साप्ताहिक संवाददाता
अभिनेता निखिल उप्रेती एक्सन प्रधान नेपाली चलचित्रको सशक्त अंग रहँदै आएका छन् । डरलाग्दा स्टन्टमा उनी आकर्षक मात्र देखिँदैनन्, उत्तिकै आत्मविश्वासीसमेत मानिन्छन् । निखिलले अभिनय गरेका दर्जनौं चलचित्रमा दर्शकले उनका द्वन्द्वमा ताली पिटेका छन् । यसबीच उनी पहिलो पटक एउटा यस्तो चलचित्रमा प्रस्तुत भएका छन्, जसमा एक्सन त छँदैछ, सँगसँगै रोमान्ससमेत छ ।
चलचित्र पिँजडा ब्याक अगेन तथा रुद्रमा निलिखको जोडीका रूपमा प्रस्तुत भएकी अभिनेत्री हुन्–सारा शिर्पाली । सुन्दर मुहारकी धनी सारासँग निखिलको जोडीसमेत मिलेको छ । साप्ताहिकका लागि निखिलले अभिनेत्री साराका राम्रा तथा सुधार्नुपर्ने केही कुरा यसरी व्यक्त गरेका छन् :
राम्रो पक्ष
मेहनती : उनी असाध्यै मेहनती कलाकार हुन् । सानो दृश्यका लागि समेत उनले प्रशस्त मेहनत गरेको पाइन्छ ।
काम : उनको काम भनेको अभिनय हो । उनी आफ्नो कामलाई पूजा गर्छिन् । आफूलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्छिन् ।
चुनौती मोल्ने : कठिन काममा समेत चुनौती मोलेर अघि बढ्ने उनको स्वभावबाट म प्रभावित छु ।
सुमधुर बोली : उनी प्राय: साइलेन्ट रहन रुचाउँछिन् । आवश्यक परेको बेला मात्र बोल्छिन्, त्यो पनि सुमधुर शैलीमा ।
सम्मानको भावना : आफूभन्दा अग्रजलाई कसरी आदर–सम्मान गर्नुपर्छ भन्ने कुरा उनले राम्रैसँग बुझेकी छिन् ।
सुधार्नुपर्ने पक्ष
कुरा गर्ने शैली : सफ्ट शैलीमा कुराकानी गर्नु उनको राम्रो पक्ष हुँदाहुँदै आवश्यक परेका बेलासमेत चुप लागेर बस्ने बानी भने सुधार्नुपर्छ ।
घुलमिल हुने कला : उनी प्राय: एकान्त मन पराउँछिन् जस्तो देखिन्छ । साथीभाइहरूसँग हँसिमजाक गर्दा आफ्नै दायरा फराकिलो हुन्छ ।
नृत्यको अभ्यास : उनको नृत्य खराब छ भन्न खोजेको होइन, तर थप अभ्यास गर्ने हो भने त्यसमा अझ निखार आउनेछ ।
मात्र काम : उनी काममा मात्र फोकस रहन्छिन् । सधैं काम–काम मात्र भनेर बस्यो भने साथीभाइहरूसँग घुलमिल हुन गाह्रो पर्छ ।