साप्ताहिक संवाददाता
२०७४ सालको वैशाखदेखि माघको तेस्रो सातासम्म प्रदर्शन भएका चलचित्रको संख्या ६० भन्दा बढी छ । यी दस महिनामा प्रदर्शन भएका चलचित्रमध्ये निकै थोरैले मात्र व्यवसायिक सफलता हासिल गरेका छन् । दीपकराज गिरीको छक्का पञ्जा–२, असिम शाहको दुई रुपैयाँ तथा झरना थापाको ए मेरो हजुर–२ बाहेक अन्य चलचित्रलाई आफ्नो लगानी सुरक्षित गर्न नै धौ–धौ पर्यो । यी तीन चलचित्रले भने लगानी मात्र सुरक्षित गरेनन्, उत्कृष्ट व्यवसाय नै गरे । यो अवधिमा कुनै साता दुई–तीनवटा चलचित्रसमेत प्रदर्शन भए भने कुनै साता एउटा पनि चलचित्र प्रदर्शन भएनन् । समग्रमा यो वर्षको अघिल्लो १० महिनामा प्रदर्शन भएका अधिकांश चलचित्र औषत भन्दा तलै रहे । अब यो वर्ष पूरा हुन दुई महिना मात्र बाँकी छ । यी दुई महिनामा झन्डै १२ वटा चलचित्र प्रदर्शन हुँदैछन् । यीनै १२ मध्ये केही चलचित्र यो वर्षकै सर्वाधिक सफल चलचित्र बन्ने सम्भावना छ ।
कृ
आगामी शुक्रबार अर्थात् माघ २६ गते प्रदर्शनमा आउने चलचित्र कृलाई बहुप्रतीक्षित चलचित्रका रूपमा लिइएको छ । अनमोल केसीको दुई भिन्न चरित्र चित्रण गरिएको यो चलचित्र छायांकनको पहिलो दिनदेखि नै चर्चामा छ । भुवन केसी तथा सुवास गिरीद्वारा निर्मित ठूलो बजेटको यो चलचित्र वर्षकै सर्वाधिक सफल चलचित्र हुने अपेक्षा गरिएको छ । सुरेन्द्र पौडेलद्वारा निर्देशित चलचित्र कृमा अनमोललाई अदिति बुढाथोकीले साथ दिएकी छिन् । त्यसो त नकारात्मक भूमिकामा प्रस्तुत भएका अभिनेता अनुप विक्रम शाहीले पनि चलचित्रमा उत्तिकै सशक्त भूमिका निर्वाह गरेका छन् । चलचित्रको एउटा गीत तथा ट्रेलर यूट्युब ट्रेन्डिङको नम्बर एक स्थानमा लामो समयसम्म टिक्नुलाई पनि चलचित्रको सफलतासंग जोडिएको छ ।
कान्छी
पहिले माघ २६ गतेलाई नै प्रदर्शन मिति तोकिएको चलचित्र हो— कान्छी । श्वेता खड्काले अभिनय तथा निर्माणमा पुनरागमन गरेको यो चलचित्र फागुन ४ गतेदेखि प्रदर्शनमा आउनेछ । आकाश अधिकारीद्वारा निर्देशित यो चलचित्रमा श्वेता आफैं शीर्षक भूमिका अर्थात कान्छिको भूमिकामा प्रस्तुत भएकी छिन् । मुस्ताङका रमणीय लोकेशनमा छायांकन गरिएको यो चलचित्रमा श्वेतालाई अभिनेता दयाहाङ राईले साथ दिएका छन् । श्वेता र दया पहिलो पटक यही चलचित्रका लागि अनस्क्रिन रोमान्स गर्दैछन् । चलचित्रको ट्रेलर तथा दुईवटा गीत दर्शक तथा स्रोताले मन पराइसकेका छन् ।
पञ्चैबाजा तथा साढे सात
फागुन ११ गते एक साथ दुई नेपाली चलचित्र प्रदर्शन हुँदैछन् । दुई भिन्न धारका चलचित्र पञ्चैबाजा तथा साढे सात संयोगवश एकै दिन प्रदर्शन हुन लागेका हुन् । सौगात मल्ल, कर्मा तथा जस्मिन श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेको चलचित्र पञ्चैबाजामा ग्रामीण परिवेश समेटिएको छ । राजेश शाहीको यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । चलचित्र पन्चैबाजामा एउटा गाउँका तीन जना युवाको कथा बुनिएको छ । चलचित्र पञ्चैबाजामा सौगात मल्ल यसअघि कहिल्ले नदेखिएको भूमिकामा प्रस्तुत भएको दाबी गरिएको छ ।
दुई वर्षअघि भारतले नेपालमाथि गरेको नाकाबन्दीका विषयमा निर्माण गरिएको चलचित्र साढे ७ लाई सत्य घटनामा आधारित चलचित्र भन्दा फरक पर्दैन । गायक सत्यराज आचार्यले अभिनय गरेको यो चलचित्रमा मेनुका प्रधान, सुप्रिया कटवाल, कामेश्वर चौरसिया, शिशिर बाङ्देल आदि कलाकारले अभिनय गरेका छन् । साम्देन भुटियाद्वारा निर्देशित यो चलचित्रको अधिकांश छायांकन तराईमा गरिएको छ । यो चलचित्रमा सत्यराजले फोटो पत्रकारको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा राजनीतिक आन्दोलनको रिर्पोटिङका लागि तराई पुगेका एक फोटो पत्रकारले भोग्नुपरेको भौतिक तथा मनोवैज्ञानिक द्वन्द्व चित्रण गरिएको छ ।
ब्लाइन्ड रक्स
फागुन १८ गते प्रदर्शनमा आउने मिलन चाम्सद्वारा निर्देशित चलचित्र ब्लाइन्ड रक्सलाई बायोपिक भनिएको छ । एउटा दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवनमा आधारित चलचित्र हो— ब्लाइन्ड रक्स । यो चलचित्रमा अभिनेत्री बेनिशा हमालले सृष्टि केसीको भूमिका निर्वाह गरेकी छिन् । हमालले उक्त भूमिकामा जिवन्त अभिनय गरेको बताइन्छ । निकेश लिम्बुको यो चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, वसन्त भट्ट आदि कलाकारले समेत अभिनय गरेका छन् । चलचित्र ब्लाइन्ड रक्सले बेलायतसहित विभिन्न देशका नेपाली दर्शकको मन जितिसकेको छ ।
मंगलम तथा हुर्रे
फागुन २५ गते पनि दुई चलचित्र जुध्दैछन् । छवि ओझाको मंगलम तथा याम थापाको चलचित्र हुर्रेले एकै दिन प्रदर्शन हुने साइत जुराएका छन् । निर्माता ओझाको ‘मंगलम’ यसअघि दसैंमै प्रदर्शन हुने भनिएको थियो । छक्कापञ्जा–२ सँग जुध्नुपर्ने भएपछि पहिलो पटक प्रदर्शन मिति परिवर्तन गरिएको उक्त चलचित्र कृका कारण पुन: अर्को पटक पछि सर्दै फागुन २५ गते पुगेको हो ।
पर्ख पर्ख मायालु गीत लोकप्रिय भैसकेको चलचित्र मंगलमको दोस्रो गीत बम्पर उपहारलाई पनि दर्शकले मन पराएका छन् । यो चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाईं आदि कलाकारले अभिनय गरेका छन् । मंगलमका निर्देशक नवल नेपाल हुन् । यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाहले विशेष भूमिका निर्वाह गरेको बताइन्छ ।
फागुन २५ गतेदेखि नै प्रदर्शनमा आउने चलचित्र हुर्रेमा भने पशुपति क्षेत्रको कथा समेटिएको छ । हास्यप्रधान यो चलचित्रमा अनुपविक्रम शाही, केकी अधिकारी, संगीता नापित आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्र हुर्रेमा केकीले पशुपतिमा फूल बेच्ने युवतीको भूमिका निर्वाह गरेकी छिन् भने अनुपविक्रमले पशुपतिनाथको मन्दिरमा पूजापाठ गर्ने पण्डितको भूमिका निर्वाह गरेका छन् ।
रोमियो एन्ड मुना
प्रदर्शन मिति परिवर्तन गर्दै चैत २ का लागि निर्धारित भएको चलचित्र हो— रोमियो एन्ड मुना । बिनय श्रेष्ठ तथा सृष्टि श्रेष्ठको मुख्य भूमिकाको यो चलचित्रलाई नरेश कुमार केसीले निर्देशन गरेका छन् । रोमान्टिक कथा समेटिएको यो चलचित्रमा विनय तथा सृष्टिले शीर्षक भूमिका निर्वाह गरेको बताइन्छ ।
शत्रुगते
चैत ९ गते प्रदर्शनमा आउने मह सञ्चारको चलचित्र ‘शत्रुगते’ लाई पनि यो वर्षको बहुप्रतीक्षित चलचित्रको सूचीमा राखिएको छ । लामो समयपछि मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई चलचित्रमा पुनरागमन गराउने यो चलचित्रको ‘रुपै मोहनी’ गीत यसअघि नै लोकप्रिय भैसकेको छ । प्रदीप भट्टराईद्वारा निर्देशित यो चलचित्रमा मह जोडीका अतिरिक्त दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा आदिले समेत अभिनय गरेका छन् । चलचित्रमा हरिवंश, दीपकराज तथा पलका रूपमा तीन पुस्ताको कथा चित्रण गरिएको छ ।
ह्याप्पी डेज
मिलन चाम्सद्वारा निर्देशित चलचित्र हो— ह्याप्पी डेज । यो चलचित्र चैत १६ गते प्रदर्शनमा आउने निश्चित भएको छ । दयाहाङ राई, प्रियंका कार्की तथा सञ्जय गुप्ताद्वारा अभिनीत यो चलचित्रको छायांकन बेलायतमा गरिएको हो । आकर्षक लोकेसन हेर्न पाइने चलचित्र ह्याप्पी डेजका केही गीत लोकप्रिय भैसकेका छन् ।
तिमीसँग
चैत २३ गते प्रदर्शनमा आउने चलचित्र तिमीसँगलाई शिशिर राणाले निर्देशन गरेका हुन् । प्रेमकथामा आधारित यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ तथा नाजिर हुसेन मुख्य भूमिकामा छन् । त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्रमा नेपालका हिमाली दृष्यहरूको रोमाञ्चकता अनुभव गर्न पाइनेछ ।
नेप्टे
वर्षको अन्तिम दिन अर्थात चैत ३० गते प्रदर्शन हुने चलचित्र नेप्टे हास्य प्रधान चलचित्र हो । नेप्टेमा दयाहाङ राई, बुद्धि तामाङ, रोहित रुम्बा, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, अरुणा कार्की आदि कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । चलचित्र नेप्टेको निर्देशन देवकुमार श्रेष्ठले गरेका हुन् ।
लिलिबिली
अन्तत: निर्देशक मिलन चाम्सले आफ्नो पछिल्लो चलचित्र ‘लिलिबिली’ लाई यही वर्ष प्रदर्शन गर्ने निर्णय गरेका छन् । यसअघि वैशाखमा प्रदर्शन हुने भनिएको यो चलचित्र अब चैत ३० गते नै प्रदर्शनमा आउने भएको छ । बेलायतमा छायांकन गरिएको यो चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ तथा प्रियंका कार्की मुख्य भूमिकामा छन् ।