको धड्कनसमेत बढेको छ । भारतले नेपालमाथि गरेको नाकाबन्दीमा आधारित यो चलचित्रमा सत्यराज मुख्य भूमिकामा छन् ।
चलचित्रमा उनले सञ्चारकर्मीको भूमिका निर्वाह गरेका छन् । सत्यराजले चलचित्रमा अभिनय मात्र गरेका छैनन्, उनी चलचित्रका एक निर्माता समेत हुन् । ‘अभिनय मात्र गरेको भए पनि धपेडी त यस्तै हुन्थ्यो होला, आइतबार साँझ भेटिएका सत्यराज भन्दै थिए– ‘तर निर्माता समेत भएपछि त तनावै हुने रहेछ !’
साम्तेन भुटियाद्वारा निर्देशित यो चलचित्रमा सत्यराजले दुई भिन्न अभिनेत्रीसँग रोमान्स गर्ने अवसर पाएका छन् । एकातिर उनी सुप्रिया कटवालसँग अनस्क्रिन रोमान्स गरिरहेका देखिन्छन् भने अर्कातिर उनलाई अभिनेत्री मेनुका प्रधानले समेत साथ दिएकी छिन् । फागुन ११ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रले निर्मातालाई साढे सातको दशा लगाउँछ कि उक्त दशाबाट मुक्ति दिलाउँछ, हेर्न बाँकी नै छ ।