साप्ताहिक संवाददाता
गत साता बाँसबारीस्थित नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन शो सम्पन्न भएको छ । उक्त फेशन शो भने भिन्न स्वरुपमा प्रदर्शनी गरिएको थियो ।
कलेजकै प्राङ्गणलाई फेसन शो मंचन गर्ने आधार बनाइएको थियो । ग्राटिच्युड एण्ड होप शीर्षक अन्तर्गत प्रस्तुत गरिएको फेसन शोमा जापानी डिजाइनर आया डोमोन, नमूना कलेजका ग्राजुएट डिजाइनर राजेन्द्र राई, सारिका राई र सानुमाया र डिजाइनर नुजत काजीका सृजनाहरु प्रस्तुत गरिएका थिए ।
जापानी डिजाइनर आया डोमोनको प्रस्तुतिमा युनिकलर्ड वन् पिस स्कर्ट, टप्स, ज्याकेट, ट्राउजर आदिको कलेक्सन थियो जसलाई लेयरिङ शैलीमा आकर्षक ढंगमा प्रस्तुत गरिएको थियो ।
नमूना कलेजकै विद्यार्थी डिजाइनरहरुले मोडलको भूमिका निर्वाह गरेको उक्त शोमा मोडलहरुले विरालो चालमा हिंड्नुका अतिरिक्त, विभिन्न कलात्मक हाउभाव, नृत्यका शैली आदिबाट फेसन शोमा फरक स्वाद पस्केका थिए ।