साप्ताहिक संवाददाता
चलचित्र विकास बोर्डको अध्यक्ष पद झन्डै ६ महिना खाली भयो । राजकुमार राई बिदा भएपछि खालि भएको पदका लागि आवेदन नै खुला गरियो र त्यसमा एक दर्जन प्रतिस्पर्धीलाई पाखा लगाउँदै गोपीकृष्ण मुभिजकी निकिता पौडेलले बाजी मारिन् । निकिता अध्यक्ष बन्ने बित्तिकै चलचित्र क्षेत्रबाटै आलोचनाको शिकार भइन्, यद्यपि नियुक्त भएको केही सातापछि नै उनले चलचित्र क्षेत्रलाई नै फाइदा हुने कामहरू गर्न थालेकी छिन् ।
सर्वप्रथम उनले भारतको पुनास्थित अभिनय प्रशिक्षण संस्थासँग सम्झौता गर्दै झन्डै चार दर्जन नेपाली कलाकारलाई प्रशिक्षणको जाँचोपाँजो मिलाइन् । प्रशिक्षण लिने कलाकारहरूको छनौट अहिले अन्तिम चरणमा पुगेको बताइन्छ । यसै सातामात्र निकिताले आफ्नो दोस्रो काम सार्वजनिक गरेकी छिन् । लामो समयदेखि नेपाली चलचित्रका लागि बक्स अफिस लागू गर्ने योजना कागजमा मात्र सीमिति भैरहेका बेला निकिताले आगामी वैशाखदेखि उक्त नियम लागू हुने परिपत्र नै गरिसकेकी छिन् ।
बोर्डको हालैको बैठकले चलचित्र क्षेत्रको विकासका लागि अत्यन्त महत्वपूर्ण मानिएको बक्स अफिस प्रणाली २०७५ सालको असार महिनादेखि लागू हुने निर्णय गरेको छ । वैशाख १ गतेदेखि परिक्षण तथा साउन १ देखि काठमाडौंमा तथा माघ १ गतेदेखि काठमाडौं बाहिर यो नियम लागू हुनेछ । यसअघि मल्टिप्लेक्सले आफ्नै प्रकारको बक्स अफिस सञ्चालन गरे पनि देशभरिका सिंगल थिएटरमा यो नियम लागू छैन । बक्स अफिस लागू हुँदा एउटा चलचित्रको देशभरीको व्यापार एकै ठाउँमा आउँछ, जसले चलचित्रका निर्मातालाई समेत ठूलो राहत दिन्छ ।